

एजेन्सी ।
भारतको उत्तर प्रदेशको गोरखपुरमा एउटा अचम्मको घटना सार्वजनिक भएको छ । जहाँ बिहेका क्रममा बेहुली नगद र गरगहना लिएर भागेकी छन् ।
बेहुलीसँगै उनकी आमा पनि विवाहस्थलबाट बेपत्ता भइन् । यसपछि बेहुला कुर्छन् तर बेहुली फर्किनन् ।
भारतीय सञ्चारमाध्यमका अनुसार घटना गोरखपुर खजनी क्षेत्रको हो । जहाँ ४० वर्षीय किसान आफ्नो दोस्रो विवाहको अनुष्ठान पूरा गरिरहेका थिए । सीतापुरको गोविन्दपुर गाउँका बासिन्दा उनकी पहिलो श्रीमतीको केही समयअघि मृत्यु भएको थियो । त्यसपछि उनले ३० हजार रुपैयाँ दिएर मध्यस्थकर्ताको सहयोगमा दोस्रो बिहेको चाँजोपाँजो मिलाएका थिए ।
बेहुलाले विवाहअघि बेहुलीलाई साडी र गहना दिएका थिए । बिहे खर्च पनि बेहुलाले नै बेहोरेका थिए ।
यसपछि बेहुली परिवारका सदस्यसँग विवाह गर्न मन्दिर पुगिन् । उनी आफ्नी आमासँग थिइन् । तर बिहेको संस्कार सुरु हुनेबित्तिकै शौचालय जाने बहाना बनाएर दुलही फरार भएकी हुन् । यसै क्रममा उनकी आमा पनि बेपत्ता भइन् ।
