Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

उडनतस्तरीको चर्चा





के पृथ्वीजस्तै अन्य संसार र दुनियाँ छ, जहाँ हाम्रो ग्रहमा जस्तै जीवन र सभ्यता सम्भव भएको होला ? यी प्रश्नको जवाफ रहस्यमै सीमित छन् । तर, अनेक धार्मिक ग्रन्थ, लोककथा, विभिन्न सांस्कृतिक परम्परा, पुस्तक र फिल्ममा पृथ्वीबाहेक अन्य लोक र त्यहाँको जीवनबारे कल्पना गरिएको छ । हिन्दु धर्मग्रन्थका कतिपय प्रसंगमा त देवता र दानवले अहिलेका ‘साइ–फाइ’ फिल्मका चरित्रहरूको झल्को दिने गरी उडान गरेको पढ्न पाइन्छ ।

आधुनिक विज्ञानको विकासयता पनि त्यस्तै रहस्य र अन्योलको विषय बन्ने गरेको एउटा प्रसंग हो– ‘यूएफओ’ (अनआइडेन्टिफाइड फ्लाइङ अब्जेक्ट्स) अर्थात् अज्ञात उडनतस्तरी । दोस्रो विश्वयुद्धको समाप्तिपछि सुरु भएको अन्तरिक्ष यात्राको दौडले मानव–निर्मित पाँचवटा यानलाई सौर्यमण्डलको सीमाभन्दा बाहिर पुर्‍याएको छ । हरेक ग्रह र उपग्रहमा पनि जीवनको खोजी जारी छ । सौर्यमण्डलमा रहेका पृथ्वीबाहेक कुनै पनि स्थानमा जीवनको नामोनिसान भेटिएको छैन । तर, बारम्बार चर्चा र कौतूहलको विषय बन्ने गरेका यूएफओ

विभिन्न ठाउँमा उडिरहेका देखिने र कतिपय समयमा भिडियो वा तस्बिरमा समेत कैद भएका यूएफओहरू कहाँबाट आउँछन्, प्रयोजन के हो अथवा ती सत्य हुन् वा होइनन् भन्नेबारे पूर्ण जानकारी लिने मानव प्रयास अहिलेसम्म अधुरै छ । हामीले स्पेस क्राफ्टहरूमा सन्देश लेखेर पठाए झैँ कुनै अर्को ग्रह, अर्को दुनियाँका जीवनले पनि जीवन खोज्दै पठाएका यान वा संकेत नै पो उडनतस्तरी हुन् कि ! यो प्रश्न केबल ‘हाइपोथेसिस’ बनेर रहेको छ ।

यसै क्रममा अमेरिकी संसद्को एक उपसमितिमा गत साता भएको यूएफओ विषयक सुनुवाइ अहिले चर्चामा छ । संसद्को तल्लो सदन (हाउस अफ रिप्रिजेन्टेटिभ्स) अन्तर्गत गठित उपसमितिले पेन्टागनको अल–डोमेन एनोमली रिजोलुसन अफिस (आरो) का निर्देशक जोन टी कोसलोस्कीसँग यूएफओबारे विभिन्न विषयमा छलफल गरेको थियो । सो क्रममा कोसलोस्कीले कुनै अलौकिक जीव, गतिविधि वा प्रविधिबारे आफूहरूले ठोस प्रमाण फेला नपारे पनि आरोले केही अज्ञात खगोलीय वस्तु संकलन गरेको बताएका थिए ।

उनले यूएफओ वा यूएपी भनिने पृथ्वीभन्दा बाहिरबाट आएको अनुमान गरिएका अज्ञात वस्तुबारे आरोका पछिल्ला विश्लेषण संसदीय उपसमितिमा प्रस्तुत गरेका थिए । यस विषयमा वैज्ञानिक तर्क र तथ्यांक केलाउने कार्यलाई निरन्तरता दिने र त्यसबारे संसद् र नागरिकलाई पनि जानकारी गराउँदै लाने कोसलोस्कीले बताएका थिए । यही विषयमा दुई वर्षअघिको संसदीय सुनुवाइमा भने एक अवकाशप्राप्त अमेरिकी सैन्य अधिकारी र पूर्वकाउन्टर इन्टेलिजेन्स अधिकृतहरूले भने ‘ब्रह्माण्डमा हामी मात्रै एक्ला छैनौं’ भन्ने विषय अमेरिकी सरकारले दशकौंदेखि लुकाउँदै आएको अभिव्यक्ति दिएका थिए ।

