Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

श्याम बेनेगलः उनका फिल्महरूले सधैं सम्झाइरहनेछ 





गत १४ डिसेम्बरमा श्याम बेनेगलले ९० औं जन्मदिन मनाएका थिए, सानो समारोहबीच । पीटीआईसँगको कुराकानीमा बेनेगलले भनेका थिए, ‘अहिले दुई–तीन वटा परियोजनामा काम गरिरहेको छु ।’ उमेरले ९ दशक नाघे पनि उनी फिल्म–कर्ममा सक्रिय थिए । गत वर्ष मात्रै उनले शेख मुजिबुर्रहमानको जीवनगाथामा आधारित बायोपिक ‘मुजिब : द मेकिङ अफ नेसन’ बनाएका थिए ।

९० औं जन्मदिन मनाएको १० दिनपछि बेनेगल हामीबाट बिदा भए । तर, उनका फिल्महरूले भने उनलाई सधैं सम्झाइरहनेछ ।

बेनेगलका बुवा श्रीधर बेनेगल एक व्यावसायिक फोटोग्राफर थिए । ती थिए, पोट्रेट तस्बिरका लागि प्रसिद्ध । त्यो जमानामै उनीसँग थियो १६ एमएम क्यामरा । फुर्सद हुनेबित्तिकै उनी छोराछोरीको भिडियो खिच्थे । बेनेगलको परिवारमा १० जना बालबालिका थिए । परिवारका सबैले पालैपालो श्रीधरको क्यामरामा कैद हुने मौका पाउँथे । हरेक साँझ डिनरपछि परिवार सँगै बस्थ्यो र एकअर्काका तिनै दृश्य हेरेर रमाउँथ्यो । त्यही वातावरणले नै श्याम बेनेगललाई प्रख्यात फिल्म निर्देशकका रूपमा उभ्यायो ।

१२ वर्षको उमेरमै बुवाले बेनेगललाई तस्बिर/भिडियो खिच्न क्यामरा चलाउने अनुमति दिएका थिए । त्यतिबेलै श्यामले गर्मी बिदामा भेला भएका भाइबहिनी र दौंतरीहरूको भिडियो खिचे । उनले बनाएको पहिलो भिडियो त्यही थियो, त्यसलाई उनले नाम दिएका थिए, ‘छुट्टिओं में मौज मजा ।’

उनको घर थियो, हैदराबादको क्यान्टोनमेन्टनजिकै, जहाँ हरेक साता अंग्रेजी फिल्म देखाइन्थ्यो । प्रोजेक्टर चलाउनेसँगको दोस्तीले पनि उनी सधैं फिल्म हेर्न पाउँथे । श्याम बेनेगल भन्थे, ‘म फिल्ममेकर बन्नु स्वाभाविकै हो, तर मेरो परिवारमा कसैले सोचेका थिएनन् होला म फिल्म क्षेत्रमा आउँछु भनेर । फिल्म निर्देशक बन्ने इच्छा मैले कसैलाई सुनाएको भए मलाई पागल भन्थे होलान् ।’ सिनेमासँग खासै ताल्लुक नराख्ने हैदराबादमा बसेर फिल्म बनाउने विषय एकदम नाजायज मानिन्थ्यो । ‘२० वर्षको उमेरसम्म पहिलो फिल्म बनाउँछु’ भन्ने बेनेगलले पहिलो फिचर फिल्म ३९ वर्षको उमेरमा बनाए ।

Benegal was differentअंकुर (१९७४)

बेनेगलले उस्मानिया विश्वविद्यालय हैदराबादबाट अर्थशास्त्रमा स्नातकोत्तर गरे । केही समय क्याम्पस पनि पढाए, तर मन रमेन । त्यसपछि हान्निए उनी स्वप्ननगरी– बम्बई । नातामा दाइ पर्ने गुरुदत्त सिने क्षेत्रमा स्थापित भइसकेका थिए । तर, कलाकार र निर्देशकका रूपमा आफूलाई उभ्याइसकेका गुरुले श्यामलाई सहायक निर्देशक बनेर अघि बढ्न नसकिने सुझाए । श्यामले विज्ञापनहरू बनाउन थाले । विज्ञापनले नै उनलाई फिल्मको आइडिया, स्क्रिप्ट लेखन, कास्टिङ, सुटिङ, सम्पादन, रेकर्डिङ र मिक्सिङमा दक्ष बनायो । केही वर्षमै उनले झन्डै २ सय विज्ञापन बनाए ।

