

सुजीतकुमार झा
जनकपुरधाम ।
मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान जनकपुरधाममा एमबीबीएसको पढाइको प्रकृया शुरु भएको छ । पूर्ण छात्रवृति पाएकाहरुको नामांकन सम्पन्न भइसकेको जानकारी प्रतिष्ठानका उपकुलपति डा. अंकुर साहले दिएका छन् । छात्रवृति अन्तर्गत ३८ जनाको नामांकन गरिएको छ । विदेशी विद्यार्थीहरु पनि प्रतिष्ठानमा पढन पाउने नियम रहेकाले त्यसको पनि नामांकन भएको छ ।
उपकुलपति डा. साहका अनुसार एकजना भारतीय छात्रको एमबीबीएसमा नामांकन गरिएको छ । विदेशी विद्यार्थीसँग ४५ लाख भारतीय रुपैया लिने गरिएको छ ।
छात्रवृति नपाएका विद्यार्थीको पनि नामांकन शुरु गरिएको छ । पुस २४ गतेसम्म नामांकनको समयावधि राखिएको छ । छात्रवृति नपाएका विद्यार्थीसँग प्रतिष्ठानले ४५ लाख नेपाली रुपैया लिने गरेको छ । उपकुलपति डा. साहका अनुसार ४५ लाख ३ स्टाँलमा बुझाउने नियम बनाइएको छ, जसले पैसाको विद्यार्थीलाई कठिनाइ नहोस ।
एमबीबीएसको पढाइ प्रादेसिक अस्पतालको पछाडीपट्टी एकेडमी कलेजमा हुनेछ ।
यसअघि सो भवनमा नर्सिगका छात्राहरु पढदै थिए । उपकुलपति साहका अनुसार शुरुमा पढाइ यही हुनेछ पछि जनकपुरधामको मुजेलिया स्थित मनिपालको भवनमा एमबीबीएसको पढाइ गरिने प्रतिष्ठानको योजना रहेको छ ।
अहिले मनिपालमा विपिएच र विएमएलटीको पढाइ भइरहेको छ ।
चिकित्सा शिक्षा आयोगले एमबीबीएस (चिकित्साशास्त्रमा स्नातक) पढाउन प्रतिष्ठानलाई ५० सिट प्रदान गरेको छ । प्रतिष्ठानले पाएको ५० सिटमध्ये ७५ प्रतिशत सिटमा विद्यार्थीको पूर्ण छात्रवृत्ति रहेको छ ।
पढाइका लागि शिक्षकहरुको नियुक्ति पहिला नै भइसकेको छ । फैक्लटी शिक्षकहरुको प्रशिक्षक प्रशिक्षण कार्यक्रम केही साता अघि सम्पन्न भइसकेको छ ।
एमबीबीएसमा पढने छात्राहरुका लागि एकेडमी कलेजकै छात्रावासमा राख्ने व्यवस्था गरिएको छ । छात्रहरुका लागि बाहिर छात्रावास राखिने जानकारी कुलपति साहले दिएका छन् ।
