

♦लक्ष्मी रिजाल
जलेश्वर निवासी शमीमुद्दीन अन्सारी मैले जीवनमा बिर्सिनै नसक्ने,बिर्सिनै नहुने नाम हो । मैले हृदयबाट सम्मान गर्ने थोरै पात्रहरूमध्ये शमीमुद्दीन पनि अग्र पंक्तिमा पर्नुहुन्छ । प्रत्यक्ष रुपमा २०५२ बैशाखदेखि २०६१ सम्म र भावनात्मक रुपमा जीवन पर्यन्त मसँग जोडिने शमीमुद्दीन अन्सारीले मेरा लागि दिनुभएको योगदान अतुलनीय छ तसर्थ म पुन : उहाँलाई सलाम आलेकुम बाट अभिवादन गर्दछु ।
२०५२ बैशाख पन्ध्रतिर जनकपुरमा उखरमाउलो गर्मी सुरु भएको थियो । रानीपाटी नजिक डा. केपी सिंहको घर नजिक पोख्रेलबा का घरमा हामी डेरा बसेका थियौँ । म र मित्र खड्ग सापकोटा ( भारपा- पाँचथर ) सहपाठी र सहबासी थियौँ । सिन्धुलीका भूपाल मगर , मधु केसी र एक जना शिष्ट स्वभावका तामाङ भाइ अर्को कोठामा बस्थे ।
सडक किनारको सिमलको फूल खान आएको कोइलीको सुमधुर कलरवसँगै अस्ताउन लागेका सूर्यका दुब्ला किरणहरूले नजिकैको गहुँका बालालाई सुम्सुम्याइरहेका थिए । रानीपटीको वैष्णव मन्दिरमा श्रितकमला मुखमण्डल भन्ने स्तुति पाठ भइरहेको थियो । वातावरण निकै रोमाञ्चक थियो । म कोठा बाहिर बेन्चमा बसेर जनमञ्च साप्ताहिक पढ्दै थिएँ ।
मेरा अनन्य मित्र विदुर पौडेल टुप्लुक्क डेरामा आउनुभयो । छोटो भलाकुसारीपछि उहाँले एउटा कागजको चिर्कटो दिनुभयो । स्तरीय कापीको एक चौथाइ पन्नाको त्यो चिर्कटोमा लेखिएका चार वाक्यभित्रका उन्नाइस अक्षर नै मेरो २२ वर्षदेखि बाँचुन्जेलसम्मको सिङ्गो जिन्दगीका शिलान्यास रहेछन् भन्ने कुरा अहिले बुझ्दै छु । ती अक्षरका लेखक हुनुहुन्थ्यो – मेरा अग्रज मित्र ईश्वरीजी र विदुर पौडेलका मामा भावेन्द्र कोइराला । शमीमुद्दीन अन्सारी , म र मेरो जीवनका आधारलाई जोड्ने ती अक्षर अहिले मेरो मानसपटलमा मात्र सुरक्षित छन् ।
मा.वि . महोत्तरीका शिक्षक भावेन्द्र मामाले लेख्नुभएको थियो –
शमीमजी नमस्कार ! पत्रवाहक मेरा भानिजका साथी लक्ष्मी रिजाल हुनुहुन्छ । उहाँले कक्षा दससम्म नेपाली पढाउन सक्नुहुन्छ । ढुक्क भएर नियुक्ति दिनु होला
भवदीय – भावेन्द्र ।
मान्छेको जिन्दगीमा को कसरी जोडिन्छ भन्नै सकिन्न ।त्यो मितिसम्म म मामालाई चिन्दिनथेँ । ईश्वरीजी र विदुरजीसँग चाहिँ परिचित र निकट साथी थिएँ । ईश्वरीजी अहिले नेपालको सबैभन्दा जेठो विद्यालय मटिहानी संस्कृत मा.वि.का प्रधानाध्यापकका रुपमा अतुलनीय योगदान गर्दै हुनुहुन्छ । विदुरजी भक्तपुरमा बसेर ललितपुरमा अध्यापन गर्नुहुन्थ्यो अहिले सम्पर्क छैन । म २१ वर्ष उहाँहरूले खोजिदिएको स्थानमा शिक्षण गरेर करिब नौ वर्षदेखि झापामा छु।