बम्बई पुगेको १४ वर्षपछि मात्रै उनले फिचर फिल्म बनाए । त्यतिबेलासम्म उनले झन्डै ८ सय विज्ञापन र ३० वृत्तचित्र बनाइसकेका थिए । सुरुमा उनले कपिराइटरका रूपमा काम गरे । ‘एमए सक्नेबित्तिकै मैले काम गर्न थालें । हैदराबादमा खासै गतिलो काम नपाएपछि म बम्बई आएँ । विज्ञापन एजेन्सीमा काम पाएँ । कपिराइटरका रूपमा मैले १७५ भारु मासिक पाउँथें,’ २०१८ मा अनुराधा डिङ्वाने निधमसँगको अन्तर्वार्तामा उनले भनेका छन् । केही समयपछि उनले नामी लिन्टास एजेन्सीमा काम गरे । तीन वर्षपछि उनी अर्को एजेन्सीमा हेड अफ द फिल्म डिपार्टमेन्ट भए ।

सुरुवातदेखि नै भारतीय राजनीतिमा प्रगतिशील धारको पक्षपाती थिए उनी । सिनेमाले समाज परिवर्तनमा कुनै न कुनै रूपमा भूमिका खेल्नुपर्छ भन्ने मान्यता राख्थे । उनी सामन्ती राज्य हैदराबादमा हुर्के–बढे । त्यसैले पनि किसान आन्दोलन, कम्युनिस्ट आन्दोलनलाई नजिकबाटै नियाल्न पाए । तेलंगाना आन्दोलनकै वरिपरि बनेका उनका फिल्म हुन्, ‘अंकुर’ (१९७४) र ‘निशान्त’

(१९७५) । राजनीतिक–सामाजिक रूपमा जागरुक परिवार भएकाले उनमा सानैदेखि त्यसप्रति लगाव थियो । त्यसैले पनि स्क्रिनप्लेको पहिलो ड्राफ्ट प्राय: उनी आफैं तयार पार्थे । उनी निकै पढाकु थिए । एक अन्तर्वार्तामा उनी भन्छन्, ‘मैले जे–जे भेटें, सबै पढें– उपन्यास, इतिहास, संस्मरण सबै ।’ सत्यजित रे र ऋत्विक घटकजस्ता सिनेहस्तीहरूको प्रेरणाबाट सिनेमामा आए उनी ।

समानान्तर सिनेमाका प्रणेता

हिन्दीमा समानान्तर सिनेमाको सुरुवातको श्रेय मृणाल सेनलाई जान्छ । सेनको ‘भूवन सोम’ (१९६९) हिन्दी समानान्तर सिनेमाको सुरुवात मानिन्छ । तर, यसको दायरा फराकिलो बनाउने काम भने श्याम बेनेगलले नै गरेका हुन् । आलोचक एवं पत्रकार कृपाशंकर चौबे भन्छन्, ‘बंगाली फिल्मको इतिहासमा सन् १९५५ मा ‘पथेर पाचाली’ आउनु एक क्रान्तिकारी घटना थियो, त्यसले बंगाली सिनेमालाई नयाँ जन्म दियो ।

Benegal was differentनिशान्त (१९७५)

त्यस्तै सन् १९६९ मा ‘भूवन सोम’ आउनु हिन्दी सिनेमाका लागि पनि क्रान्तिकारी घटना नै हो । यसले हिन्दीमा न्यु सिनेमालाई जन्म दियो ।’ सन् १९७० को दशकमा भारतीय सिने–संसारमा बेनेगलले फरक स्वाद पस्किए । त्यतिबेलाका चल्तीका फिल्मभन्दा अलग, व्यावसायिक सफलतामा केन्द्रित फिल्मभन्दा फरक समानान्तर सिनेमा बेनेगलको पर्याय हो । ‘शोले’ र ‘जय सन्तोषी माँ’ जस्ता फिल्महरूले धमाका पिटिरहेको समय थियो त्यो ।

त्यस्तो बेला अलग धारको सिनेमा बनाउनु एक चुनौतीपूर्ण कार्य थियो । अमिताभ बच्चन थिए, जो ‘योङ एंग्री म्यान’ का रूपमा स्थापित थिए । मानिसहरूलाई लाग्थ्यो, अमिताभसँग एक जादुयी छडी छ, जसले हरसमस्या ‘छुमन्तर’ पार्न सक्छ । १९७३ मा अमिताभ अभिनीत ‘जञ्जीर’ बन्यो, १९७४ मा ‘अंकुर’ । ‘अंकुर’ सामन्ती व्यवस्थाविरुद्धको प्रतिरोधी सिनेमाको एक मानक बनेको छ ।

