Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

जनकपुरधाममा झुलनोत्सव





सुजीतकुमार झा
जनकपुरधाममा झुल्नोत्सवको रौनकता अहिले छाएको छ । साउन शुक्ल तृतिया तिथिबाट शुरु भएको झुलनोत्सव पूर्णिमासम्म प्रत्येक राति हुने गर्छन । झुल्नोत्सवमा भगवान् सीतारामलाई झुलामा झुलाईने परम्परा रहेको छ । यसका लागि जनकपुरधामस्थित प्रसिद्ध जानकी मन्दिरमा विशेष प्रकारको सिंहासन निर्माण गरी सजाईएको गद्दीमा देवीदेवताको प्रतिमा राखी झुलाउने परम्परा रहेको जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवले बताए । यस्तै झुलाउने कार्य अन्य मन्दिरमा पनि हुने गरेको छ । यस उत्सवमा जनकपुरधामका मन्दिरहरुबीच उत्सवको प्रतिस्पर्धा नै देख्न सकिन्छ ।
एकातर्फ भगवान् राम जानकीलाई झुलामा राखी झुलाइने गरिन्छ भने अर्कोतर्फ नाटक, नाँचगान, भजन किर्तन र लोक कथाहरु सुनाईने गरिन्छ ।
झुला र नाच हेर्नका लागि मन्दिरमा साँझ पर्ने बित्तिक भीड़ लाग्ने गर्छन । जानकी मन्दिरमा हरेक साँझ मिथिलाको लोक गीत झुला र कजरी गाईन्छ ।

मणिपर्वतको सन्दर्भ
त्रेतायुगमा भगवान राम जानकीको शुभ विवाहको बेला मिथिलाका राजा शिरध्वज जनक दाइजोमा दिएको सामान लिएर हजारो भरियाहरु अयोध्यासम्म पुगेका थिए । जानकी जस्तो बुहारी सामुने यो सामानहरुको कुनै महत्व नरहेको भनी अयोध्या नरेश दशरथ ती सामानहरु नगर बाहिर राख्न लगाए । भनिन्छ यती सामान थियो कि त्यो पर्वतकै आकार लियो । जब यो कुृराको सुइको भगवान रामले पाए तब उनी ससुरा जनकजी के सोच्लान भनेर लज्जित महशुश गरे । त्यसपछि चारै भाई पत्नीसंग त्यो स्थानमा उत्सव नै मनाए । सोही स्मरणमा झुला मनाइने गरिएको धार्मिक जानकारहरु बताउँछन् । जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णव भन्नु हुन्छ अयोध्यामा पनि साउन महिनामा यस्तै उत्सवको माहौल हुन्छ ।
झुलाको प्रारम्भ मिथिलामा होस वा अयोध्यामा यसको शुरुवात मणिपर्वत बाट नै हुन्छ । साउनक तृतिया तिथिका दिन जनकपुरधामको प्रत्येक मन्दिरको डोला रंगभूमि मैदान पुग्छ, त्यहाँ नाँचगान भएर फेरी नगर परिक्रमा गर्दै मन्दिरको डोलाहरु मन्दिरमै फर्किने परम्परा रहेको छ ।
मणिपर्वत विधिवत रुपमा सम्पन्न भएपछि सोही दिन साँझबाट स्थानीय मठ मन्दिरमा धार्मिक रीति अनुसार झुलनोत्सव सुरु हुने गरेको विहारकुण्डका महन्थ रामकिशोर दास भन्नु हुन्छ । उहाँका अनुसार झुला उत्सवको पहिलो दिनलाई मणिपर्वतको झुला भनिन्छ ।

