राजेश कुमार कर्ण
स्मरण गरौं र आफैसँग प्रश्न गरौं । पौने चार सयवर्ष पूर्व सन्त सुरकिशोर दास र चतुर्भुज गिरी किन जनकपुरधाममा आएका होलान् । उहाँहरु स्वप्नदृष्टिकै कारण जनकपुरधाम आएका थिए होलान् । जनकपुरधाममा आउँदा जब शहरको विकास हुन थाल्यो, उहाँहरुको सपना के थियो होला ? कस्तो किसिमको शहर बनोस् । वास्तवमा सन्तहरुले सोचे जस्तो आधुनिक जनकपुरधामको निर्माण भयो त ? निर्माण नहुनुको कारण के के हुन सक्छ र को को जिम्मेवार हुन सक्छ ? यहीँबाट हामीले आफ्नो प्रश्नको उत्तर पाउँछौं र जनकपुरधामको भविष्यको परिकल्पना पनि प्रष्टसंग गर्न सक्छौं । कुनै पनि सन्तको चाहना आध्यात्मिक र सांस्कृतिक शहरको निर्माण हुन सक्छ, जहाँका नागरिकहरु स्वस्थ्य, खुशी र आनन्दित रहोस् ।
हुनत यो जनकपुरधाम र त्यो जनकपुरधाम एउटै हो कि होइन भन्ने तर्कहरु पनि नउठेका होइनन्, वर्तमान जनकपुरधाम र प्राचीन त्रेतायुगिन जनकपुरधाम एउटै थियो त ? केही विद्वान विदुषी र अनुसन्धानकर्ताहरुले जनकपुरधामको खोजी अझै गर्दैछन् । प्राचीन जनकपुरधामको अवस्थिति र त्यस बेलाका अवशेषहरुसँग मिल्ने पुरातात्विक प्रमाणहरु हामीसँग छैन । जनकपुरधामको चर्चा विभिन्न प्राचीन ग्रन्थहरु वृहदारण्यकोपनिषद्, याज्ञवल्क्य संहिता, वृहदविष्णु पुराण, मिथिला महात्म्य सहितका विभिन्न ग्रन्थहरुमा पाइन्छ । त्यसैले यो स्थल ऋषिमुनिहरुको तपोस्थल मात्र नभई शास्त्रार्थ र सभ्यताको केन्द्र पनि रहेको प्रष्ट हुन्छ ।
त्यसैले हामी आफूलाई त्रेतायुगिन जनकपुरधामकै वासीको रुपमा प्रस्तुत गर्न गर्व गर्दछौं र भन्छौं हाम्रो यहि जनकपुरधाम प्राचीन त्रेतायुगिन जनकपुरधाम हो र गर्नु पनि पर्छ । यदि हामी प्राचीन जनकपुरधामप्रति गर्व गरी यहि जनकपुरधामलाई प्राचीन जनकपुरधामको रुपमा भन्ने हिम्मत गर्छौ भने त्यस बेलाका शीरध्वज जनक, अष्टावक्र, याज्ञवल्क्य जस्ता शास्त्रार्थ रुचाउने र शास्त्रार्थ गर्ने स्थल खोई त ? हाम्रो जनकपुरधाममा । त्यस्तै गौतम, कपिल, कनाद जस्ता विभिन्न दर्शनका प्रणेताहरु र पूर्वी दर्शन मध्ये ६वटा दर्शनको उत्पति स्थल यो जनकपुरधाम अर्थात् मिथिला क्षेत्रले अहिले कतिवटा दर्शन र सिद्धान्तहरु यो समाजलाई दिन सक्यो त ? के हाम्रो अधिकार छ ? कि हामी उहाँहरुकै सन्तति हौँ भन्नलाई ?
हामी त कुनै पनि विषयमा शास्त्रार्थ र बहस गर्नै जान्दनौ र आपूmलाई मपाईँ भन्नमै गर्व गर्छौ । शासन र शोषणको कारणले यस्तो पृष्ठभूमिलाई जन्म दिएको छ । त्यसलाई तोड्न सक्ने नयाँ शासन र शक्तिको श्रृजना गर्न सक्ने क्षमता हामीमा छ त ?