क्रान्तिको ‘अंकुर’

कलेज पढ्दैखेरी ‘अंकुर’ को कहानी श्याम बेनेगलको मस्तिष्कमा थियो, जुन उनकै गाउँवरपरको कथा पनि हो । कुटिर उद्योग चलाएर रोजीरोटी चलाउनेहरूको कथा हो त्यो सिनेमा । श्याम बेनेगलको पहिलो फिल्म भएजस्तै धेरै कलाकारको पनि यो पहिलो फिल्म हो । शबाना आजमीले यसै फिल्मबाट डेब्यु गरिन् । हवेली र झोपडीबीचको कहानी हो– ‘अंकुर’, हुनेखाने र हुँदा खानेहरूको कथा । मार्क्सवादी दृष्टिकोणबाट हेर्ने हो भने आर्थिक–सामाजिक विभेदलाई फिल्मले देखाएको छ ।

लक्ष्मी (शबाना आजमी) जमिनदारका छोरा सूर्य (अनन्त नाग) सँग श्रीमान् किश्तैया (साधु मेहर) का लागि काम माग्दै भन्छे, ‘बेचारा बेकार है, सरकार । पहले कुम्हारका काम करता था । बहुत अच्छा बर्तना बनाता था…पर यूनियन की हुकुमत आई जब से, सब लोग अलमुनियम के बर्तना ले रहे । कुम्हारा तो भुखे मर रहै सरकार ।’ अंग्रेजहरूको नीतिकै कारण कुटिर उद्योगहरू धराशायी भएको थियो । त्यसमा आश्रित समुदाय रोजीरोटीका लागि हायलकायल थिए ।

Benegal was differentमन्थन (१९७६)

सूर्यको विवाह भए पनि श्रीमती सरु सानै थिइन् । त्यसैले ऊ लक्ष्मीलाई मन पराउँछ । किश्तैया घर छाडेर भागेका बेला लक्ष्मी सूर्यकै हवेलीमा बस्छे । सरसफाइ र खाना पकाउन मद्दत गर्छे । सोही क्रममा ऊ सूर्यबाट गर्भवतीसमेत हुन्छे । सूर्यले गर्भपतन गराउन दबाब दिन्छ, तर ऊ मान्दिनँ । ‘तिम्ले पाल्नु पर्दैन बच्चा’ भन्ने जवाफ दिन्छे । तर, सूर्यले आफू यसबारे अन्जान बन्ने बताउँछ । चोरीको आरोपमा सूर्यले कुटेपछि गाउँ छाडेर भागेको किश्तैया फर्किन्छ । लक्ष्मी गर्भवती भएकोमा ऊ खुसी हुन्छ, काम माग्न छोटे सरकार (सूर्य) कोमा जान्छु भन्छ । तर, लक्ष्मीले

नजाऊ भन्दा मान्दैन । लट्ठी लिएर ऊ हवेलीतर्फ लाग्छ । डन्डासहित किश्तैयालाई देखेपछि सूर्य डराउँछ । आफ्नो गल्तीबोध भए पनि ऊ बाहिर भन्दैन । किश्तैयाले आँगन टेक्नेबित्तिकै ऊ कोर्रा बर्साउन थाल्छ । दोजिया लक्ष्मी सूर्यलाई निर्घाट कुटेको देखेपछि लड्खडाउँदै हवेली आइपुग्छे । ऊ भन्छे, ‘ये काम माग्ने आया था, फिर क्यों मारा ?’ त्यतिमै सीमित हुन्न लक्ष्मी, ऊ सूर्यको जमिनदारी घमण्ड पनि उतारदिन्छे ।

‘तू बडा आदमी अपने घर का होएंगा । हम तेरे खरीदे गुलाम नहीं है । अब से तेरा काम नहीं होना, तेरा पैसा नहीं होना । तेरा कुछ नहीं होना । सब अपने मुर्दे के साथ ले जा तू,’ दक्षिणी हिन्दी लवजमा उसले भन्छे । (बेनेगलको विशेषता पनि हो स्थानीय भाषा, संस्कृति र गीत–संगीतलाई समेटेर फिल्म बनाउने ।)

