Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

कृषि सहकारी संस्था ठगी प्रकरणमा लेखा समिति सभापतिकी पत्नी अञ्जलासहित २६ जनाविरुद्ध मुद्दा





विराटनगर ।

मोरङको धनपालथान गाउँपालिका–३ मा रहेको उमागौरी कृषि सहकारी संस्था ठगी प्रकरणमा संघीय संसदको सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलकी पत्नी अञ्जला कोइरालासहित २६ जना विरुद्ध मुद्दा दायर भएको छ ।

बिहीबार सरकारी वकिलको कार्यालयले लेखा समिति सभापति पोखरेलकी पत्नी कोइरालासहित २६ जनाविरुद्ध जिल्ला अदालत मोरङमा मुद्दा दायर गरेको हो । सहकारी ऐन २०७४ को दफा १२२ अनुसार २६ जनालाई प्रतिवादी बनाएको छ ।

सहकारीका वर्तमान अध्यक्ष धनपालथान–४ घर भइ विराटनगरको शान्ति चोक बस्दै आएका शम्भुप्रसाद रौनियार, सहकारीका उपाध्यक्ष कटहरी गाउँपालिका–२ का लक्ष्मण साह, सचिव धनपालथान–४ का आलम अन्सारी मियाँ र कोषाध्यक्ष धनपालथान–४ का शम्भुप्रसाद सिंहविरुद्ध मुद्दा दायर भएको छ ।

यसैगरी सञ्चालक समिति सदस्य जहदा गाउँपालिका–४ का आमोद मण्डल, धनपालथान–४ का रोशन राजवंशी तथा धनपालथान–२ का जितमान ठाकुर, लेखा समितिका संयोजक धनपालथानका विजयकुमार यादव तथा सदस्यहरु सुरेन्द्रकुमार राजवंशी र अशोककुमार विश्वासलगायत २६ जनालाई प्रतिवादी बनाइएको छ ।

लेखा समिति सभापति पोखरेलकी पत्नी कोइराला उमागौरी सहकारीको पूर्वसञ्चालक हुन् । सहकारी संकटमा परेपछि कोइरालाले ५ माघ २०७८ देखि सहकारीबाट राजीनामा दिएकी थिइन् ।

कार्यकर्ताले खोलेको सहकारीको सञ्चालकमा पोखरेलले नै पत्नीको नाम राखेका थिए । शिक्षण पेशामा रहेकी कोइराला सहकारीको कामकाजका बारेमा जानकार थिइनन् ।

सांसद पोखरेलको सल्लाहमा रौनियारले सहकारी सञ्चालन गर्ने गरेको उनी निकट स्रोत बताउँछ । तर पोखरेलले भने आफ्नी पत्नीलाई अध्यक्ष रौनियारले फसाएको दाबी गर्दै आएका छन् ।

सर्वसाधारणको बचत तथा ऋण अपचलन गरेपछि करिब डेढ वर्षयता सहकारीको कार्यालय बन्द छ । अनुसन्धानमा असहयोग गरेको भन्दै प्रहरीले गत १४ कात्तिकमा सहकारीको कार्यालयको ताला फोडेर कागजात जफत गरेको थियो ।

उमागौरीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट ११ करोड ५६ लाख ७८ हजार रुपैयाँ ऋण लिएको देखिन्छ । १८ करोड ४० लाख कुल पुँजी देखाइएको सहकारीको वासलात रिपोर्टमा १७ करोड ८७ लाख ४२ हजार कर्जा तथा सापट लगानी रहेको देखाइएको छ ।