

काठमाडौं ।
नेपाल प्रिमियर लिग एनपीएलको फाइनलमा पुग्नका लागि जनकपुर बोल्ट्सले ११९ रनको लक्ष्य पाएको छ ।
क्वालिफायर टु मा कर्णाली याक्सल पहिले ब्याटिङ गर्दै ९ विकेट गुमाएर ११८ रन बनाएपछि जनकपुरले मध्यम लक्ष्य पाएको हो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा कर्णालीका लागि गुल्सन झाले बनाएको २५ रन नै सर्वाधिक रह्यो । २० बलमा १ चौका र २ छक्का प्रहार गरेका गुल्सन मोहम्मद मोहसिनको बलमा बोल्ड आउट भए । ओपनर देव खनाल २४ रन बनाउँदै क्याच आउट भए। ३० बलमा ३ चौका र १ छक्का प्रहार गरेका देव जिम्मी निसमको बलमा आकाश त्रिपाठीको हातबाट क्याच आउट भए । अर्का ओपनर जयकिसन कोल्सावाला १ रन बनाउँदा ललित राजवंशीको बलमा हर्ष थाकेरबाट क्याच आउट हुन पुगे ।
तेस्रो नम्बरमा ब्याटिङमा आएका जिसन मक्सुद १२ रन बनाउँदा मोहम्मद मोहसिनको बलमा विकेट किपर लाहिरु मिलान्थाको हातबाट पेभेलियन फर्के । चान्डविक वाल्टन ११ रन बनाउँदा हर्ष ठाकेरको बलमा आसिफ शेखको हातबाट क्याच आउट भए ।
कप्तान सोमपाल कामी ५ रन बनाउँदै शेर मल्लको बलमा मोहम्मद मोहसिनको हातबाट क्याच आउट भए । अर्जुन घर्ती २ रनमा रनआउट हुन पुगे । जनकपुरका लागि ललित राजवंशी, मोहम्मद मोहसिन र जिम्मी निसमले समान २ विकेट लिए । शेर मल्ल र हर्ष थाकेरले समान एक विकेट झारे ।
पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्ससँग ८ विकेटले पराजित भएपछि जनकपुरले दोस्रो क्वालिफायर खेलिरहेको हो । कर्णालीले भने एलिमिनेटर खेलमा चितवन राइनोजलाई २१ रनले पराजित गर्दै दोस्रो क्वालिफायरमा स्थान बनाएको हो ।
कर्णाली याक्स बुधबार खेलिएको ‘एलिमिनेटर’ खेलमा बलियो प्रतिद्वन्द्वी चितवन राइनोजलाई २१ रनले हराउँदै दोस्रो ‘क्वालिफायर’ मा प्रवेश गरेको हो ।
जनकपुर बोल्ट्स भने बुधबार नै खेलिएको पहिलो ‘क्वालिफायर’ खेलमा सुदूरपश्चिम रोयल्ससँग आठ विकेटले पराजित भएपछि दोस्रो ‘क्वालिफायर’ खेल्न बाध्य भएको हो ।
दोस्रो ‘क्वालिफायर’ खेलमा विजयी हुने टोलीले फाइनलमा उपाधिका लागि पहिलो ‘क्वालिफायर’ को विजेता सुदूरपश्चिमसँग भिडन्त गर्नेछ ।