अहिलेभन्दा निकै उदार र उपकारी समय हो कि मेरो जीवनका लागि अनुपम योगदान गर्ने मामा भान्जालाई मैले हृदयबाट सम्मान सिवाय केही दिइन ,उहाँहरूले अपेक्षा गर्नुभएन वा मेरो ढङ्ग पुगेन । उहाँहरुलाई एक कप चिया खाउँ पनि भनिन जस्तो लाग्छ । मेरो शिक्षण सेवासँगै जीवनधाराको सूत्रधार भावेन्द्र मामा तथा पौडेल दाजुभाइ पनि मैले हृदयबाट मेट्नेै नसक्ने पात्र हुनुहुन्छ ।
भोलिपल्ट बिहान विदुरजीले दिएको चिर्कटो बोकेर मधु भाइको थोत्रे चुइँचुइँ गर्ने साइकल मागेर डेराबाट निस्केँ । अलिकति पूर्व केही उत्तर भोलासिंह बोर्डिङ हाल राजर्षि जनक विश्वविद्यालय क्याम्पसको मूल द्वार अगाडिको चिया पसलमा बगडा नजिकको अनारबन गाउँका सुखचन्द्र बच्छारसँग भेट भयो। उनी भोलासिंह बोर्डिङका शिक्षक र मेरा अग्रज मित्र थिए । म पनि केही दिनदेखि भोलासिंहमा पढाउँथेँ । हामी दुई जनाले मीठो गफ गर्दै गुलियो चिया खायौँ । म जागिर खोज्न बगडा हिँडेको कुरा सुनाएँ । लाभहानिको कुरा भयो।उनले दरबन्दी पाए भोलासिंह छोड्ने सल्लाह दिए । मैले स्कुल जाने बाटो सोधेँ । उनले आधा घन्टाभित्रेै पुगिने बताए ।
चियापानपछि म पश्चिम दिशातिर लागेँ । केही परको पोखरी , रेलको लिक , सानो आँप बगैँचा , दुधमती नदी , कुर्था , महदैया गाउँपछि बिगही खोला आयो । बाटो धुलैधुलो थियो । साइकल पुरातत्व विभागमा राख्न योग्य थियो । तसर्थ भरपुर बल सहित धुलौटे बाटोमा कुदाएँ । एकदुई ठाउँमा लड्दै उठ्दै गरेँ । लडेपनि कसैले नचिन्ने हुुँदा नि:सङ्कोच उठ्दै गुडेँ ।कतैकतै साइकल फँस्यो । उत्रेर गुडाउँदै बिगही किनार पुगेँ । त्यहाँ अमर कन्ट्रक्सनले पुल र नहर निर्माण कार्य गर्दै थियो । खोलामा घुँडासम्म पानी थियो । अहिलेको लोहारपट्टी सडकभन्दा अलिक उत्तरबाट बिगही तर्ने बाटो थियो ।
एक छिन खोलाकिनारमा साइकल रोकेँ उत्तरी क्षितिजमा चुरेका चचुरा देखिए । बिगही किनारमा रहेको मधेपुरा धारको आँप र लिचीका गाछीमा ससाना टिकुला लागेका थिए । चराहरूको चिरबिराहट थियो । खोलाको तटमा वासन्तिक हरियाली थियो ।त्यहाँको सुवास र सौन्दर्य निकै सम्मोहक थियो। साइकल र टायरगाडा परपर लोहारपट्टी, अनारबन र रौजादेखि हिँडेर जनकपुरतर्फ जाँदै थिए।
कोहीकोही अलिकमाथि बगर ,खेततिर तत्व चिन्तन सकेर खोलामा प्रक्षालनछि आनन्द विभोर भएर गाउँतर्फ लाग्दै थिए । जनानाहरू खुर्पीले भुइँघाँस खुर्किएर बोरा र ढकीमा हाल्दै थिए । पहिरन र कार्यशैली फरक भएपनि सबै नेपालीहरू थिए । मधेसको पूर्ण देहाती परिवेशको पृथक् सौन्दर्य अनुभूत गर्दै गन्तव्यतर्फ बढेँ ।खोलाकिनारका सिसौको वासन्तिक मादकताले प्रकृति उल्लासमय थियो । केही अगाडि सानो पोखरी , जामुन अमला र लिचिको बगैँचापछि मधेपुरा गाउँ आयो । गाउँलाई बिचबाट चिरेर पश्चिम उत्तर लागेको बाटोमा साइकल गुडाइरहेँ । मनमा जागिर पाइएला , नपाइला भन्ने विचारको भुमरी र साइकल समान गतिममा गुड्दै थिए । मधेपुरा गाउँ सकियो ।