किश्तैयालाई पिटेको प्रहरी शेख चाँदले देख्छ, तर निरीह बनेर हेरिरहन्छ । एक सानो बालकले पनि देख्छ– किश्तैयालाई सूर्यले पिटेको । त्यो त्यही बालक हो, किश्तैयाले ताडीको रस चोरेको सुराकी सूर्यलाई लगाउने । तर, आज बिनागल्ती किश्तैयालाई पिटेको देख्दा ऊ आक्रोशित हुन्छ । फिल्मको अन्तिम दृश्य निकै शक्तिशाली छ । अन्तिममा बालकले ढुंगा उठाउँछ, सूर्यको हवेलीको सिसा–झ्याल फुटाइदिन्छ । यसले सामन्ती र जमिनदारी प्रथाविरुद्ध प्रतिरोध गर्नुपर्छ भन्ने निर्देशक श्याम बेनेगलको दृष्टिकोण पनि झल्काउँछ ।

पहिलो फिल्म ‘अंकुर’ ले बेनेगललाई प्रसिद्धि दिलायो । सन् १९७५ मा यसले तीन वटा राष्ट्रिय अवार्ड पायो, २४ औं बर्लिन अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलको गोल्डेन बियर अवार्डका लागि पनि मनोनीत भएको थियो ।

निशान्त’ पछिको उज्यालो

श्याम बेनेगलको दोस्रो फिल्म हो– ‘निशान्त’ । जमिनदारी व्यवस्थाभित्रको ग्रामीण शोषणको कथा छ यसमा । शक्तिको दुरुपयोगले समाजलाई कसरी प्रताडित गर्छ ? फिल्मले त्यो कथा सुनाउँछ । सत्ताधारी वर्ग र आम जनताबीचको संघर्षको दृश्य–वर्णन पनि हो ‘निशान्त’ । गिरीश कर्नाड, शबाना आजमी, नसरुद्दीन शाह, अमरिश पुरीलगायतको दमदार अभिनय छ फिल्ममा । श्याम बेनेगलकै भनाइमा यो फिल्म सत्य घटनामा आधारित छ ।

हैदराबादबाट २५ किलोमिटर टाढाको पोचमपल्ली गाउँको कथा हो यो । जमिनदार दाजुभाइले गाउँलेमाथि गरेको अत्याचार र गाउँलेहरूको संघर्ष फिल्ममा छ । फिल्ममा देखाइएझैं जमिनदार दाजुभाइ गाउँलेको जमिन हडप्ने गर्थे । यहाँसम्म कि कुनै महिला मन परे, उठाएर हवेली पुर्‍याउँथे । फिल्ममा गाउँका ठूला जमिनदारको भूमिकामा छन् अमरिश पुरी । भाइहरू उनलाई ‘अन्ना’ सम्बोधन गर्छन् ।

अन्नाको भूमिकामा पुरीको अभिनय जबर्जस्त छ । ठूला–ठूला आँखा, कसिलो शरीर र संवाद–शैलीले वास्तविक जमिनदारझैं लाग्छन् उनी । अन्नाका भाइहरूको भूमिकामा छन् अनन्त नाग, मोहन अगाशे र नसरुद्दीन शाह । नाग अंजैया, अगाशे प्रसाद र शाह विश्वमको भूमिकामा छन् । सिनेमाका एक हस्ती नसरुद्दीनको यो पहिलो फिल्म हो ।

अन्नाका भाइहरू गाउँलेका अनाज मात्रै नभई महिलाहरू पनि उठाउँछन् । त्यस्तैमा भर्खर गाउँको विद्यालयमा सरुवा भइआएका स्कुलमास्टर (गिरीश कर्नाड) की श्रीमती सुशीला (शबाना आजमी) को अपहरण गर्छन् । विवाहित भए पनि विश्वमले सुशीलालाई मन पराउँछन् । भाइहरूको उक्साहटमा उनी अपहरण गर्छन् । हवेली ल्याएका महिलाको पहिलो भोग अन्नाले गर्ने भए पनि विश्वमप्रति विशेष प्रेम भएकैले सुशीलालाई छुँदैनन् । तर, प्रसाद र अंजैया भने पटक–पटक सुशीलाको बलात्कार गर्छन् । बलात्कारपछिको सुशीलाको हाल देखेर विश्वमको मन पग्लिन्छ ।

