

जनकपुरधाम ।
नेपाल पत्रकार महासंघ मधेस प्रदेश कार्यसमितिको पदस्थापन कार्यक्रम आज जनकपुरधाममा सम्पन्न भएको छ । कार्यक्रममा महासंघका नवनिर्वाचित पदाधिकारीहरूले औपचारिक रूपमा पदभार ग्रहण गरेका हुन् ।
मधेसको सांस्कृतिक पहिचान झल्किने पहिरन धोती, कुर्ता, र गम्छामा सुसज्जित भएर महासंघका पदाधिकारीहरूले पदभार ग्रहण गरेका हुन् । कार्यक्रममा मधेस प्रदेशका मुख्यमन्त्री सतिस सिंहको विशेष उपस्थिति रहेको थियो । पदस्थापन समारोहमा मुख्यमन्त्री सिंहले पत्रकारिताले समाजलाई सुसूचित गर्न मात्र नभई लोकतन्त्रलाई मजबुत बनाउन पनि महत्वपूर्ण भूमिका खेल्ने बताए । उनले मधेस प्रदेशमा पत्रकारिताको विकासका लागि प्रदेश सरकारले आवश्यक सहयोग र वातावरण सुनिश्चित गर्ने प्रतिबद्धता जनाए ।
महासंघका पदाधिकारीहरूले आफ्ना पदभार ग्रहण गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषणलाई प्राथमिकता दिने प्रतिवद्धता जनाएका छन् । कार्यक्रममा सहभागीहरुले मधेसको संस्कृति झल्काउने पोशाकले पत्रकारिताको माध्यमबाट सांस्कृतिक पहिचानलाई अझ प्रवद्र्धन गर्ने सन्देश दिएको बताए । कार्यक्रमले मधेस प्रदेशको पत्रकारिता क्षेत्रलाई थप उचाइमा लैजाने अपेक्षा गरिएको छ ।
