मणिलाल विश्वकर्मा
लहान, १० मंसिर । कथित बोक्सी, धामी, टुनामुना, तन्त्रमन्त्र, झारफुक वा अन्य कुनै माध्यममार्फत् बोक्सीको आरोप लगाउने कार्य कानुनी रुपले बन्देज छ तर ग्रामीण क्षेत्रमा अझै असहाय, निर्धाहरुलाई कथित बोक्सा बोक्सीको आरोपमा शारीरिक, मानसिक यातना दिने क्रम रोकिएको छैन । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका २ जगतपुरका शारीरिक अपांगता भएका ४२ वर्षीय ओमप्रकाश चौधरीलाई कथित बोक्साको आरोपमा बुधबार अपरान्ह निर्घात कुटपिट भएको छ ।
कुटपिटबाट देब्रे कान, गर्धन, पिठ्युँमा चोटपट लागेका चौधरी बुधबार साँझ लहानस्थित रामकुमार शारडा उमाप्रसाद मुरारका प्रादेशिक अस्पतालमा भर्ना भई उपचारपछि बिहीबार अपरान्ह घर फर्किएका छन् । ‘शारीरिक अपांगता भएको भाईलाई कथित बोक्साको आरोपमा आफ्नै खलकका दाजुभाईले लाठी, मुक्काले कुटपिट गरेपछि देख्नेहरुले छुट्याएछन्’ अस्पतालमा चौधरीको कुरुवा बसेकी दिदी चन्दरदेवी चौधरीले भनिन् ‘भाइलाई आफन्तको छोरा मोटरसाइकल दुर्घटनामा खुट्टा भाँचिएको, बिरामी भएर मृत्यु भएकी बृद्धालाई टुनामुना गरेको जस्ता आरोपमा पटक पटक कुटपिट हुँदै आएको थियो ।’
छलफल छ भन्दै बोलाएर कुटपिट
‘भाईटिकाको दिन परेकाले घरमै बसिरहेका बेला कान्छा काका विशेश्वर चौधरीले नातामा आाफन्त पर्ने परियाग चौधरीको घरमा बोलाएर लगेपछि बुर्सीमा बस्न दिए’ उनले भने ‘आफन्त गुद्री चौधरी, सोनेलाल चौधरी, नेपाली चौधरी आइसकेका रहेछन्, त्यसपछि परियागले काकालाई नै टुनामुना गरेर बिरामी बनाएको भन्दै गालीगलौज गर्न थालेपछि प्रतिवाद गर्दा नजिकै रहेका नेपाली चौधरीको हातमा रहेको लाठी खोसेर उनका छोरा रामभगतसहितले कुटपिट गरे ।’
‘आफूमाथि अनाहकमा कुटपिट भएको विषयमा समाजलाई बोलाएर छलफल राख्छु भन्दा आफन्तको झगडामा बाहिरकालाई नबोलाऔं भन्दै गाउँमा मिल्न दवाव दिएका छन्’ उनले भने ‘परियागीकी श्रीमती बविता चौधरीलाई बिरामी बनाएको, स्थानीय बृद्धा भिनवतिया चौधरीको चार वर्षअघि मृत्यु हुनुमा टुनामुना गरेको, नेपालीको हातखुट्टाको जोर्नी दुख्ने रोग र उनको छोराको सात वर्षअघि टुनामुना गरेर मोटरसाइकल दुर्घटनामा खुट्टा भाँचिएको जस्ता मिथ्या आरोप लगाए ।’
शारीरिक अपांगता भएपनि चार छोराछोरी, श्रीमतीसहित छ जनाको हातमुख जोड्न गाउँघरमा जनमजदूरी गर्दै आएको चौधरी बताउँछन् । ‘शारीरिक अपांगता भएकाले क श्रणीको कार्डवापत् गाउँपालिकामार्फत् पाउने सामाजिक सुरक्षा भत्ता, मजदूरी गरेर आधा पेट खाएर भएपनि दुई कोठाको पक्की घर बनाएँ’ उनले भने ‘त्यसपछि त मलाई देख्ने बित्तिकै बोक्साको आरोप लगाउँदै आएका थिए ।’ छलफलका लागि बोलाएर बुधबार कुटपिट गरेपछि साँझपख परियाग विराटनगरतिर हिंडेको उनले बताए ।
जनप्रतिनिधिदेखि प्रहरीसम्म बेखवर सखुवानन्कारकट्टी गाउँपालिका २ का वडाध्यक्ष तनुकलाल यादवले बोक्सी मन्त्र, टुनामुना प्रयोग गरेको आरोपमा कसैमाथि शारीरिक आक्रमण गर्न नहुने बताए । ‘त्यसमा पनि शारीरिक रुपले अपांगता भएका व्यक्तिलाई कुटपिट गर्नै हुँदैनथ्यो’ वडाध्यक्ष यादवले भने । शारीरिक अपांगता भएका चौधरीमाथि भएको कुटपिटको बारेमा आफूसहित वडाका जनप्रतिनिधिलाई जानकारी नभएकाले घटनाको विषयमा बुझ्ने उनले बताए ।
इलाका प्रहरी कार्यालय लहानका प्रमुख प्रहरी नायव उपरीक्षक भोलाकुमार भट्टले घटनाको विषयमा कुनै सूचना नभएको जानकारी दिंदै मातहतको प्रहरी युनिटमार्फत् बुझ्ने उल्लेख गरे । ‘अहिलेसम्म घटनाको विषयमा कतैबाट पनि कुनै सूचना पाएको छैन’ नयाँ पत्रिकासँग उनले भने ‘के भएको हो, बुझ्छौं ।’