

जनकपुरधाम ।
आज हुने रामजानकीको विवाहका लागि जानकी मन्दिरकै प्राङ्गणमै विवाह मण्डप बनाइएको छ । जानकी मन्दिरको प्राङ्गणमा हुने वैवाहिक कार्यक्रमको समयमा हजारौँ श्रद्धालुहरुको सहभागिता रह्ने गर्छ । त्रेता युगको झल्को दिने विवाहपञ्चमी महोत्सव हेर्नका लागि देश विदेशबाट हजारौँ दर्शनार्थीहरु जनकपुरधाम समेत आई पुगेका छन् । यस पटक प्रत्येक ५ वर्षमा अयोध्याबाट आउने जन्ती पनि आएका छन् । अयोध्याबाट रामजन्म भूमि तिर्थ क्षेत्र ट्रष्टका महासचिव चम्पत राय, अयोध्याका मेयर गिरिश त्रिपाठी सहितका व्यक्ति जन्तीमा आएका छन् ।
जनकपुरधामस्थित जानकी मन्दिरको प्रांगणमा वैवाहिक कार्यक्रमको प्रत्येक वर्ष आयोजना हुने गर्छ । वैवाहिक कार्यक्रमका लागि छोरीको बिहेका लागि जसरी मण्डप सजाइन्छ ठीक त्यसरी नै राम जानकी विवाहका लागि समेत मण्डप सजाइन्छ ।
जनकपुरधामस्थित रहेको जानकी मन्दिरलाई मिथिला दरबारको रुपमा लिइन्छ भने राम मन्दिरलाई अयोध्या दरबारको रुपमा लिइन्छ । जानकी मन्दिर तथा राम मन्दिरलाई बेहुली झैँ विवाहपञ्चमीकालागि सिंगारिएको हुन्छ ।
जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवले छोरीको बिहेको आयोजन गरिरहेको जस्तै अनुभव गर्ने गरेको प्रतिक्रिया दिए । महन्थ दास बिहेमा माता सीताको पिता राजा जनकको भूमिकामा हुन्छन् ।
यता राम मन्दिरका महन्थ राम गिरी पनि राजा दशरथको भूमिका निर्वाह गर्न कुनै कसर बाँकी राख्दैनन् । उनी भन्छन्‘ सीताजस्तो बुहारी पाउने भएपछि हर्ष विभोर हुनु स्वभाविक नै हो ।’
त्रेता युगमा अयोध्यानरेश दशरथका पुत्र मर्यादा पुरुषोत्तम भगवान् श्री राम र मिथिलाका शिरध्वज राजर्षि जनककी पुत्री माता जानकीको विवाह भएको स्मरणमा साताव्यापी रुपमा मनाईने विवाहपञ्चमीको पहिलो दिन नगर दर्शन विधि गरिन्छ । जसमा राम लक्ष्मणको प्रतीक स्वरूप बनाइएको राम लक्ष्मणलाई जनकपुरधाममा नगरदर्शन गराइन्छ ।
विवाहपञ्चमी महोत्सवको दोस्रो आकर्षण भनेको फूलबारी लिला हो । फूलबारी लिलामा राम जानकीको पहिलो भेट गराइन्छ । त्रेता युगमा भगवान रामको पहिलो भेट भारतको गिरिजा स्थानमा रहेको गिरिजा माई मन्दिरको प्राङ्गणमा रहेको फूलबारीमा भएको रामायणमा उल्लेख पाइन्छ । यो विधि जानकी मन्दिरकै छेउमै रहेको विवाहमण्डपको फूलबारीमा गर्ने गरिन्छ ।
तेस्रो दिन धनुष यज्ञ सम्पन्न हुन्छ । माता सीताले शिवजीको पिनाक धनुषलाई बायाँ हातले उठाएर लिपपोत गरेको देखेर राजा जनक यो धनुषमा प्रत्यंचा चढाउन सक्ने बिर पूरुष संगै आफ्नो छोरीको बिहे गरि दिने वचन लिएर धनुष यज्ञको आयोजन गरिएको मानिन्छ । त्रेता युगमा सो धनुष यज्ञको आयोजन रंगभूमि मैदान १२ विघामा भएको जन विश्वास छ । सोही स्मरणमा धनुष यज्ञ विधि सम्पन्न गरिन्छ ।
महोत्सवको चौथो दिन राम मन्दिरको प्राङ्गणमा हजारोको श्रद्धालुका बिच तिलकोत्सव विधि सम्पन्न हुन्छ । तिलकोत्सवमा जानकी मन्दिरबाट राम मन्दिरमा पाहुर आउँछ । जहाँ जानकी मन्दिरका महन्थ र राम मन्दिरका महन्थबिच अंकमाल (समधि मिलन) हुन्छ । तिलकोत्सवमा सहभागी महिलाहरु रामजानकीको बिहेका गीतहरु गाउँछन् भने हास्यपरिहासको माहौल समेत हुन्छ ।
जसरी मिथिलामा समधीलाई विभिन्न किसिमको गाली गरिन्छ त्यसरी नै मन्दिरमा समेत दुबै पक्षबाट गाली सहित हस्सी ठट्टा गरिन्छ । राम मन्दिरका महन्थ राम गिरीका अनुसार समधी मिलन कार्यक्रममा जानकी मन्दिरका महन्थ, उत्तराधिकारी महन्थ, पूजारीहरु सहभागी हुने गर्दछन् भने राम मन्दिरबाट महन्थ स्वयम, गुठी संस्थानका प्रतिनिधि तथा स्थानीय युवा क्लबका प्रतिनिधिहरु सहभागी हुन्छन् ।
महोत्सवको पाँचौ दिन मटकोर विधि हुन्छ । मटकोर विधिमा माता जानकीको मटकोरका लागि मिथिलाका महिलाहरुले जनकपुरधामकै पवित्र सरोवर रहेको गंगासागर पोखरीबाट साँझको समयमा मिथिलाको परम्परा अनुसार गीतनाद गाउँदै माटो खनेर ल्याउने गर्दछन् । सोही माटोबाट विवाहकालागि वेदी तयार गरिन्छ ।
छैठौ दिन आज ऐतिहासिक रंगभूमी मैदानमा स्वयंवर विधि सम्पन्न हुनेछ भने आजै राती वैदिक परम्परा अनुसार वैवाहिक कार्यक्रम सम्पन्न हुनेछ । स्वयम्बरका लागि राम मन्दिर तथा जानकी मन्दिरको डोला रंगभूमि मैदान १२ बिघा पुग्ने गर्छ । स्वयम्बर पछि दूबै मन्दिरको डोला शोभा यात्रा गर्दै जानकी मन्दिर पुग्छ जहाँ वैवाहिक कार्यक्रम हुने गर्छ । आज राति हुने सो वैवाहिक कार्यक्रममा महिलाहरु विवाहका गीतहरु गाउने गर्छन् ।
विवाहपञ्चमीको सातौ दिन भारतको अयोध्याबाट जन्तीको रुपमा आएका साधु सन्तहरुलाई भोजन गराउँदै विदाई गरिन्छ । जसलाई रामकलेवा भनिन्छ । राम कलेवामा बेहुला पक्षबाट आएकाहरुलाई गाली गर्ने समेत परम्परा रहेको छ । मन्दिरका पूजारीहरु तथा मिथिलाका नारीहरु गीतकै माध्यमले गाली गर्ने गर्छन् । जसले अदभूत वातावरणको निर्माण गर्छ ।
