

जनकपुरधाम ।
नेपाल प्रिमियर लिग (एनपीएल)मा लुम्बिनी लायन्स जनकपुर बोल्ट्ससँग १ रनले पराजित भएको छ ।
नेपाल प्रिमियर लिग (एनपीएल) मा लगातार चौथो हार व्यहोरेसँगै लुम्बिनी लायन्सको प्ले अफ सम्भावना कमजोर बनेको छ । एनपीएलको चार खेलमा पराजित लुम्बिनी अंकविहिन रुपमा तालिकाको पुछारमा छ ।
एनपीएलको चार खेल खेल्दा जित विहिन हुने लुम्बिनी एक्लो टोली हो । लुम्बिनीले अब एनपीएलमा तीन खेल खेल्न बाँकी छ । बाँकीका तीन खेलमा जित निकालेपनि लुम्बिनीको प्ले अफ पुग्ने सम्भावना कमजोर छ ।
यता लगातार चौथो जित दर्ता गरेको जनकपुरको भने प्ले अफ सम्भावना बलियो बनेको छ । ४ खेलबाट ८ अंक जोडेको जनकपुर अंकतालिकाको शीर्ष स्थानमा उक्लेको छ ।
आइतबारको पहिलो खेलमा जनकपुरले लुम्बिनीलाई १ रनले पराजित गर्दै लगातार चौथो जित निकालेको हो । जनकपुर बोल्ट्सले दिएको १ सय ३७ रनको लक्ष्य पछ्याएको लुम्बिनीले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ३५ रन मात्र बनाउन सक्यो ।
अन्तिम १ बलमा २ रन चाहिएको अवस्थामा सन्दीप जोरा क्याच आउट भएपछि लुम्बिनीले लगातार चौथो हार व्यहोरेको हो । लुम्बिनीका लागि कप्तान रोहित पौडेलले बनाएको ३५ रन नै सर्वाधिक रह्यो । ३८ बलमा ३ चौका सहयोगमा ३५ रन बनाएका रोहित हर्ष ठाकेरको बलमा जेम्स निसमको हातबाट क्याच आउट भए । टोम मोरिसले ३१ रन थपे । अर्जुन साउद २० रन बनाउँदा शेर मल्लको बलमा बोल्ड आउट भए ।
लुम्बिनीलाई रोक्न जनकपुरका हर्ष ठाकेरले ५ विकेट लिए। उनले आफ्नो स्पेलमा मात्र २३ रन दिए । किशोर महतो, ललित राजवंशी र शेर मल्लले समान एक विकेट लिए ।
त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा लुम्बिनीले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको जनकपुरलेक निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ३६ रनको योगफल तयार पारेको थियो ।
अघिल्ला तीन खेलमा कमजोर बलिङ र फिल्डिङका कारण हार भोगेको लुम्बिनीले तेस्रो खेलमा खराब ब्याटिङका कारण लय गुमाएको थियो । तर एनपीएलको चौथो खेलमा आएर केही हदसम्म लुम्बिनीको बलिङ देख्न पाइएको छ। एनपीएलमा लुम्बिनीले पहिलो पटक विपक्षीको ९ विकेट लिएको हो। तर फिल्डिङमा देखिएको समस्या भने खासै सुधार हुन सकेको छैन ।
एनपीएलमा डेब्यु खेल खेलिरहेका अविशेष गौतमले १३ औँ ओभरमा लगातार तीन विकेट लिर्दै लुम्बिनीलाई ठुलो राहत दिए । अविशेषले १३ औँ ओभरको दोस्रो बलमा २४ रन बनाएका लाहिरु मिलान्थलाई विकेट किपर अर्जुन साउदको हातबाट आउट गराए । सोही ओभरको चौथो बलमा हर्ष ठाकेरलाई १ रन बनाउँदा दुर्गेस गुप्ताको हातबाट क्याच आउट गराए ।
ओभरको अन्तिम बलमा जेम्स निसमलाई पनि विकेट किपरको हातबाट आउट गराउँदै लुम्बिनीलाई राहत दिएका थिए । पाचौँ ओभरमा बलिङमा आएका अविशेषले आफ्नो पहिलो ओभरमा नै १३ रन खान पुगे। पुरै चार ओभर बलिङ गरेका अविशेषले २० रन दिए ।
कप्तान रोहित पौडेल र सादविन जफरले समान दुई विकेट झारे । सन्दीप जोराले एक विकेट आफ्नो नाममा गरे । जनकपुरले पहिलो विकेटका रुपमा छैटौँ ओभरको तेस्रो बलमा ओपनर आशिफ शेखलाई गुमाएको थियो । १० बलमा २ चौका र १ छक्का हानेका आशिफ १६ रन बनाउँदा साद विन जफरको बलमा विवेक यादवको हातबाट क्याच आउट हुन पुगे ।
कप्तान अनिल शाह ४५ रन बनाउँदा सन्दीप जोराको बलमा विवेक यादवको हातबाट क्याच आउट भए। उनले ३९ बलमा १ चौका र ४ छक्का प्रहार गरेका थिए ।
कप्तान रोहितले १६ औँ ओभरको दोस्रो बलमा मोहम्मद मोहसिनले ३ र चौथो बलमा शेर मल्ललाई शुन्य रनमा नै एलबीडब्लु धरापमा पारेका थिए । शुभ कंसाकार २२ रनमा नटआउट रहे ।