त्यति मात्रै होइन, उनलाई हीनताबोध हुन्छ र रक्सीको सहारा लिन्छन् । सुशीलालाई अपहरणमुक्त बनाउन स्कुलमास्टर पुलिस, अड्डा अदालत, अखबार सबैतिर धाउँछन्, तर जमिनदारहरूको यस्तो जगजगी हुन्छ कि गाउँमा कोही उनको उजुरी लिन, मुद्दा दर्ता गर्न र खबर छाप्ने हिम्मत गर्दैनन् । अन्त्यमा मन्दिरका पुजारीलाई सम्झाइबुझाइ जमिनदारको अन्याय र अत्याचारविरुद्ध गाउँलेलाई आन्दोलित बनाउन सफल हुन्छन् स्कुलमास्टर ।

Benegal was differentसूरज का सातवाँ घोडा (१९९२)

प्रमोदकुमार वर्णवाल ‘श्याम बेनेगल और समान्तर सिनेमा’ मा लेख्छन्, ‘बेनेगलले ‘निशान्त’ को माध्यमबाट धर्म र समाजबारे धेरै सवाल उठाएका छन् ।’ जमिनदारहरू बाहिरी आवरणमा निकै धार्मिक लागे पनि उनका भाइहरू जुवामा हारेको पैसा तिर्न मन्दिरकै गहना चोर्छन् । धर्मका नाममा खोक्रो आडम्बर देखाउनेमाथिको व्यंग्य पनि हो ‘निशान्त’ ।

५ लाख किसानको मन्थन’

‘मन्थन’ श्याम बेनेगलको ‘मास्टरपिस’ हो । किसान आन्दोलन, खासगरी दुग्ध सहकारीको सफलताको कथा हो ‘मन्थन’ । गुजरातको आणंदमा वर्गिज कुरियनको अगुवाइमा सहकारी–अभियानले उदाहरणीय सफलता हासिल गरेको थियो । कुरियनलाई ‘फादर अफ ह्वाइट रिभोलुसन’ का नामले चिनिन्छ । किसानहरूको मुख्य उत्पादन दूध भए पनि बजार अभाव थियो । कुरियनहरूले सहकारी मोडल अपनाएपछि किसानहरूले लाभ उठाउन पाए । गुजरात सहकारी दुग्ध विपणन संघमार्फत किसानहरूले दूध बेचे र आत्मनिर्भर भए ।

तिनै किसानको सहकारी मोडेलको सफलता आज अमूल डेरीका रूपमा संसारभर प्रसिद्ध छ । अमूल डेरी हजारौं किसानद्वारा सञ्चालित छ, जुन एसियाकै सबैभन्दा ठूलो डेरीसमेत हो । सानो प्रयासबाट सुरु भएको त्यही डेरीले आज वार्षिक अर्बौंको कारोबार गर्छ । सन् २०२३/२४ मा अमूलले १२ हजार ८ सय करोड भारुबराबरको कारोबार गरेको थियो । यही सफलतालाई वर्गिज कुरियन र बेनेगलले फिचर फिल्म बनाएका हुन् । बेनेगलले अमूलबारे पहिले नै वृत्तचित्र बनाइसकेका थिए । अमूल–सफलतालाई गाउँगाउँसम्म पुर्‍याउन कुरियन र बेनेगल फिचर फिल्म बनाउन सहमत भए । अझ रोचक त के भने ५ लाख किसानबाट २/२ रुपैयाँ उठाएर बनाइएको फिल्म हो ‘मन्थन’ ।

यस अर्थमा ‘मन्थन’ किसानहरूको फिल्म हो । भारतका ठूलो लगानीका फिल्महरू अवैध धनबाट बनेको आरोप लाग्दै आएको छ । सन् २०१२ मा कोबरा पोस्ट र सीएनएन आईबीएनले यसैबारे स्टिङ अपरेसन गरेका थिए । बलिउडमा अन्डरवर्ल्ड डनहरू दाउद इब्राहिम र अबु सलेमलगायतले ब्लकबस्टर मानिएका फिल्महरूमा लगानी गरेको खुलासा भएको थियो । यस्तोमा बेनेगलले किसानहरूबाट पैसा उठाएर फिल्म बनाउनु एक दुर्लभ उदाहरण हो । किसानहरूले यस फिल्मको अपनत्व लिएको बताउँछन् वर्णवाल । भन्छन्, ‘मन्थन भारतको एक मात्रै यस्तो फिल्म हो, जहाँ साध्य मात्र होइन साधन पनि पवित्र छ ।’ यो फिल्म हेर्न गाउँ–गाउँबाट ट्याक्टर र ट्रक चढेर किसानहरू सिने घर पुगेका थिए ।