त्यसपछि पोखरीको डिलमा गुजुमुज्ज परेको डोमबस्ती पुगेँ । त्यहाँका केटाकेटी नाङ्गै, कत्लैकत्ला भएको मैलो शरीर लिएर निस्तो बासी भातका डल्ला टोक्दै रमाउँदै थिए । तिनका अभिभावक चोयाबाट घरायसी सामग्री पङखा,नाङ्लो र ढकी बुन्दै थिए । नजिकै सुङ्गुरको खोरबाट दुर्गन्धको हरक आइरहेको थियो । जीवनको महत्व र सुविधाका आयाम नबुझ्दाको आनन्द कस्तो हुन्छ भन्ने कुरा तिनका मुहार पढेर बुझ्न सकिन्थ्यो ।
डोमबस्ती सकियो ठूलो पोखरीको डिलमा पञ्चायत नामक अपुरो भवन थियो । नजिकैको स्कुल नै मेरो गन्तव्य हो भन्ने साइनबोर्डबाट अवगत भयो ।
गर्मीको समय बिहानी सत्रमा स्कुल लागेको थियो म पुग्दा ६.३० को पहिलो घन्टी लाग्यो । प्राय शिक्षकहरू नियमित कार्यतर्फ लागे । एकदुई जना शिक्षक हस्याङफस्याङ गर्दै भित्र पसेर हाँजिर बनाए मतर्फ उत्सुक नजरले नियाल्दै आफ्नो काममा लागे ।
शमीमुद्दीन अन्सारी त्यही स्कुलका प्रधानाध्यापक हुनुहुन्थ्यो । मैले अभिवादन गरेर चिर्कटो दिएँ । उहाँले चस्मामाथिबाट मलाई हेर्नुभयो । लिखुरे , ख्याउटो पहाडी बाहुनलाई देखेर उहाँले के विचार्नुभयो मैले थाहा पाइन । १९ अक्षरको पत्र हेरेर उहाँले भन्नुभयो । यो चर्चित पहलमानहरूको गाउँ हो। तपाईँभन्दा ठुला र बलिया विद्यार्थीलाई कसरी नियन्त्रण गर्नुहुन्छ ?
मैले भोलासिंह लायन्स बोर्डिङमा दुई महिनादेखि कक्षा ९ सम्म पढाउँदै छु भनेँ । त्यो बेला जनकपुरको सबैभन्दा स्तरीय निजी स्कुलमा भोलासिंह थियो । त्यहाँ पढाउँछु भनेपछि उहाँ आशावादी हुनुभयो ।
दोस्रो घन्टी लाग्यो । उहाँले नेपाली पढाइरहेका गान्धी सर र अङ्ग्रेजी शिक्षक भोला यादवसँगै मलाई कक्षा १० मा लानुभयो । सामान्य परिचय पश्चात् विद्यार्थीहरूले लेखनाथ पौड्याल रचित गौँथली बोल्यो चिरिबिरी च्यार्र कविता पढ्छौँ भने । मैले कालोपाटीमा आवश्यक टिपोट गरी लेखनाथ पौड्यालका कवितामा आध्यात्म दर्शनका बारेमा १० मिनेटजति धारा प्रवाह प्रवचन दिएँ ।विद्यार्थीको स्तर , भाषिक सामर्थ्य आदि केही पनि विचारै नगरी पण्डित्याइँ छाँटेँ । विद्यार्थीले बुझे वा बुझेनन् चुपचाप भए। अनि चार श्लोकको सन्दर्भ व्याख्या सकेपछि घण्टी बज्यो । भोला सरले विद्यार्थीको क्षमता र दोस्रो भाषिक परिवेश अनुरुप विद्यार्थीको स्तर विचार गरेर पढाउनुपर्ने सुझाव दिनुभयो र हेड सरलाई नियुक्ति दिनु उचित हुन्छ भन्ने राय दिनुभयो ।त्यहाँ कसैले लोभ लालच राजनीतिक मुलाहिजा र खुराफाती गरेन । त्यसपछि कक्षा नौमा गएँ । विद्यार्थीले काल पक्ष पढ्छौँ भने । त्यहाँ पनि भोलाजीले अवलोकन गर्नुभयो । कक्षा राम्रो भयो भन्नुभयो ।
