Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

जिम्मी कार्टरः उनी राष्ट्रपति मात्र बनेनन्, नोबेल शान्ति पुरस्कार पनि पाए





भर्खर बिहे गरेका र नौसैनिक अधिकृतको शपथ लिएका जिम्मी कार्टरले १९४६ मा आफ्नो गृहनगर छाडेका थिए– नौसेनामा बढुवा हुँदा उच्च पदमा पुग्ने र संसार देख्ने सपना बोकेर।

तर, दशक नबित्दै उनी र पत्नी रोजलिन जर्जियाको प्लेन्स नामक आफ्नै गृहनगर फर्किनु पर्‍यो। कारण उनका बुबा बिते। जो किसान थिए।

त्यसरी फर्केपछि उनको एड्मिरल बन्ने सपना त तुहियो नै। तर, त्यसले उनलाई संसारको सबैभन्दा शक्तिशाली फौजको कमान्डर इन चिफ बन्ने बाटो खोलिदियो।

उनी राष्ट्रपति मात्र बनेनन्, नोबेल शान्ति पुरस्कार पनि पाए। पदबाट हटेपछि करिब ४० वर्ष विश्वभरका द्वन्द्व समाधान, मानवअधिकार संरक्षण र लोकतन्त्र प्रवर्द्धनमा भूमिका खेलेका उनी विश्व नागरिकका रूपमा पनि चिनिए।

अमेरिकाका ३९ औँ राष्ट्रपति तथा हालसम्मका राष्ट्रपतिमध्ये सबैभन्दा लामो उमेर बाँच्न सफल जेम्स अर्ल कार्टर जुनियरको आइतबार सय वर्षको उमेरमा निधन भएको छ।

उसो त एक कार्यकाल मात्र पदमा रहन पाएका कार्टर राष्ट्रपतिका रूपमा लोकप्रिय थिएनन्।

जर्जियाका गभर्नर रहेका उनी जेराल्ड फोर्डलाई पराजित गर्दै राष्ट्रपति बनेका थिए। अनुभवको कमीको असर उनको कार्यकालमा देखियो। उनले आर्थिक मन्दी र सामाजिक समस्याहरूसँग जुध्न पर्‍यो। त्यसमाथि आफ्नै पार्टीका सांसदहरूसँग उनको सम्बन्ध राम्रो रहेन। उनका कुनै पनि ठूला नीति तथा कार्यक्रममा ठूलो प्रगति हुन सकेन।

विदेश नीतिमा उनी सुरुमा सफल रहे। उनले इजिप्ट र इजरायलबीच शान्ति कायम गराए र पानामा नहर पानामालाई नै फिर्ता दिए।

तर, १९७९ मा इरानमा ५२ अमेरिक बन्धक बनाइएपछि उनी कमजोर हुन पुगे। र, दोस्रो पटकको चुनावमा उनी रोनाल्ड रेगनसँग पराजित भए।

ह्वाइट हाउसबाट निस्किँदै गर्दा कार्टर आधुनिक समयकै सबैभन्दा अलोकप्रिय राष्ट्रपतिमध्येमा थिए।

‘नोभेम्बर ४ मा अमेरिकी जनताले जसरी उनलाई व्यवहार गरे, इतिहासले त्यो भन्दा ज्यादा दया देखाउनेछ,’ अनेक राष्ट्रपतिका भित्रिया रहेका क्लार्क एम क्लिफोर्डले त्यतिबेला भनेका थिए, ‘तर, उनको कार्यकालमा महत्त्वपूर्ण केही भएन। उल्लेखनीय केही नै छैन।’

तर, बदानामी र हारका साथ राष्ट्रपति पद छाडे पनि त्यसलाई उनले आफ्नो विरासत बन्न दिएनन्।

