नेपाल संवत्को भ्रम निवारण




November 12th, 2023

पर्दाभित्र मान्छे छ भनेर थाहा भए पनि को मान्छे छ थाहा नभए झैँ पर्दाले छेकिएको नेपाल संवत्को पनि वास्तविक स्वरुप थाहा नभएर अनेकौं अडकलबाजी मात्र गर्दै आएको पाइन्छ। यस्तो अड्कलबाजी एउटा÷दुईवटा मात्र होइन, अनगिन्ती छन्। तीमध्ये मुख्य मुख्य केही यहाँ औँल्याउन खोजिएको छ।

नेपाल संवत्को नामकरण नेवारले गरेको होइन 

कतिपय स्वदेशी तथा विदेशी लेखक तथा इतिहासकारहरुले विनाप्रमाण नेपाल संवत्लाई नेवार संवत् भनेर लेखी दिए। वास्तवमा यो एक प्रकारको बाक्लो पर्दा भन्न सकिन्छ। शुरुमा नेपाल संवत् केवल संवत् मात्र भनेर प्रचलन हुन आयो। लिच्छवीकालमा चलेको संवत् पनि यस्तै गरी संवत् मात्र भनेर प्रचलन भएको अभिलेखहरुबाट स्पष्ट हुन्छ। 

नेपाल संवत् १४८ पुग्दा अष्टसाहश्रिका प्रज्ञापारमिता ग्रन्थ लेखिंदा नेपाल संवत्सर भनेर उल्लेख गरियो। संस्कृत भाषामा लेखिएको उक्त ग्रन्थकार नेवारै हो भन्ने प्रमाण छैन। नेपाल संवत्सर भन्ने शव्द पनि नेवारी शब्द होइन। नेपाल भन्नाले नेवारसहित अरु सकल जातजातिको देश हो। यी सकल जातजातिले अपनत्व गरेको हुनाले नेपाल संवत्सर कहलिएको हो। यो प्रज्ञापारमिता कलकत्तामा बस्ने एसके सरस्वती भन्ने व्यक्तिको सङ्ग्रहमा छ भनी धेरै लेखकहरुले उल्लेख गर्ने गरेका छन्।

राष्ट्रिय अभिलेखालयमा रहेको शिव धर्मशास्त्र राजा रुद्रदेवको पालामा श्री रामाद्वहय भन्ने व्यक्तिले संवत् २९० मा लेखेको भनी दिइएको छ। यसमा संवत् २९० लाई नेपाल संवत्सर २९० भनेर उल्लेख गरेका छन्। यसमा पनि राजा रुद्रदेव र ग्रन्थका लेखक श्रीरामाद्वहय भन्ने व्यक्ति नेवारै हो भन्ने प्रमाण छैन। नेपाल संवत्सर शब्द पनि नेवार शब्द होइन। 

एक शैवाचार्य श्रीधरराज गुरुणाले लेखेको एउटा सन्दर्भ लुसियानो पेतेकले उल्लेख गरेका छन्। त्यसमा संवत् ३०४ लाई नेपाल देशीय संवत् भनेर उल्लेख गरिएका छन्।  शैवाचार्य श्रीधरराज गुरु नेवार थियो भन्ने प्रमाण छैन। यदि उनी नेवार भए नेपाल देशया संवत् ३०४ भनेर लेख्दथ्यो होला।  यसमा संस्कृतमा नेपाल देशीय संवत् भनेको त्यो बेला सकल नेपालीले अपनत्व गरेको भएर नै नेपाल देशीय भनेको भन्ने स्पष्ट हुन्छ। 

संवत् ३६६ मा राजा अभय मल्लको पालामा लेखिएको एक सन्दर्भमा नेपाल देशीया भिलिख्यमान ३६६ भनेर उल्लेख छ। राजा अभय मल्ल नेवार थिए भन्ने पनि प्रमाण छैन र नेपाल संवत्लाई जनाउने विशेष वाक्यांश नेवारी भाषामा छैन। यसले पनि सम्पूर्ण नेपालीले अपनत्व गरेको नेपाल संवत् भएकोले यो विशेषण दिइएको हो भन्ने स्पष्ट छ। 

संवत् ५०६ मा राजा जयस्थिति मल्लको पालामा लेखिएको एक सन्दर्भमा नेपालिक अब्द श्रीमान् नेपालिक संवत्सर ५०६ भनेर उल्लेख गरिएको छ। राजा जयस्थिति मल्ल नेवार थिए भन्ने कुनै प्रमाण छैन। नेपाल संवत््को यो लामो विशेषण संस्कृत भाषामा छ नेवारी भाषामा होइन।

