वर्षायाममा जताततै पानी र हरियाली देखिन्छ । यही कारणले गर्दा कतिपयको यो मनपर्ने सिजन हो पनि हो । तर, वर्षायाममा मानिसलाई लामखुट्टेले निकै नै सताउने गरेको हुन्छ । गर्मी शुरू हुनेबित्तिकै लामखुट्टेको आतंक बढ्दै जान्छ ।
यी लामखुट्टे डेंगु, मलेरियाजस्ता प्राणघातक रोगको कारण बन्छन् । कतिपयको यसबाट मृत्यु समेत हुने गर्छ ।आफूलाई सुरक्षित राख्न लामखुट्टेको टोकाइबाट बच्नु महत्त्वपूर्ण छ। त्यसकारण मानिसहरूले प्रायः लामखुट्टेलाई भगाउने प्रयास गर्छन् ।
विज्ञान र प्रविधिको विकासमा निकै फड्को मारिसकेको मानव समुदायले के यो लामखुट्टेलाई सधैंका लागि पृथ्वीबाट भगाउन सक्छ ? यदि त्यसो गर्ने हो भने के असर होला ? विश्वभर लामखुट्टेका ३ हजारभन्दा बढी प्रजाति रहेको बताइन्छ । संसारका यी सबै लामखुट्टे निर्मूल भए के होला ? लामखुट्टेको विषयमा लामो अध्ययन गरेका अमेरिकी विशेषज्ञ डा. फिल लोनिबसका अनुसार संसारभरका लामखुट्टे एकैपटक मासिएमा त्यसको ‘साइड इफेक्ट’ मानव समुदायलाई पनि पर्नेछ ।
लोनिबसका अनुसार जीवजन्तुको रगतमात्र होइन, बोटबिरुवाको रस पिएर लामखुट्टे जीवित रहन्छ । त्यसका कारण बिरुवाको परागकण फैलिन्छ र फूल फलमा परिणत हुन्छ । यो लामखुट्टेको एउटा महत्त्वपूर्ण काम हो ।
यसबाहेक लामखुट्टे प्राकृतिक खाद्य चक्रका लागि पनि महत्त्वपूर्ण छन्। धेरै चराचुरुङ्गी र चमेरोले लामखुट्टे खान्छन् । साथै, माछा र भ्यागुताहरूले पनि लामखुट्टेको स्ल्यागलाई आफ्नो खानाको रूपमा प्रयोग गर्छन् ।
लामखुट्टेलाई एकैपटक मास्ने हो भने त्यसले इको सिस्टमलाई नै प्रभावित पार्ने उनको भनाइ छ ।
यद्यपि लामखुट्टे नहुँदा संसार नै चल्दैन भन्नेचाहिँ होइन । कतिपय वैज्ञानिकहरू लामखुट्टेलाई निर्मूल पार्ने हो भने अन्य कुनै जीव प्राकृतिक खाद्य शृंखलामा जोडिन सक्ने बताउँछन् ।
पृथ्वीको विकास हुँदा धेरै प्रजाति लोप भइसकेकाले लामखुट्टे लोप हुँदैमा संसार बर्बाद नहुने उनीहरूको तर्क छ ।
तर, लेनिबस भने यसमा फरक धारणा राख्छन् ।
लामखुट्टे लोप भइसकेपछि त्यसको स्थान लिने अन्य प्रजातिले पनि यस्तै रोग नफैलाउलान् भन्न नसकिने उनको तर्क छ । लामखुट्टेलाई प्रतिस्थापन गर्ने जीव लामखुट्टेजत्तिकै वा अझ बढी खतरनाक हुन सक्ने तर्क उनले गरे ।
वैज्ञानिकहरूले लामखुट्टेका सबै प्रजाति एकैपटक नष्ट गर्ने गरी कुनै अनुसन्धान अगाडि बढाएका छैनन् ।
तर, एडिसलगायत रोग फैलाउने प्रकृतिका लामखुट्टेको अनुवांशिक परिवर्तन गरेर सामान्य बनाउन सकिन्छ कि भन्नेमा भने अनुसन्धान हुँदै आएको छ ।