जनकपुधाममा झुल्नोत्सवको प्रारम्भ
जनकपुरधारममा झुला उत्सवको प्रारम्भ जानकी मन्दिरका आदि महन्थ सुरकिशोर दास गरेको बताइन्छ । दासको आगमनको समय सन् १७३० लाई मानिन्छ । त्यस समयमा जनकपुरधाममा विभिन्न मन्दिरहरुको स्थापना भएको र विभिन्न उत्सवहरुको सुरुवात समेत भएको मानिन्छ । सुरकिशोर दास माता जानकीलाई पुत्री मान्दथे । उनले कहिलेकाही माता जानकीसँग कुराकानी गर्दथे मानिन्छ र माता जानकीको सल्लाहमा आदि महन्थ सुरुकिशोर दासले यस उत्सवको प्रारम्भ गरेका हुन् । सन्त सम्प्रदायको गढ मानिने अयोध्या र कृष्ण सम्प्रदायको गढ बृन्दावनबाट झुलाको परम्परा जनकपुरधाममा आएको पनि कतिले भन्ने गर्छन ।
साओनमे उपवन वन फूले
झुला झुले नन्दकिशोर
कदमक डारीमे लागल हिडोला
झहरए नभ घनघोर…
धार्मिक पृष्ठभूमिमा आधारित यस गीतलाई समाजशास्त्रीय दृष्टिकोणले मनन गरे झुलाको प्रारम्भलाई संकेत बुझिन्छ । साधुसन्त खुल्ला चौर वा कुनै रुखको छहारीमा बास बसेपनि आफ्नो झोलामा श्रद्धाका साथ ल्याएका शालीग्रामलाई आसनमा राखी झुलाउने गर्दछन् ।