वास्तवमा हाम्रो जनकपुरधाम अध्यात्मको केन्द्र हुनुपर्ने हो, तर छैन । हाम्रो जनकपुरधाम दर्शनको केन्द्र र जनकपुरधाम प्राचीन मिथिलाको गौरवमय इतिहासको केन्द्र हुनुपर्ने हो तर छैन । अनि हामी जनकपुरधामलाई कस्तो बनाउने भनी परिकल्पना गर्दा यी कुराहरुलाई केन्द्रमा राख्ने कि नराख्ने ?
जब भविष्यको जनकपुरधामको परिकल्पना हुन्छ मेरो दिमागमा एउटा पूर्ण अध्यात्मिक शहरको प्रतिबिम्ब र झलकहरु आउन थाल्छ । जुन झलक सन्तहरुले परिकल्पना गरेको सम्भाला अर्थात् साँग्रिला, ज्ञानगञ्ज शहरको परिकल्पना जस्तै छ । यसको वर्णन केही पुराणहरु समेतमा छ जहाँ विष्णुको दशौं अवतार कल्कि अवतारको चर्चा गरिएको छ । जनकपुरधाम त्यस्तै भई दिएको भए कस्तो हुन्थ्यो । त्यो शहर जसले आधुनिकताको परकाष्ठालाई छोई सकेको छ । जहाँ वृक्षहरु प्राण दाता र अन्न दाता हुन् । मानव जातिले वृक्षहरुको संरक्षण र पोषण गर्ने कार्य गर्ने गर्दछ भने वृक्षहरु प्राणीहरुको संरक्षण र पोषणको कार्य गर्दछ । हुनत त्यहाँ कोही एक अर्काका शत्रु छैनन्, तर त्यहाँ शास्त्र र शस्त्रका ज्ञाताहरुको अभाव छैन । प्राणीहरु एक आपसमा मित्रवत रुपमा बस्ने, प्रेम र आनन्दलाई बाँड्ने र भावी सन्ततिका लागि कार्य गर्ने तथा अनुसन्धानमा व्यस्त समेत रहने शहरको परिकल्पना गर्न सकिन्छ र यस्तै परिकल्पना ज्ञानगञ्ज र सम्भालाका पनि छ । वास्तवमा यो कुरा गर्दा अलि कन्फ्युजन पक्कै भएको होला । तर त्यो कन्फ्युजनलाई आधुनिक डिजिटल र एआईसँग फ्युजन गरेर हेर्न सकिन्छ । अहिले विश्वव्यापी रुपमा भईरहेको परिकल्पनाको शहरको स्वरुप पनि त त्यस्तै हो नि त? तर हाम्रो परिकल्पनामा योग, साधना र समाधीयुक्त आध्यात्मिकता पनि छ ।
यहाँलाई ठ्याकै भन्दा एउटा यस्तो स्मार्ट शहर जसले पूर्खाको गौरवलाई सम्हाल्दै भविष्यको खुशीका लागि प्राणीहरुको बीचको सहअस्तित्व विश्रृंख्लित हुन नदिई डिजिटल, एआई, एजिआई जस्ता आधुनिक टेक्नोलोजिहरु तथा विभिन्न डाइमेन्सनमा प्रवेश गर्न सक्ने यन्त्रहरुको विकासित शहर जनकपुरधामलाई बनाउन सकिन्छ त ? सोच्दा अतिमहत्वाकांक्षा र हुनै नसक्ने कुरा भन्न सकिन्छ । त्यसैले अहिले तत्कालका लागि जनकपुरधामको विकासलाई कहाँबाट शुरु गर्ने भन्नेतर्फ सोच्नुपर्ने हुन्छ ।
वास्तवमा जनकपुरधाम प्राचीन मिथिलाको राजधानीको रुपमा विकसित गर्न चाहन्छौं भने केही कुराहरुको शुरुवात गर्नै पर्ने हुन्छ र त्यसका लागि बुँदागत रुपमा केही सुझावहरु राख्न सकिन्छ ः