त्यस फिल्मको गीत ‘मेरो गावँ का नाम काठियाबाड/दूध की नदिया बहे जा…’ अन्त्यमा अमूलकै पहिचान बढाउन पनि मद्दतगार रह्यो । फिल्मले सरकारी ढिलासुस्ती र अस्तव्यस्त कर्मचारीतन्त्र उजागर गरेको छ, जुन विकासको बाधक पनि हो । फिल्मको सुरुवाती दृश्यमै गाउँमा सहकारी स्थापनार्थ आएका डा. मनोहर राव र महापात्रलाई स्वागत गर्नेहरू भन्छन्, ‘माफ कीजिए गाडी (रेल) टाइम पर आ गई ।’ महापात्र ती व्यक्तिलाई सोध्छन्, ‘काम कैसा चल रहा है ?’ ती व्यक्तिको जवाफ थियो, ‘काम ठीक चल रहा है, पर मक्खियाँ बहुत हो गई हैं ।’ हाँस्दै महापात्र भन्छन्, ‘दूध में तो नहीं गिरी न ?’ ‘मन्थन’ को यो संवादले शासन व्यवस्थाप्रति चोटिलो व्यंग्य प्रहार गरेको छ ।

सूरज का सातवाँ घोडा’ मा जीवन दर्शन

सिनेमा एक विशिष्ट साहित्य हो । उपन्यास, कथा, आत्मकथा र जीवनीमा आधारित भएरै धेरै फिल्म निर्माण हुन्छन् । कतिपय अवस्थामा फिल्मले ती कृतिलाई न्याय गरेका पनि हुँदैनन् । चर्चित साहित्यकार प्रेमचन्दलाई ‘असफल स्क्रिप्ट राइटर’ समेत भन्ने गरिन्छ । उनले सन् १९३४ मा ‘मिल मजदुर’ को स्क्रिप्ट लेखेका थिए । प्रेमचन्द पैसाकै खाँचोले त्यो स्क्रिप्ट लेख्न बम्बई पुगेका थिए । उनलाई अजन्ता सिनेटोनले ८ हजार रुपैयाँ पारिश्रमिक दिएको थियो ।

त्योबेला उक्त रकम निकै ठूलो थियो । तर, प्रेमचन्द आफैं भने फिल्मको स्क्रिप्ट लेखेकामा सन्तुष्ट थिएनन् । विचारकको छविसमेत बनाएका लेखक रामवृक्ष बेनीपुरीलाई प्रेमचन्दले उक्त फिल्म नहेर्नै सुझाएका थिए, ‘यदि तुम मेरी इज्जत करते हो, तो यह फिल्म कभी नही देखना । कर्ज से परेशान था, यहाँ चला आया । अब लौट रहा हुँ । फिर इस कुचे मे कदम न रखुंगा कसम खा ली है ।’

श्याम बेनेगलले भारतका विभिन्न कृतिमाथि फिल्म बनाएका छन् । प्रायोगिक हिसाबले सफल फिल्म हो, ‘सूरज का सातवाँ घोडा ।’ सन् १९५२ मा प्रकाशित धर्मवीर भारतीको सोही उपन्यासलाई बेनेगलले सिनेमामा अब्बल ढंगले रूपान्तरण गरेका छन् । ‘सूरज का सातवाँ घोडा’ मा मुख्य पात्र छन् माणिक मुल्ला (रजित कपूर) ।

उनले नै फिल्मको कथालाई अन्तिमसम्म डोर्‍याएका छन् । उनी विभिन्न असफल प्रेमकथा साथीहरूलाई सुनाउँछन् । उपन्यासकार भारती र निर्देशक बेनेगलले ‘सूर्यको रथ’ सम्बन्धी किंबदन्तीमार्फत जीवन दर्शन प्रस्तुत गरेका छन् । उपन्यासकै भूमिकामा भारतीले लेखेका छन्, ‘ये कहानियाँ वास्तव में प्रेम नहीं वरन् उस जिंदगीका चित्रण करती हैं जिसे आज का निम्न–मध्यमवर्ग जी रहा है ।’