हेड सरले मेरो अध्यापनको मूल्याङ्कनपछि केही बेर अनौपचारिक कुरा गर्नुभयो र भोलिदेखि नै पढाउन आउनू एकदुई दिनमा नियुक्ति हुन्छ भन्नुभयो । तत्काल प्राथमिक तहको रिक्त दरबन्दीमा नियुक्ति दिने र साउनदेखि थप दुई सय भत्ता विद्यालय स्रोतबाट थपिदिने, विद्यालय आवास कक्षमा बसेर मेसमा वा नजिकैका केटाकेटीलई पढाए निशुल्क भोजन खाजाको प्रबन्ध हुने कुरा बताउनुभयो । पहिलो दिन नै यति सजिलो गरी जागिर पाएपनि म त्यति खुसी भइन । मेरो डेराको सामान भोलिपल्ट एक जना अभिभावक को टायर गाडामा ढुवानीको प्रबन्ध भयो । यसरी अनौपचारिक रुपमा २०५१ बैशाख १५ देखि म श्री जनता मा.वि . बगडामा शिक्षक भएँ । शिक्षणभन्दा अर्को क्षेत्रमा रुचि थिएन तथापि म त्यति खुसी थिइन । बढीमा एक वर्ष पढाउने र खर्च प्रबन्ध गरेर एम. ए . पढ्न जाने सोचमा थिएँ । भाग्यले मलाई त्यहाँ एकाइस वर्ष अड्यायो । त्यहाँबाट प्राप्त आत्मीयता , श्रद्धा र निरपेक्ष प्रेमलाई म कदापि बिर्सिन्न । त्यहाँको माटोमा कट्ठाको पँच मनसम्म धान फल्थ्यो , अहिले पनि फल्छ । । त्यो माटोभन्दा ऊर्वर मान्छेको मन अविस्मरणीय छ। अहिले पनि त्यस क्षेत्रका अग्रज , अनुज र विद्यार्थीहरू मलाई उस्तै कदर आदर गर्छन् । मेरो सबैभन्दा ठूलो सामाजिक प्राज्ञिक पुँजी जनकपुर र बगडामा नै छ भन्ने कुरा म निर्धक्क भन्न सक्छु । अहिलेसममको ५१ वर्षे जीवनमध्ये धेरै वर्ष बिताएको ठाउँ पनि त्यही हो। अन्य कुनै एउटा स्थानमा मैले २१ वर्ष बिताएको छैन । पाँचथरमा आठ वर्ष , सिस्ने झापामा चार वर्ष , जयपुर झापामा सात वर्ष , पुन : सिस्ने शनिश्चरे नौ वर्ष सिक्किम र वनारस छ छ महिना र धरानमा चार वर्ष बिताएको मेरो इतिहास छ तसर्थ त्यहाँ परिचय र प्रभावको आयाम सघन हुनु स्वाभाविक हो । २१-४२ वर्षको सिङ्गो उर्वर उमेर पनि त्यहीँ व्यय भयो नि । लेनादेना दुई दृष्टिकोणले म र यो क्षेत्र समान ऋणी छौँ। ।
यस क्षेत्रमा मलाई अड्याउन धेरै मान्य जन र परिस्थिति कारण होलान् तथापि यसको सबैभन्दा ठूलो श्रेय हेड सर शमीमुद्दीन अन्सारीलाई दिन्छु । २०५२ बैशाख १५ गतेदेखि मलाई पढाउन लगाएपछि उहाँ १७,१८ गतेदेखि नै नियुक्तिका लागि जिशिका धाउनुभयो । जिशिअ धरान निवासी दुर्गा श्रेष्ठ थिए । फाँटमा स्थानीय एक जना मण्डल र एक जना पहाडी मूलका गोरा युवा कर्मचारी थिए । विनि झापाली देवी सुबेदी पनि हुनुहुन्थ्यो । जिशिअले आलेटाले गर्दै नियुक्ति दिन झुलाएपछि हेड सरले झापाको नाता जोड्दै देवी सरसँग सम्पर्क गर्न लगाउनुभयो । म क्वार्टरमा गएर कुरा गरेँ । तथापि नियुक्ति भएन । मलाई एक जना बिचौलियाले एकदुई महिनाको तलब बराबर ढौवा दिनू काम तमाम भने । मैले प्राविको जागिरका लागि पाँच पैसा पनि तिर्दिन भनेँ । अलिक काँचै र कोरा सैद्धान्तिक हुँदा अहं पनि थियो । अनि हेड सरलाई म अब पढाउँदिन घर जान्छु र खर्च लिएर काठमाडौं जान्छु भन्दै मामाको क्वार्टर मटिहानीतिर लागेँ ।
