काठमाडौँ ।
राजनीतिकरुपमा नेपाली कांग्रेसको छत्रछायाँमा रहे तर जीवनभर उनी मार्क्सवादी अध्ययन, चिन्तन र मननमा रमाए । उनी अर्थात् समाजवादी चिन्तक प्रदीप गिरि ।
आर्थिक विकासलाई मात्र समाजवाद भन्न सकिँदैन, नेपाली कांग्रेसको सक्रिय राजनीतिमा रहेका समाजवादी चिन्तक गिरीले सधैँ यसमा जोड दिँदै आए । आर्थिक समृद्धिका लागि जीवित व्यक्तिलाई खुसी बनाउनुपर्ने धारणा विचार थियो उनको ।
वामपन्थी राजनीति गर्ने धेरै पार्टी र समूह भए पनि उनलाई धेरैले आफ्ना गुरुका रुपमा मानेको तथ्य कार्लमाक्र्सको द्विशतवार्षिकका अवसरमा आयोजित कार्यक्रममा गिरीलाई प्रमुख प्रशिक्षकका रुपमा गरिएको निमन्त्रणाबाट पनि केही खुल्थ्यो । सन् २०१८ मा मार्क्सवादी अध्ययन समूहले त उनलाई सल्लाहकार नै राखेको थियो ।
यस आधारमा स्वर्गीय गिरी मार्क्सवादी अध्येताका रुपमा स्थापित थिए । उनको जीवनभरको विचार समूह नेपाली कांग्रेस थियो । तर गिरी काल माक्र्स र भिआइ लेनिनको बौद्धिकताप्रति कम्युनिष्टभन्दा बढी काबिल थिए ।
तत्कालीन माओवादीले सञ्चालन गरेको ‘जनयुद्ध’ लाई राजनीतिक मुद्दा भएको र सोही आधारमा समाधानका लागि पहल गर्नुपर्ने धारणा राख्ने मुलुकका थोरै नेतामध्ये एक थिए उनी । जुनसुकै मञ्चमा पनि गिरीले वामपन्थ र मार्क्सवादी आन्दोलनको सकारात्मक पक्षकाबारेमा धारणा राख्दै आएका थिए ।
उनले आफूहरुको आन्दोलनलाई राजनीतिक विषय हो, यो आतंककारी क्रियाकलाप होइन भनेर स्थापित गराउन उत्प्रेरित गर्ने काममा विशेष योगदान गरेको नेताहरुको भनाई छ । दर्शनशास्त्रको अध्ययनमा मेधावी व्यक्तित्व गिरीले बाल्यकालदेखि नै अध्ययन चिन्तनमा कुशाग्रह देखाएको टिप्पणी गर्दै माओवादी नेता सुरेन्द्र कार्कीले भने, गिरीमा भौतिक सुख भोगभन्दा बढी ज्ञानको भोक थियो ।
दिवङ्गत नेता गिरीको सबैभन्दा अनुकरणीय विषय भनेकै उनी कोही कसैप्रति अन्धभक्त हुँदैनथे । उनले कैयौँ सार्वजनिक कार्यक्रममा समेत सो कुरा स्पष्टरुपमा बताएका थिए । गिरीको पूर्वीय र पश्चिमा दर्शन, भौतिकतावादी चिन्तन तथा आध्यात्मिक सोचबारे सरल भाषामा सबैले बुझिने गरी बताउन सक्ने क्षमता थियो ।
गिरीले सोभियत संघका तत्कालीन नेता लेनिनको जीवनी, नारी, मार्क्सवाद र अर्थशास्त्रलगायतका पुस्तकसमेत लेखेका छन् । यस्तै उनले ‘विश्वेश्वरप्रसाद कोइरालाका आधारभूत संकलन’ नामक पुस्तकको सम्पादन गरेका छन् ।
विसं २०७६ पुसमा राजधानीमा ‘मार्क्स फर्किए…’ नामक नाटक मञ्चन भएको थियो । सो नाटकको प्रदर्शनसँगै कांग्रेसका नेता गिरीलाई नाटकमाथि टिप्पणी गर्न आमन्त्रण गरिएको थियो । त्यसबेला उनले गरेको टिप्पणी थियो, संसारमा जबसम्म असमानता छ, तबसम्म मार्क्स जिवित रहन्छन् । संसारमा जबसम्म बर्बरता छ, तबसम्म मार्क्स जीवित रहन्छन् । आज मार्क्स मरे भन्ने मान्छेले सुन्नुभएको छ भने मरेका मार्क्स आज जीवित मार्क्सभन्दा सय गुना सशक्त भएर आएका छन् । सावधान रहनुहोस् ।
लेखक चैतन्य मिश्रको पुस्तक ‘लोकतन्त्र र आजको माक्र्सवाद’को विमोचन गर्दै २०७६ भदौ १४ गते आयोजित समारोहमा गिरीले व्यक्त गरेको धारणाले मार्क्सवादप्रति उनको लगाव कत्ति थियो भन्ने बुझ्न सकिन्छ ।
उनले मार्क्सवाद मानवताको दृष्टिकोणले उच्च रहेको छ । पूँजीवादले हार्दै गएको उल्लेख गर्दै उनले सन् १९१७ देखि क्युबाको क्रान्ति सन् १९५९ को समयसम्म पूँजीवादले हार्दै गएको बताए । उनले मार्क्स र लेनिनले भनेका कुरा अहिलेका सन्दर्भमा किन लागू भएन भन्नेबारेमा जवाफ खोज्नुपर्ने बताएका थिए ।
