

जनकपुरधाम ।
मधेसमा विवाहोत्तर सम्बन्धका कारण हत्याको क्रम बढेको प्रहरीको तथ्यांकले देखाएको छ । गत ४ वर्षको अवधिमा मधेसमा यस्ता विवाहोत्तर सम्बन्धका कारण श्रृंखलावद्ध हत्याका घटनाहरू भएका प्रदेश प्रहरी कार्यालय जनकपुरधामले जनाएको छ । कार्यालयका अनुसार आर्थिक वर्ष २०७८/०७९ देखि २०८१/०८२ को मंसिरसम्मको अवधिमा ३३ जनाको हत्या भएको हो ।
मधेस प्रहरीका अनुसार यस्ता घटनामा पुरुषको तुलनामा महिलाको धेरै मृत्यु भएको तथ्यांकले देखाउँछ । आर्थिक वर्ष २०७८/०७९ देखि २०८१/०८२ को मंसिरसम्मको अवधिमा ३३ जनाको मृत्यु भएकोमा २४ जना महिला रहेका छन् ।
प्रदेश प्रहरीले दिएको तथ्याङ्क अनुसार विवाहेतर प्रेम सम्बन्धका कारण मधेसमा गत वर्ष २०८०/०८१ सबैभन्दा बढी हत्याका घटना भएका छन् । यो वर्ष प्रदेशमा एक नाबालिकासहित ११ जनाको मृत्यु भएको छ । यसैगरी २०७८/०७९ मा सात घटना हुँदा ८ जनाको मृत्यु भएको छ । यो वर्ष पनि एक नाबालिकासहित ८ जनाको ज्यान गएको छ ।
यस्तै २०७९/०८० सालमा ६ घटनामा ६ जना तथा २०८१/०८२ को मंसिर मसान्तसम्म ८ घटना भएका छन्, जसमा पाँच महिला र ३ जना पुरुष गरी ८ जनाको हत्या भएको छ । रौतहट र पर्सामा मात्र यो चार वर्षमा क्रमशः सात÷सात जनाले ज्यान गुमाएको मधेस प्रहरीको तथ्याङ्क छ ।