यो शुक्र बार वा कुनै बिदाको अघिलेलो दिन थियो । हेड सरलाई तनाव भएछ । उहाँले मेरा साथी ईश्वरी पौडेललाई फोन गरेर एक दिन पर्खिन र नियुक्ति लिएर घर जाने गरी मलाई रोक्नुभयो । भोलिपल्ट जलेश्वर गएँ उहाँले जिशिअसँग कुरा भएको छ , भोलि नभए सपर्सिम्ममा नियुक्ति दिलाउँछु भन्नु भयो । एक महिनाको तलब घुस दिऊँ भन्नुभयो । मैले एकदुई महिनाको घुस ख्वाउने हो भने मावि नियुक्ति गराउनुहोस् भनेँ। दरबन्दी र नियुक्तिको कुरा मलाई थाहा थिएन । उहाँ अलिक रिसाउनुभयो । २०५१ बैशाख २६ गतेका दिन हो । कार्यालय जाने गरी दस बजे बोलाउनुभयो । हामी ठिक एघार बजे कार्यालय पुग्यौँ । जिशिअले तीन बजे बोलाए । तीन बजे पुग्दा पनि नियुक्ति दिने छाँटकाँट नदेखेपछि हेड सर जङ्गिँदै फाँटमा जानुभयो। उहाँले फाँटवालालाई नियुक्ति ड्राफ गर्न भन्नुभयो । उनले अधिकारीजीको अनुमति चाहिन्छ भने । फेरि हेड सरले तपाईं चिठी तयार गर्नुहोस् म सही गराउँछु भन्नुभयो फाँटवाला मानेनन् । कुछ तो मिलाइए भने । अनि हेड सरले लु चाबी लिनोस् कि नेपाली विषय पढाउने योग्य शिक्षक दिनोस् कि अधिकारीलाई बगडा स्कुल चलाउन पठाइदिनुहोस् नत्र ठिक हुँदैन भन्दै स्कुलको चाबी फालेर हिँड्नुभयो । उहाँ स्थानीय इस्लाम समाजको अगुवा र हक्की स्वभावको हुनुभएकाले फाँटका कर्मचारी मार्फत् जिशिअलाई धम्क्याएर चाबी छोडेर हिँड्नुभयो । म शत प्रतिशत काम हुँदैन भन्दै मटिहानी हिँडे ।
त्यसको भोलिपल्ट राम मावि मटिहानीका हेड सर अमीरीलाल मण्डल मार्फत् मलाई जिशिअले भेट गर्न खबर पठाए । म २०५२बैशाख २७ गते ११ बजेतिर कार्यालय पुगेँ । हेड सरले फालेको चाबीको झुत्तो फाँटको टेबुलमा ङिच्च गर्दै थियो ।
जिशिअले केही अनौपचारिक कुरा गरे । अनि हेड सरले घुर्की लगाएको , घुर्कीले प्रशासन चल्दैन यसरी घुर्की नलाउन भन्दिनु भन्दै बधाईसहित नियुक्तिपत्र र चाबी दिए । त्यसको ठिक एक वर्षपछि २०५३ बैशाख २३ गते मावि शिक्षकको नियुक्ति पत्र समेत खुरापाती घुस्याहाहरुको जालो तोड्दै एउटै पत्रमा दुई जनाको नियुक्ति समर्थन यसैगरी साहसका साथ गराउनु भएको थियो । तसर्थ मेरो वर्तमान जागिर, पारिवारिक भरणपोषण ,जनकपुरको लामो बसाई र सामाजिक पुँजीका लागि अतुलनीय योगदान गर्ने शमीमुद्दीन अन्सारीलाई नतमस्तक भएर सम्मान गर्दछु ।
सधैँ मनले सम्झिरहेका मेरा पहिलो हेड सर शमीमुद्दीन अन्सारीलाई बेलामौकामा टेलिफोन गरेपनि २०७१ पछि भेट भएको थिएन १२ वर्षपछि २०८१ आश्विन २३ गते उहाँको निवास जलेश्वरर पुगेर सम्मानपूर्वक भेट गरेँ । निकै चन्चल स्वभावका ७६ वर्षीय शमीमुद्दीन अन्सारी रोग लागेर हिँडडुल गर्न सक्नुहुन्न रहेछ । उहाँसँगका कुराहरू पुनर्ताजगी गर्दै स्वास्थ्य लाभको कामना गरेर फर्किएँ । मलाई निस्वार्थ दुई वटा नियुक्ति दिलाई स्थायी जागिरको बिरुवा रोपिदिने शमीम सरलाई बाबा जलेश्वरनाथ र अल्लाहले कृपा गरून् ।