सिरहाको बस्तीपुरमा जन्मिएका गिरीले भारतको बनारस हिन्दू विश्वविद्यालयबाट दर्शनशास्त्र र अर्थशास्त्रमा स्नातकोत्तर गरेका थिए । बनारसमा अध्ययन गर्दा छात्र संघको निर्वाचन लड्ने क्रममा नै उनले बिपीको सानिध्य पाएका थिए । संघर्षले नै मानिसलाई स्पात बनाउँछ भन्ने धारणा राख्ने गिरी आफैँमा बौद्धिक एवं मार्क्सवादी व्यक्तित्व थिए ।
वामपन्थी लेखक एवं विश्लेषक झलक सुवेदीका विचारमा धेरै कम्युनिष्ट नेताको तुलनामा गिरीको मार्क्सवादप्रति राम्रो दक्खल थियो । उनले मानव स्वतन्त्रताका बारेमा अध्ययन गरेका थिए । लोभ, लालच नभएको र निरन्तर विद्रोह गर्ने स्वभाव भएकाले पनि उनलाई माक्र्सवादीका रुपमा लिन सकिने विश्लेषक सुवेदीको तर्क छ ।
चिनियाँ नेता माओ त्से तुङका बारेमा धेरै चासो नराखेपनि मार्क्स र लेनिनबारे राम्रो दक्खल राख्ने विचारकका रुपमा उनी स्थापित थिए । लेनिनबारे नेपाली समाजले बुझ्ने गरी पुस्तक लेख्ने लेखकका रुपमा समेत उनी स्थापित छन् ।
लेखक सुवेदीका अनुसार उनी साम्यवादी बाटोमा हुँदैनथे तर समाजवादी विचारमा प्रतिबद्ध थिए । उनी विचारमा मार्क्स र रोजाबाट तथा जीवन व्यवहार भने लोहिया र जयप्रकाशबाट प्रभावित थिए । सुवेदीले भने, उहाँ भौतिकवाद र माक्र्सवादबाट प्रभावित हुँदाहुँदै पनि जीवनशैली पूर्वीय दर्शनबाट प्रभावित थियो । उहाँ दैनिक जीवनमा आइपर्ने सानातिना धक्काबाट प्रभावित नहुने, विशिष्ट खालको अध्यात्मिक उचाइ प्राप्त गरेको व्यक्तित्व हुनुहुन्थ्यो ।
निरन्तर विद्रोही एवं आलोचक तथा यथास्थितीवादका कारण समाजमा देखिएका विभेदका विरुद्ध उनले निरन्तर खबरदारी गरिरहे । अग्रगमन तर्फबाट जान रोक्ने, विचार, संस्था र चिन्तनका विरुद्ध उभिने र प्रश्न उठाउने र बहस गरी राख्ने स्वभाव थियो नेता गिरीको ।
युवालाई निरन्तर क्रान्तिका प्रति उभिन, दलित, महिला, आदिवासी, मधेशीलाई अधिकार प्राप्तिका लागि प्रेरित गर्ने काम पनि उनले गरेका थिए । आफ्नै पार्टी कांग्रेस र अरु पार्टीको परम्परावादी राजनीतिक दृष्टिकोण तथा यथास्थितीवादविरुद्ध उभिने एक खालको साहस विचारक गिरीमा रहेको लेखक सुवेदी स्मरण गर्छन् । “नेपालको संविधानमा पनि हस्ताक्षर नगरेर उहाँले यो संविधानले नेपाली समाजको प्रतिविम्ब उतार गरेन भनेर अन्तिम समयसम्म पनि लडिरहनुभयो”, उनले भने ।
गिरी मार्क्सवादी आँखाबाट हेर्दा साम्यवादप्रति भरोसा नराख्ने र त्यसमा पुग्नुभन्दा अगाडिको मार्क्सवादलाई ग्रहण गर्ने व्यक्तित्वका रुपमा स्थापित थिए । युवा अवस्थामा जेल बसेका बेला लेनिन र रोजाका बारेमा पढेर उनको जीवनी र शिक्षाका बारेमा सानो पुस्तिका तयार पारे । । उनले ‘राज्य र क्रान्ति’ का बारेमा टिप्पणी गरेका छन् । कतिपय कुरामा उनका असहमति छन् तर धेरै कुरामा सहमति छन् ।
नेपालमा लेनिनका बारेमा त्यसरी राम्ररी लेखेको किताब आफूले पढ्न नपाएको लेखक सुवेदी बताउँछन् । मार्क्सका बारेमा पनि उनले लगातार चार वटा आलेख लेखेका थिए । वामपन्थी पार्टी एवं समूहले समेत उनलाई मार्क्सवाद पढाउन पटकपटक बोलाउने गरेका थिए । यसरी नेपाली कांग्रेसका नेताभन्दा बाहिर निस्किएर उनको चिन्तन माक्र्सवादीहरुको भन्दा अब्बल थियो । त्यसैले उनलाई मार्क्सवाद पढाउने गुरुभन्दा फरक पर्दैन । उनै गिरीको दोस्रो स्मृति दिवस आज विभिन्न कार्यक्रम गरी मनाइदैछ ।
रासस