पराजयपछि कार्टर प्लेन्स फर्किए। अनि १९८६ मा उनले कार्टर सेन्टर खोले। त्यस्तै जिम्मी कार्टर प्रेसिडेन्सियल लाइब्रेरी र म्युजियम पनि खोले।

बुस सिनियरको आग्रहमा कार्टरले १९८९ मा पानामामा चुनावको पर्यवेक्षण सुरु गरे। कार्टर पानामाका तानाशाह म्यानुएल नोरिएगाले गरेको धाँधलीको विपक्षमा उभिए। जसका कारण अमेरिकाका दुवै पार्टीले उनलाई साथ दिए।

फेरि उनले १९९० मा निकारागुआमा चुनाव निरीक्षण गरे। हारेका वामपन्थी नेता डेनियल ओर्टेगालाई उनले शान्तिपूर्वक सत्ता हस्तान्तरण गर्न मनाए।

यससँगै एक तटस्थ, सम्मानित अन्तर्राष्ट्रिय कूटनीतिज्ञका रूपमा उनको प्रतिष्ठा स्थापित भयो।

बिल क्लिन्टनले १९९४ मा उत्तर कोरियासँग आणविक सम्झौताको वार्ता गर्न उनैलाई गुहारे। यसको नतिजा राम्रो निस्किएन, क्लिन्टनको निर्देशन बेवास्ता गरेको आरोप उनीमाथि लाग्यो। तैपनि तत्काललाई सम्झौता भयो। पछि फेरि २०१० र २०११ मा उत्तर कोरियासँगको वार्तामा उनी फर्किए।

कार्टर नेपालको शान्तिप्रक्रियामा पनि सहभागी थिए। २००४ देखि नै कार्टर सेन्टर माओवादी र सरकारबीचको वार्तामा मध्यस्थताको प्रयासमा थियो। कार्टर सेन्टरले पहिलो र दोस्रो संविधान सभाको निर्वाचनमा पर्यवेक्षण गरेको थियो। कार्टर आफैँ २०१३ मा नेपाल आएका थिए।

कार्टर आफ्ना च्यारिटीका कार्यक्रममार्फत पनि चिनिए। यसमा उनको सबैभन्दा ठूलो सफलता ‘गिनी वर्म’ उन्मूलनका लागि उनले गरेको प्रयासमा पाए।

२०१६ मा दिमागमा क्यान्सर फैलिएको थाहा पाएपछि कार्टरले भनेका थिए, ‘आशा छ, मभन्दा पहिले अन्तिम गिनी वर्म मर्नेछ।’

त्यो सपना अझै पूरा भएको त छैन। तर, त्यसले सताउने मानिसहरूको संख्या निकै घटेको छ।

अझ उनको प्रमुख विरासत त पूर्वराष्ट्रपतिहरूलाई उनले देखाएको बाटो हो। दुनियाँको सबैभन्दा शक्तिशाली पद छाडेपछि कसरी जिउने, यो कला उनले आफूपछिका राष्ट्रपतिहरूलाई सिकाए। बुस सिनियर, बुस जुनियर, क्लिन्टन र बाराक ओबामाले समेत उनकै कदम पछ्याएका छन्। जसले ह्वाइट हाउसबाट निस्केपछि आफूपछिका राष्ट्रपतिहरूको दूतको भूमिका खेल्नुका साथै फाउन्डेसन स्थापना गरेर गैरराजनीतिक च्यारिटीका काम गरिरहेका छन्।

कार्टरको उदाहरणले अमेरिकी जनताले आफ्ना नेताहरूबाट गर्ने अपेक्षा नै बदलिएको छ।

कार्टरका चार सन्तान छन्ः ज्याक, चिप, जेफ र एमी। उनका ११ नातिनातिना र १४ पनातिपनातिनी पनि छन्।

७७ वर्षअघि उनीसँग विवाह गरेकी पत्नी रोजलिनको नोभेम्बर २०२३ मा ९६ वर्षको उमेरमा निधन भइसकेको छ।