कुनै बेला असत्य, अतिरञ्जित वा कन्स्पिरेसी’ ठानेर उति महत्त्व नदिइएको यूएफओसम्बन्धी विषय अहिले गम्भीरताका साथ अध्ययन हुन थालेको छ । यसमा अमेरिकी संसद्मा समेत पटक–पटक बहस हुनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ । सांसद र सैन्य अधिकारीहरूले अज्ञात र पृथ्वी बाहिरबाट उडेर आएको मानिएका वस्तुहरूबारे मूलधारमै बहस हुनुपर्ने भन्दै यसमा बृहत् पारदर्शिताको खाँचो औंल्याएका छन् । यसमा मिहिन अनुसन्धान आवश्यक रहेको उनीहरूको धारणा छ ।

सन् २००४ मा दक्षिणी क्यालिफोर्नियाको समुद्री तटनजिक अमेरिकी नौसेनाका पाइलटहरूको एक समूहले अनौठो वस्तु देखेको बताएका थिए । आफूहरूले त्यसलाई हेरिरहेको चाल पाएपछि प्रतिक्रियासमेत दिने गरी फनफनी घुम्नेजस्ता गतिविधि गरेको उनीहरूको भनाइ थियो । उनीहरूका अनुसार ‘टिक ट्याक’ नाम दिइएको त्यो वस्तु चिल्लो र दीर्घाकार आकृतिको थियो । उक्त अज्ञात वस्तु मानव–निर्मित सबैभन्दा उन्नत सैन्य विमानलाई पनि पछि पार्दै अत्यन्तै तीव्र र चुस्त गतिमा र भौतिक विज्ञानमा सम्भव नहुने शैलीमा समुद्रमाथि उडान गरेको प्रत्यक्षदर्शीहरूको भनाइ छ । अमेरिकी रक्षा मन्त्रालय, पेन्टागनले सार्वजनिक गरेको सो घटनाको भिडियोसमेत युट्युबमा राखिएको छ ।

उक्त वस्तुलाई प्रत्यक्ष देख्नेका वरिष्ठ पाइलट कमान्डर डेभिड फ्राभरले त्यो वस्तु यो संसारको नभएको बताउने गरेका छन् । उनको भनाइ विश्वास नगर्ने हो भने पनि राडार डेटा र इन्फ्रारेड फुटेजले समेत त्यो रहस्यमय घटना भएको पुष्टि गर्नुलाई अर्थपूर्ण ढंगले हेरिएको छ । धेरैले नजरअन्दाज गरे पनि यूएफओसम्बन्धी विषयमा अमेरिकी सरकार भने २० औं शताब्दीदेखि नै अध्ययन, अनुसन्धानमा लागेको थियो । सन् १९५२–६९ सम्म ‘प्रोजेक्ट ब्लु बुक’ अन्तर्गत अमेरिकी एयर फोर्सले १२ हजारभन्दा धेरै यस्ता घटनाको विवरण जम्मा पारेको न्युयोर्कर म्यागजिनको ‘हाउ द पेन्टागन स्टार्टेड टेकिङ यूएफओज सिरियस्ली’ समाचारमा उल्लेख छ ।

सन् १९७० को दशकमा आइपुग्दा भने अमेरिकी अधिकृतहरूको रुचि कम भएसँगै यूएफओहरू पपुलर कल्चर र सुडोसाइन्सको विषय बन्न पुगेको विज्ञहरूले औंल्याएका छन् । तर, सन् २०१७ मा द न्युयोर्क टाइम्सले यूएफओबारे अध्ययन गर्न पेन्टागनले गुप्त रूपमा ‘एड्भान्स्ड एरोस्पेस थ्रेट आइडेन्टिफिकेसन प्रोग्राम’ सञ्चालन गरिरहेको खुलासा गरेपछि यो विषय पुनः चर्चामा आउन थाल्यो । सन् २०२१ मा पेन्टागनले नै १४० भन्दा धेरै उडनतस्तरी आफ्ना सैनिक पाइलटहरूले देखेको दाबी गर्दै एउटा प्रतिवेदन पनि सार्वजनिक गरेको थियो । प्रतिवेदनमा सन् २००४ यता अज्ञात उडनतस्तरी देखिएका १४४ घटना भए पनि ती सबै के हुन्, व्याख्या गर्न नसकिने उल्लेख थियो । पछिल्लो समय अमेरिकी सरकारले यूएफओ हुँदै हुँदैन भनेर सिधै नकार्नुभन्दा यस विषयमा पर्याप्त वैज्ञानिक अध्ययन हुनुपर्ने धारणा राख्न थालेको छ ।

