

एजेन्सी ।
देश छाडेर भागेका सिरियाका राष्ट्रपति बसार अल–असद मस्को पुगेका छन् । रुसको राष्ट्रिय सञ्चार माध्यमका अनुसार उनलाई रुसले नै शरण दिनेछ । हायात ताहिर अल साम (एचटिएस)ले राजधानी दमासकस कब्जामा लिएपछि असद भागेर रुस गएका हुन् ।
आइतबार नै विद्रोही शक्ति एचटिएसका नेता अबु मोहम्मद अल जलवानी सार्वजनिक भए । उनले पुरानो दमासकसको उमायाद मस्जिदमा उपस्थित हुँदै कार्यक्रमलाई सम्बोधन गरे ।
सो सम्बोधनमा उनले सिङ्गो इस्लाम राज्यको जित भएको बताए । उनले सन् २०११ यता सहिद भएकाहरू प्रति सम्मान व्यक्त गर्दै देशलाई भ्रस्टाचार मुक्त बनाउन आफ्नो ध्यान केन्द्रित रहने बताए ।
त्यही मस्जिदमा बसार अल असद र उनका बाबु हफिज अल असदले प्रार्थना गर्थे । त्यो सम्बोधन भन्दा अघि नै उनी राजधानी दमासकस पुगेर मुख्य स्थान भ्रमण गरेका थिए । भागेर छिमेकमा पुगेका धेरैजना अहिले सिरियामा फर्कने क्रम जारी छ । अहिले संसार भरी रहेका सिरियाली समुदायका व्यक्तिहरू खुसी मनाइरहेका छन् ।
असद शासन अन्त्यको यो शृङ्खला एकदमै छोटो समयको विकासक्रम हो । २७ नोभेम्बरमा एचटिएसले आक्रमणलाई तीव्र बनाउने घोषणा गरेको थियो । उत्तर पश्चिममा सरकारले आम मानिसलाई यातना दिइरहेको बताउँदै सो घोषणा भएको हो । ३० नोभेम्बरको दिन एचटिएसका सेनाले एलेप्पोमा प्रवेश गरेको घोषणा गरेको थियो । ५ डिसेम्बरका दिन हामा नियन्त्रणमा लिइएको थियो । ६ डिसेम्बरका दिन राष्ट्रपतिको विरुद्धमा विद्रोहको सुरुवात भएको डेरा प्रान्तमा एचटिएसका सेनाको उपस्थिति भएको थियो ।
डिसेम्बर ७ देशको तेस्रो ठुलो सहर होम्स नियन्त्रणमा लिएको एचटिएसले जनाएको थियो । डिसेम्बर ८ को दिन विद्रोही सेनाले राजधानी दमासकस प्रवेश गरेको घोषणा गरेको थियो । दुई घण्टाको अन्तरालमा राजधानी कब्जाको घोषणा गर्दै एचटिएसले विजयोत्सव मनाइसकेको थियो ।
