

सुजीतकुमार झा
जनकपुरधाम ।
जाडो बढी रहेको बेला पशुमा लाग्ने निमोनिया रोगबाट बच्न सावधानी अपनाउन चिकित्सकहरुले सल्लाह दिएका छन् । खासगरी बाख्रा र भेडाका बच्चाहरुका साथै कुखुरामा बढी निमोनियाको लक्षण देखिने गरिएको पशु भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र धनुषाका प्रमुख डा. संजिवकुमार ठाकुरले बताए ।
चिसोका कारण बाख्राको फोक्सोमा संक्रमण भई श्वाँस फेर्न अप्ठ्यारो हुने अवस्थालाई निमोनिया भनिन्छ । प्रतिकूल चिसो मौसममा पाठापाठीमा यो रोग बढी देखा पर्दछ । डा. ठाकुरका अनुसार भेडा र कुखुरामा पनि त्यतिकै समस्या हुने गरेको छ ।
श्वास–प्रश्वासमा अवरोध आउने, नाकबाट सिंगान निस्किने, खोक्नेजस्ता लक्षणहरु निमोनियामा हुने गर्दछ । उपचारका रूपमा रोगी पशुलाई न्यानो र सुखा ठाउँमा राखी एभिल सुई लगाउने र एन्टीबायोटिक तथा खोकी कम गर्न क्याफलोन धुलो खुवाउनुपर्दछ उनको सुझाव रहेको छ ।
गाईबस्तुको गोठलाई न्यानो र व्यवस्थित बनाउन नसकिए पशुलाई निमोनियाको समस्या बढी देखिने गरेको उनले बताए । पशुले आहारा नखाने, ज्वरो आउने, झुसिलो हुने यसका लक्षण हुन् ।
उपचारपछि पशुलाई ठीक पनि गर्न सकिन्छ तर समयमा नै उपचार हुन नसके पशुको मृत्यु पनि हुन सक्ने उनले खुलाए । सावधानी नअपनाउँदा प्रत्येक वर्ष दर्जन भन्दा बढी बाख्रा, भेडा, कुखरा आदिको मृत्यु हुने गरेको डा. ठाकुरले बताए ।
अहिले कम संख्यामा निमोनियाको लक्षण देखिए पनि शितलहरी बढनासाथ एक्कासी यो संख्या बढने उनको कथन रहेको छ । कुखुरामा लाग्ने यसप्रकारको रोगलाई रानी खेत पनि भनिन्छ । रानी खेत हुँदा कुखुरामा श्वाँस फेर्न गाह्रो हुने, खोकी लाग्ने, हरियो रंगको पातलो सुली छेर्ने, पखेटा, खुट्टाको पक्षघात हुने, नरम पातलो फूलको बोक्रा हुने, गर्दन वटार्ने, फुल उत्पादन ५० प्रतिशतसम्म कम हुने । बथानमा मृत्यु दर ८० प्रतिशत हुन सक्छ ।
जाडोको मौसममा कोल्ड डायरियाले पशुलाई बढी असर गर्छ । दैनिक कोल्ड डाइरियाको गुनासो लिएर आउने किसानहरूको संख्या प्रत्येक वर्ष बढ्दै गईरहेको छ ।
यो मौसममा चिसोमा हुने ब्याक्टेरियाका कारण नै पशुमा डायरिया हुने गर्छ । त्यसैले जाडो मौसममा पशुलाई विषेश स्याहार गर्नु पर्छ । पशुचौपायाको जिउ तातो राख्न र तागतिलो बनाउन तातो खोले दिनु पर्ने पशु चिकित्सक बताउछन् । कोल्ड डायरियापछि पोथी पशुको सुतमा किरा पर्ने समस्या बढी देखिने गरेको छ ।