१. जनकपुरधामको नियमित सरसफाई गरी धुलो र फोहरमुक्त शहरको रुपमा परिणत, उचित ढल निकास व्यवस्थापन
२. जनकपुरधामको प्रत्येक आवास स्थलमा आवश्यकता अनुसारको वोटविरुवाको अनिवार्य रोपन र संरक्षण
३. सडकको दुबै छेउमा अनिवार्य वृक्षारोपण र संरक्षण
४. जनकपुरधामलाई शैक्षिक तथा स्वास्थ्य हवको रुपमा विकास
५. राजर्षिजनक विश्वविद्यालयलाई शास्त्रार्थ र दर्शन सृजनाको केन्द्रको रुपमा विकास
६. यहाँका मठमन्दिरहरुलाई ट्रष्टमा परिणत गरी मन्दिरहरुको संरक्षण सम्बद्र्धन र पवित्रताप्रति आमनागरिकको सजगता ।
७. बहुचर्चित जनक दरबारको निर्माण र ऐतिहासिकताको संरक्षण र प्रदर्शन
८. भाषा, साहित्य, कला संस्कृतिको सही विकासको लागि साहित्यकार र कलाकारहरुको स्वरोजगारको व्यवस्था ।
९. यहाँका कला, संस्कृतिको संरक्षण, सम्बद्र्धन र छुट्टा–छुट्टै संग्राहलयको निर्माण
१०. खेलकुदका लागि खेल मैदान र रंगशालाको निर्माण
११. जनकपुरधामलाई आईटीको केन्दको रुपमा विकास….. आदि आदि ।
यी सबै चर्चा उपचर्चा भई रहेका विषयवस्तु र सोचहरु पनि जनकपुरधामको विकासका लागि महत्वपूर्ण कुरा हो । तर एउटा कुरामा दृढ हुन जरुरी छ, जनकपुरधामलाई सन्तहरुको सपना र परिकल्पना अनुकूल बनाउने हो भने यो जनकपुरधामलाई वैष्णवी क्षेत्रको रुपमा विकसित गर्नुपर्ने हुन्छ र त्यसका लागि परिक्रममा क्षेत्रभित्रको जनकपुरधामका लागि एउटा परिकल्पना गरिनुपर्छ भने परिक्रमा क्षेत्र बाहिरको लागि बेग्लै परिकल्पना । हामीभित्र आएका विकार भावहरुको परित्याग एक दिन वा एक वर्षमा हुँदैन, यसको लागि वर्षोवर्ष लाग्न सक्छ र यो एउटा पुस्ताले अर्को पुस्तालाई हस्तान्तरण गर्दै जाँदा कयौं पुस्ता पश्चात सन्तहरुले परिकल्पना गरेको जनकपुरधामको निर्माण हुन सक्छ हामी रहे नरहे पनि हाम्रा सन्ततिहरु त्यो शहरमा रहन सक्छ र एउटा उत्कृष्ट शहर जुन पूर्खाहरुको ज्ञान र उत्कृष्टताको हस्तान्तरणको जगमा बसेको शहर हुन्छ र त्यस शहरमाथि सधैंका लागि हाम्रा सन्ततिले गर्व गर्न सक्छ । तसर्थ जनकपुरधामलाई कस्तो बनाउने भन्ने प्रश्न पटकपटक गर्नुपर्छ अनि सन्तहरुको सद्इच्छालाई बुझ्नुपर्छ र यसको लागि कहाँबाट शुरुवात गर्ने र कसरी शुरुवात गर्ने र कसले सुरुवात गर्ने प्रश्न त हुन सक्छ तर कस्तो जनकपुरधाम निर्माण गर्ने भन्ने कुरा आँखा बन्द गरेर आफ्नो शहरको परिकल्पना गरेमा अधिकांश व्यक्तिहरुको परिकल्पना मिल्न सक्छ र हाम्रो शहरको नक्सा र मार्गचित्र प्रष्ट हुन्छ ।