

जनकपुरधाम ।
नेपाल प्रिमियर लिग (एनपीएल)को विजेता टिम जनकपुर बोल्ट्स टिम आज साँझ जनकपुरधाम आउँदै छ ।
जनकपुर बोल्ट्स टिम आज साँझ जनकपुरधाम आउने र शुक्रबार रजौलस्थित रामजानकी अन्तर्राष्ट्रिय रंगशालाबाट खेलाडीहरूको सम्मानमा नगरपरिक्रमा गरिने जिल्ला क्रिकेट संघ धनुषाका अध्यक्ष शोभाकान्त पाण्डे (गुड्डु)ले जानकारी दिए । उनले जानकी मन्दिरमा ट्रफीसमेत प्रदर्शन गरिने बताए ।
खेलाडीहरूको सम्मानमा बाजागाजासहितको टोलि जनकपुरधाम विमानस्थल पुग्नेछ । जिल्ला क्रिकेट संघले टोलिलाई भव्य स्वागतसहित शुक्रबार नगरपरिक्रमा गराउने छ ।
जनकपुर बोल्ट्सले मधेश प्रदेशका सबै जिल्लामा विजयउत्सव पनि गर्ने भएको छ । विजयउत्सवको शुरूवात र अन्त्य जनकपुरधामबाटै गरिने छ । जनकपुर बोल्ट्सका प्रबन्ध निर्देशक निरज खतिवडाले मधेश प्रदेशको आठवटै जिल्लामा विजयउत्सव निकालिने जानकारी दिए ।
प्रबन्ध निर्देशक खतिवडाले शुक्रबार पहिलो दिन जनकपुरधामको जानकी मन्दिर, शनिबार दोस्रो दिन महोत्तरीको जलेश्वर, सर्लाही र रौतहट, आइतबार तेस्रो दिन बारा र पर्साको वीरगञ्ज र सोमबार चौथो दिन सिरहा र सप्तरीको राजविराजमा ट्रफि परेड गरिने जानकारीसमेत दिएका छन् ।