फिल्मले वर्गीय द्वन्द्व र प्रेम असफल हुनुको कारण प्रस्तुत गरेको छ । फिल्मका प्रमुख तीन महिला पात्र जमुना (राजेश्वरी सचदेव), लीली (पल्लवी) र सत्ती (नीना गुप्ता) ले मध्यमवर्ग, बौद्धिक र श्रमिक समाजको प्रतिनिधित्व गरेका छन् । उनीहरू सामाजिक कुरीतिहरूलाई चुनौती दिने प्रयास गर्छन् । फिल्म प्रेम सम्बन्धकै वरिपरि घुमे पनि त्यसले आर्थिक–सामाजिक परिवेशलाई सम्बोधन गरेको छ । प्रेम असफल प्रेमी–प्रेमिकाका कारण मात्र हुँदैन, आर्थिक र सामाजिक व्यवस्थाले पनि हुन्छ ।

फिल्मकै एक दृश्यमा माणिक मुल्ला भन्छ, ‘प्रेम केवल रुमानी रहस्यमय र अत्यन्त निजी भावना होइन, यो आर्थिक व्यवस्थामाथि आधारित छ । वर्ग संघर्ष यसकै आधार हो ।’ जातपात, सामाजिक प्रतिष्ठा मानिएको दाइजो प्रथा पनि प्रेम र विवाहका अवरोध हुन् भन्छ फिल्म । फिल्मकै एक संवाद यहाँ सान्दर्भिक हुन्छ, ‘हरेक घरमा एउटी जमुना हुन्छे र उसको बिहे तन्नासँग हुँदैन किनकि उसको बुवासँग दिनलाई दाइजो हुँदैन ।’

सिनेमा साहित्यको सबैभन्दा सशक्त माध्यम हो । उपन्यास, कथा, कविताभन्दा एकैपटक धेरैमा पुग्ने भएकाले पनि यसको दायरा व्यापक छ । सिनेमाले समाजलाई प्रत्यक्ष प्रभाव पार्ने भएकाले पनि निर्देशक, निर्माताहरू संवेदनशील बन्नुपर्ने धेरैको मत छ । यस सन्दर्भमा ‘महाभारत’ का पटकथाकार एवं संवाद लेखक राही मासुम रजा भन्छन्, ‘समाजका प्रबुद्ध वर्गले चासो नदिँदा फिल्मको गुणस्तर दिन प्रतिदिन खस्किँदै गइरहेको छ । जब–जब प्रबुद्ध व्यक्तिहरूले फिल्मको स्तरमा ध्यान दिएका छन्, तब–तब राम्रा फिल्म निर्माण भएका छन् ।’

समाजका विद्वत् वर्गकै चासोका कारण ‘अर्थ’, ‘अर्द्धसत्य’, ‘पार’, ‘मोहन जोशी हाजिर हो’ जस्ता सार्थक फिल्म बनेको रजाको मत छ । रजा ‘जञ्जीर’, ‘दीवार’, ‘शोले’, ‘अमर अकबर एन्थोनी’ लगायतका केही फिल्मलाई साहित्यका महत्त्वपूर्ण सामाजिक दस्ताबेज मान्छन् । श्याम बेनेगल यस अर्थमा फरक छन् कि उनी सामाजिक–यथार्थवादी परिवेशलाई टपक्क टिपेर फिल्ममा ल्याउँछन् । राजनीतिक रूपमा जागरुक परिवारमा हुर्केका कारण समतावादी लोकतान्त्रिक जीवन पद्धतिको सपना, धर्मनिरपेक्ष र जात–व्यवस्थामुक्त समाजको कल्पना गर्छन् बेनेगल ।

भारत, एक खोज’

श्याम बेनेगलले नेहरूको पुस्तक ‘डिस्कभरी अफ इन्डिया’ मा आधारित भएर धारावाहिक शृंखला बनाए, ‘भारत, एक खोज’ । ५२ घण्टा लामो उक्त शृंखलाको सुरुदेखि अन्त्यसम्मै बेनेगल निर्देशक थिए । पुस्तकहरूमा आधारित भएर न्यायोचित ढंगले पर्दामा उतार्न सक्ने खुबी थियो बेनेगलमा । यो शृंखलामा करिब ५ सय कलाकारले अभिनय गरेका छन् । निर्माणमा डेढ वर्ष लागेको उक्त धारावाहिक बेनेगलकै शब्दमा ‘लाइफटाइम अचिभमेन्ट’ हो ।