संवत् ५२६ को पाटन सुन्धाराको राजा धर्म मल्लको शिलालेखमा नेपाल संवत्लाई श्रीवर्षः नैपालिकः श्रेयोस्तु संवत् ५२६ भनेर उल्लेख गरिएको छ। राजा धर्म मल्ल नेवार नै थिए भन्ने प्रमाण पनि छैन। त्यतिबेला राष्ट्रिय भाषा नेवारी हुन सक्ला तर राजा नेवार हुँदैमा सकल प्रजा नेवार नै हुन जान्छ भन्ने प्रमाण पनि छैन। यदि नेपाल संवत्को यति लामो विशेषण नेवारी भाषामा नभई संस्कृतमा छ। वास्तवमा नेपाल संवत् तात्कालीक समयमा सकल नेपाली जातजातिको साझा संवत् थियो भन्ने कुरामा विवाद छैन।

संवत् ७९० को रानीपोखरीको चारसुरमा रहेको राजा प्रताप मल्लको देवनागरी लिपिको शिलालेखमा शिलालेखको पाठ लेख्ने पण्डित कुनैमा श्रीकृष्ण मिश्र छ भने कुनैमा वशिष्ठ शर्माको नाम उल्लेख छ। यसमा राजा प्रताप मल्लले देवनागरी लिपि र नेपाली भाषा प्रयोग गरेका छन्। यसरी भाषा प्रयोगको आधारमा राजा नेवारै हो पनि भन्न मिल्दैन र खस नै हो पनि भन्न मिल्दैन। यसमा नेपाल संवत्लाई केवल संवत् मात्र भनिएको छ। साथमा नेपाल संवत्सँग ८०२ वर्ष अन्तर रहेको लिच्छवी संवत् १५९२ समेत उल्लेख गरिएको छ। मल्लकालमा लिच्छवी संवत्लाई शाके संवत् भनेर प्रयोग गर्ने गरिएको छ। कतिपय लेखक तथा इतिहासकारहरुले शक संवत् भन्नु र शाके संवत् भन्नु एकै हो जस्ता भ्रम फैलाइआएको पाइन्छ। 

वास्तवमा यो एक प्रकारको गम्भीर भूल थियो भन्ने कुरा ती लेखक तथा इतिहासकारहरु अहिलेसम्म पनि सकार्ने त परै जावस्, महसुससम्म पनि गर्ने गरेको देखिएको छैन। हुन त यो महसुस गर्न कुनै गाहे कुरा पनि छैन। किनभने नेपाल संवत् शुरु हुँदा शक संवत् ८०१ कार्तिक र लिच्छवी संवत् ८०३ कार्तिक भएकाले नेपाल संवत् १ भनेको शक ८०१ को कार्तिकदेखि शक ८०२ को असोजसम्म रहने भएकाले शक र नेपाल संवत्बीचको अन्तर ८०० र ८०१ हुने निश्चित भएको हो।  

नेपाल संवत् पनि कार्तिकादी र लिच्छवी संवत् पनि कार्तिकादी भएकाले जसरी नेपाल संवत् कात्तिकदेखि असोजसम्म १ भए जस्तै लिच्छवी संवत् पनि ८०३ भएकाले यी दुईको अन्तर ८०२ हुने निश्चित भएको हो। यसैको परिधिमा रहेर तुलना गर्दा शक संवत् र लिच्छवी संवत् एउटै होइन भन्ने पनि स्पष्ट हुन्छ। अतः शक र शाके पनि एकै होइन भन्ने पनि स्पष्ट हुन्छ। यस प्रकार नेपालमा चलेको संवत्को विषयमा अनेकौं पर्दा हाल्दै आएकाले संवत्को कुरा आयो कि दिशा विहिन भएर दिग्भ्रमित हुने गरेको पाइन्छ। 

अहिले नेवार जातिभित्र पनि म्ह पूजा गर्न नपर्नेहरु धेरै छन्

पहिलो कारण नेपाल संवत्सित बालुवा सुन भएको कपोलकल्पित कथा जोड्न ल्याई दिएकाले नेवारमध्ये अधिकांशलेबाहेक यो कथालाई आत्मसाथ गरेनन्। तब ती समूह बाहेक अरुले यो संवत् हाम्रो पनि हो भनेर अपनत्व गर्न छोडी दिए।