झुलाको आकर्षण


मिथिलाञ्चलमा धानको रोपनी समाप्त हुने बित्तिकै झुला उत्सवको रौनकता शुरु भएको हेर्न सकिन्छ । यस क्रममा हरेक मठ मन्दिरमा कजरी र मलार जस्तो धार्मिक महत्व झल्किने गीतहरु कर्णप्रिय आवाजमा सुन्न सकिन्छ ।
झुला लगे कदमकी डाली
झुले कृष्ण मुरारी ना……
यो गीतमा कृष्णको प्रभाव देखिएको भएपनि यसलाई रामसंग तुलना गरी गाइने भएकोले आनन्दको अनुभूति गर्दछ । उत्सवमा गाइने कजरी लोकगीत श्रद्धालुहरुलाई आकर्षित त गर्छ नै, जानकी मन्दिरमा बिहान बेलुका बज्ने सहनाइको ध्वनि जन–जनको हृदयमा उत्सवको रुपमा घर बनाएको हुन्छ । मैथिलीका चर्चित गीतकार अशोक दत्त भन्नु हुन्छ कजरी र झुला नजिक भएपनि कजरीमा वियोग र श्रृंगार हुन्छ भने झुलामा भक्तिभाव । त्यसो त झुलनोत्सवमा कजरी गीतको अत्याधिक प्रभाव हुन्छ ।
सम्पूर्ण मिथिलाञ्चलवासी सो अवसरमा चन्द्रमाको किरणले भरिएको रातमा कीर्तन, भजन र नृत्यको संगीतमय वातावरणमा रमिएका हुन्छन । यसलाई कजरी भनिन्छ । समग्रमा कजरी र झुला एकअर्काको पूरक मानिएपनि यो दूबै फरक हो ।
कान्छा हँसी हँसी वोली वोलई
ऊ तो करई ढिटोलिना।
राहे वाटे वहियो मरोडई
ए… तो करई मचोलीना ।।
असगर आके मितन कुजनमे
ऊ तो रोकई टोली ना।
ग्वाला वालसँग खाये लुटाये
ऊ तो दही मटकोली ना ।।
यसरी राधा कृष्ण वा ग्वालाहरु अनुपम प्रणयको कजरीको माध्यमबाट पनि व्यक्त गर्ने गर्छन । गोपिनीहरुको हृदय चोर्ने श्रीकृष्णले बजाएको बासुरीको तानबाट राधिका नाच्दै गाउन थाल्छिन ।
सखी मधुवनमे वंशी के तान वा
राधाजीके जान वा ना,
कृष्ण वाँसुरी वजाये,
राधा झुम झुम गावे
ग्वाला वाल नै जियेरा अद्यान वा,
राधाजीके तान वा ना ।।
त्यही समयमा प्रियतमको श्रृंगारसहित झुलेको देखेर प्रियतमको मनमा मधुर भाव झल्किन्छ र कटाक्ष गर्दै भन्छन् ।
अरे रामा करत कवल दिल जानिया
झुला के झुलनिया रे हरि ।
झुला गीतमा संयोग श्रृंगारको मात्र नभई वियोगको पनि मार्मिक अभिव्यक्ति पाइन्छ । घर छोडेर परदेश गएको प्रियतमसँगको मिलनको आशामा प्रेमिकाहरु तडपिन्छन ।
करु कौन जतन अरी ऐ सखी,
मोरे नयनो से बरसे बादरिया ।
उठी काली घटा, वादल गरजे,
चली ठण्डी पवन, मोरा जिया लरंजे ।
यी पिया मिलनको आस सखी,
परदेश गए मोरे साँवरिया ।।
विरहणीको पीडायुक्त आवाज उसको मनको व्यथा तथा आँखाबाट झरेका आँशुले सो अवस्थालाई कारुणिक बनाई दिन्छ ।
सखिया श्याम नही घर आये,
वरखा वरसन लागेना
वादल गरजे विजुली चमके
जियरा धडके ना ।
ननद भाउजुलाई झुलामा झुल्नलाई आग्रह गर्छिन तर भाउजु सोका लागि तयार हुँदैनन् । किनकि उनको प्रियतम टाढा हुन्छन् । विदेश गएका श्रीमानका कारण घरमा पत्नीहरु वियोगमै जीवन विताउन बाध्य हुन्छन् । विदेश गएको पतिसंग आउनलाई आग्रह गर्दै भन्छिन् ।
झुलासंगै गाइने लोकगीतबाट साउन भादौमा सम्पन्न हुने साँस्कृतिक रमझमसंगै मिथिलाञ्चलमा व्याप्त गरिवीको वर्णन समेत गरिएको हुन्छ भने महिलाहरुको आभूषणको अभिव्यक्ति पनि पाइन्छ । झुलन लोकगीतको एउटा अंश कति भावपूर्ण र भक्तिरसले परिपूर्ण छ जो मैथिली संस्कृतिको ज्वलन्त उदाहरण रहेको छ ।
झुलामे लगे जनकपुर भारी
झुले कृष्ण मुरारीना
झुले अवध विहारीना ।
यसका अतिरिक्त साउन महिनाको पूmलबारीमा आँप बोटमा लागेको हुन्छ । गाउँका तरुण तरुणीहरु आँपको अनुपम स्वाद लिदै झुला झुल्छन् । यो लोकरञ्जनको सर्वोत्तम माध्यम हो । एउटा दोस्रो झुलन लोकगीतको अंश
आएल सावन मास झुला झुलु सरकार
झुला झुलिलिये लाले फुलवरियामे……
यस प्रकार झुलामा एउटा सफल र सुखद दाम्पत्य जीवनको झाँकी प्रेमको सुखद संयोग र वियोगका अतिरिक्त धार्मिक सामाजिक, साँस्कृतिक एवं ऐतिहासिक चित्रण समेत पाइन्छ । लामो समयदेखि भेट नभएको प्रियतम सँग मिलन हुने कामना गर्दै मठ मन्दिरमा भगवानको मूर्ति वा चित्र सजाएर झुला गाउने मिथिलाञ्चलमा धेरै पुरानो परम्परा रहेको छ ।
कलियुग केवल नाम आधारा सुमरि सुमरि भव उतरहुँ पारा ।
यो पंक्तिले कलियुगमा भगवान् प्राप्तिक मार्ग सीतारामको नाम जप्नु मात्रै रहेको कुरा तर्फ इशारा गर्दछ । झुलामा रामनामको जप तथा कीर्तन भक्तजनहरुद्वारा हुने गर्छ ।
यस झुलनोत्सवमा युवतीहरु झुलाको गीत गाउने र भगवान्को पूजा अर्चना गरेपछि भक्तजनलाई पूmलपाती पञ्चामृत र नैवेध बाड्ने परम्परा रहेको छ । मिथिलाञ्चलको मठ मन्दिरमा साउन महिनामा झुलन लोकोत्सव हर्षोल्लासका साथ मनाउँदै साउन शुक्ल पूर्णिमाको राति १२ बजे झुलनोत्सव डोरी काटी विधिवत् रुपमा सम्पन्न गर्ने धार्मिक परम्परा रहेको छ ।
झुलनोत्सव अवर्णीय र अकथनीय रहेको छ एकातर्फ मानिसलाई आनन्दको अनुभूति गराउँदछ भने अर्काेतर्फ हृदयलाई भक्तितर्फ ओतप्रोत गराउँछ भन्ने जनविश्वास रहेको छ । जनकपुरधाम एवम् मिथिला क्षेत्रको हरेक मठ मन्दिरमा झुला उत्सव मनाउने परम्परा रहेपनि जानकी मन्दिर एवम् राम मन्दिरको झुला विशेष आकर्षणको केन्द्रबिन्दु रहेको हुन्छ । जानकी मन्दिरमा विशेष किसिमका तीनवटा सिंहासनमा राम सीताको मूर्ति राखी झुला झुलाउने परम्परा रहेको छ ।