पछिल्लो समय भारतमा इतिहास पुनर्लेखनका नाममा एकतर्फी कथा सुनाउने काम भइरहेको छ । सत्तारूढ भाजपा र आरएसएसका नेता, कार्यकर्ता नेहरूको छवि पूर्ण रूपमा धूलिसात् पार्न तल्लीन छन् । यस सन्दर्भमा परञ्जय गुहा ठाकुरतासँगको अन्तर्वार्तामा बेनेगलले भनेका छन्, ‘नेहरूबिना आधुनिक भारतको कल्पना गर्न सकिन्न । नेहरू भारतका प्रथम प्रधानमन्त्री हुन् । इतिहास मेट्न मिल्दैन । उनका पञ्चवर्षीय योजना नै भारतको विकासका आधारस्तम्भ हुन् ।’

महिलालाई विशेष स्थान

चल्तीका फिल्ममा महिलालाई पीडित पात्रका रूपमा मात्रै देखाउने चलन थियो । तर, श्याम बेनेगलले महिला पात्रलाई पितृसत्ताको प्रतिरोधी शक्तिका रूपमा पनि देखाए । महिलालाई निरीह रूपमा मात्रै चित्रण गरेनन् । ‘अंकुर’, ‘निशान्त’, ‘भूमिका’ लगायतका महिला पात्र यसका ज्वलन्त उदाहरण हुन् ।

उनी भन्छन्, ‘महिलाहरूको सामर्थ्यलाई पहिचान गर्न सकिएको थिएन । थिचोमिचोविरुद्ध जुर्मुराउन सक्ने उनीहरूको शक्तिलाई नजरअन्दाज गरिएको थियो । मैले उनीहरूलाई पीडितका रूपमा भन्दा पनि उनीहरूको क्षमतालाई हेरें ।’ महिलाहरू पीडित भए पनि वैयक्तिक र सामाजिक स्वतन्त्रताका लागि उनीहरूको प्रतिरोधी आवाजलाई बेनेगलले भरपूर स्थान दिए ।

परम्परागत रूपमा भन्ने हो भने घर र घरबाहिरको संसार छ । महिलाहरू घरभित्रको चुलोचौकामा मात्रै सीमित बनाइएका थिए भने बाहिरी संसार पुरुषको थियो । बेनेगल भन्छन्, ‘महिलाहरूलाई दोस्रो दर्जामा राखिने विषय कदापि स्वीकार्य छैन ।’ मराठी फिल्मकी कलाकार हंसा वाडकरको आत्मकथा ‘यु आस्क, आई टेल’ मा आधारित भएर बेनेगलले ‘भूमिका’ फिल्म बनाए । व्यक्तिगत अनुभवका आधारमा आफूमा आएको नारीवादी दृष्टिकोण हंसाले आत्मकथामा प्रस्तुत गरेकी छन् । बेनेगलका ‘मम्मो’, ‘जुबैदा’ र ‘सरदारी बेगम’ भारत–पाकिस्तान विभाजन र हिन्दु–मुस्लिम सम्बन्धका जटिलतामा केन्द्रित छन् ।

श्याम बेनेगलका सबै फिल्ममाथिको चर्चा एकै आलेखमा सम्भव छैन । उनका फिल्मबारे कैयौं पुस्तक लेखिएका छन्, सयौं सोधपत्र छन् । प्रमोदकुमार वर्णवालको ‘श्याम बेनेगल और समान्तर सिनेमा’, समीर चोपराको ‘श्याम बेनेगल : फिल्ममेकर एन्ड फिलोसोफर’, स्नेहा कर चौधरी र रमित समद्दरको ‘रिफोकस : द फिल्म्स अफ श्याम बेनेगल’ बेनेगलका फिल्ममाथि रुचि हुनेहरूलाई विशेष सामग्री हुन सक्छ ।

केही महिनाअघिको समदीश भाटियासँगको युट्युब अन्तर्वार्तामा ‘तपाईंलाई कसरी सम्झिइयोस् भन्ने चाहनुहुन्छ ?’ भन्ने प्रश्नमा श्याम बेनेगलको उत्तर थियो, ‘त्यसरी त मैले कहिल्यै सोचेको छैन ।’ अन्तर्वार्ताको केही समयपछि नै बेनेगलको निधन भयो । तर, उनी भारतीय सिने–क्षेत्रमा समानान्तर फिल्मका प्रणेताका रूपमा सम्झिइरहनेछन् ।