दोस्रो कारण नेपाल संवत्लाई ऋणमुक्त संवत् भनी दिएकाले नेवारमध्ये केही समूहले बाहेक अरुले आत्मसात गर्न छोडी दिए। त्यसमाथि ऋणमुक्त भएको उपलक्ष्यमा म्हपूजा गरेको भन्न थाले। पछि नेवारमध्ये धेरैले नेपाल संवत्लाई मात्र होइन, म्ह पूजालाई समेत बहिस्कार गर्दै आए। अहिले नेवार जातिभित्र पनि म्ह पूजा गर्न नपर्नेहरु धेरै छन्। यसको मतलव जो ऋणी थिए ती समूह ऋण मुक्त भएको हुनाले ती सीमित वर्गले अपनत्व गरेको संवत् भनेर अर्थ लगाए। 

तेस्रो कारण नेपाल संवत्लाई शङ्खधरकृत नेपाल संवत् भनी दिएकाले नेवारमध्ये केही समूहले बाहेक अरुले आत्मसात गर्न छोडी दिए। वास्तवमा नेपाल संवत्लाई गौरवमय बनाउन शङ्खधर साख्वा नाम गरेको साहुले आफनो अपार सम्पत्ति उत्सर्ग गरी धेरैको ऋण मुक्त गराई दिए।  नेपाल संवत्को नयाँ वर्ष लागेको उपलक्ष्यमा ऋण मुक्त कार्यक्रम गरेको कुरालाई उल्टोपारी ऋणमुक्त गरेर नेपाल संवत् शुरु गरेको भनेर अर्थ लगाए। 

चौथो कारण शङ्खधर साख्वालाई बालुवा सुनमा परिणत भएको कपोलकल्पित कथाको एक मुख्य पात्र बनाए। मल्लकालमा बालुवा सुनमा परिणत भएको कथाको कुनै नामोनिशान केही पनि छैन। राणाकालमा रचना भएको भाषा वंशावलीलगायत केही वंशावलीले यो कथालाई बडो मलजल गराई दिएपछि इतिहास भनेको के हो रु इतिहासका स्रोत प्रमाण भनेको के हो रु त्यो केही नबुझने सीमित नेवार समुदायले बाहेक अरुले यो कथालाई आत्मसात गर्न छोडी दिए। 

केही समूह मल्लकालको शिलालेखमा पनि शङ्खधरको नाम देखियो भनेर मिथ्या अफवाह फैलाउन भरमग्दुर प्रयास गर्दै आएको पनि देखा परेको छ। उनीहरुको हेतुमा नेपाल संवत् ऋणमुक्त संवत् नै हो र शङ्खधरकृत नेपालसंवत् नै हो भन्ने प्रयासमा जुटी आएका छन्। वास्तवमा उनीहरुको यो दुष्प्रयास सूर्यलाई हातले छेके जस्तै मात्र हो। किनभने नेपाल संवत् ८२९ को अभिलेखलाई एकातिर मिल्काएर त्यसलाई ८२७ को कृत्रिम अभिलेख तयार गरेर मिथ्या प्रचार गर्दै आएको रहस्य अहिले उद्घाटन भइसकेको छ। 

निष्कर्ष

समग्रमा भन्नुपर्दा नेपाल संवत्को विषयमा यस्ता अनेकौं अनेक जाल प्रपञ्च रचना गर्दै आएको र यो संवत्  सीमित नेवार समुदायको एकलौटी संवत् भन्न भनाउन खोजिएका छन्। वास्तवमा नेपाल देश सम्पूर्ण नेपालीको देश हो। मल्लकालसम्म यो नेपाल संवत् सम्पूर्ण नेपालीको साझा संवत् भएर रहे। पछि राजाको वंश परिवर्तन भएसँगै नेपाल संवत्लाई अनेकौँ मिथ्या सन्दर्भ जोडेर ओझेलमा पार्ने प्रयास जारी रहे। अफसोचका साथ भन्नु पर्दछ कि नेवार समुदायले जसरी हुन्छ नेवारको संवत् भन्न भनाउन बडो लालायित देखाई आए। नेवारबाहेकका अरु समुदाय चाहिँ झन्झन् नेपाल संवत्लाई आफ्नो पनि हो भन्ने सोच विकास गर्नेतिरभन्दा पर पन्छिनेतर्फ उन्मुख हुँदै आए। आज आएर नेपाल संवत्ले नचाहँदा नचाहँदै यो दुर्गति भोग्दै आउनुपरेको छ।

(लेखक इतिहास तथा पुरातत्वविद् हुन्।) (रासस)