यूएफओबारे आफ्नै अध्ययन प्रतिवदेनसहित सन् २०२३ मा अन्तरिक्ष एजेन्सी नासाले पनि यो बहसमा प्रवेश गरेको थियो । यसमा पारदर्शिता र मिहिन ढंगले डेटा संकलन आवश्यक रहेको नासाको जोड छ । यूएफओसम्बन्धी अध्ययन र अनुसन्धानमा अमेरिकी सरकार र निकायसँगै बेलायत, फ्रान्स, ब्राजिल, चिली, अस्ट्रेलिया र क्यानडाले पनि विभिन्न अध्ययन गरेका छन् । बेलायती रक्षा मन्त्रालयले सन् १९८० को डिसेम्बरमा इंग्ल्यान्डको सुफोक जिल्लामा रहेको रेन्डलसाम जंगलमा देखिएको अनौठो प्रकाश र अज्ञात जीवसँग सैन्य जवानहरूको जम्काभेटबारे अनुसन्धान प्रतिवेदन सार्वजनिक गरेको छ ।

सन् १९९७ को फिनिक्स लाइट घटनामा अमेरिकी राज्य एरिजोनाका कैयौं सर्वसाधारण बासिन्दाले विशाल, भी आकारको अनौठो यान उडिरहेको देखेको बताएका थिए । त्योभन्दा अघि सन् १९८९–९० मा उन्नत उडान क्षमतासहितको त्रिकोण आकारको यानबारे पनि सैन्य अधिकारीहरूले रिपोर्ट गरेका थिए । पछिल्लो पटक सन् २०१४ र १५ को बीचमा यूएसएस थियोडोर रुजभेन्ट विमानका चालकहरूले इस्ट कोस्टमा आफ्नो प्रशिक्षण अभ्यासका क्रममा दैनिकजसो यूएफओहरूको सामना गर्ने गरेको बताएका थिए । यी सबै घटनामा यूएफओ भनिने वस्तुमा मानव–निर्मित उन्नत प्रविधिभन्दा उच्च क्षमता र भौतिक विज्ञानका नियमभन्दा अलग विशेषता रहेको प्रत्यक्षदर्शी एवं अनुसन्धाताहरूको भनाइ छ ।

यी अध्ययन र अनुभवहरूले यूएफओहरू फगत गलत पहिचान गरिएका वस्तु वा अफवाह हुन् भन्ने तर्कलाई नकार्छन् । तथापि, यस विषयमा तथ्यमा आधारित वैज्ञानिक अध्ययनको खाँचो देखिने विज्ञहरूको राय छ । यसै सन्दर्भमा हार्भर्ड विश्वविद्यालयका प्रतिष्ठित वैज्ञानिक अभि लोइब र स्टानफोर्ड विश्वविद्यालयका ग्यारी नोलानले छुट्टाछुट्टै अध्ययन अघि बढाएका छन् । लोइबले पृथ्वीबाहिरको प्रविधिसम्बन्धी प्रमाण खोजी गर्ने गरी ‘द ग्यालिलियो प्रोजेक्ट’को नेतृत्व गरिरहेका छन् । बायोमेडिकल रिसर्चर नोलानले भने यूएपीहरूसँग सम्बन्धित मानिएका भौतिक पदार्थहरूको अध्ययन गरिरहेका छन् । पृथ्वीका वस्तु तथा जीवमा हुने सामान्य आइजोटोपिक कम्पोजिसनको तुलनामा यूएपी भनिएका वस्तुहरूमा फरक कम्पोजिसन देखिएको दाबी गरिन्छ ।

नोलानले विभिन्न कार्यक्रमहरूमा एक्स्ट्राटेरेस्ट्रियल भनिने पृथ्वीबाहिरका जीव वा वस्तु पृथ्वीमा आएका मात्रै होइनन्, लामो समयदेखि यहीं छन् भनेर अभिव्यक्ति नै दिने गरेका छन् । ‘मान्छेहरूले एक्स्ट्राटेरेस्ट्रियल इन्टेलिजेन्स खोज्ने क्रममा वाउ सिग्नलको बारेमा कुरा गर्छन्, यो सिग्नल त मानिसहरूले लगभग नियमित देख्ने कुरा हो,’ नोलानले एक कार्यक्रममा भनेका थिए, ‘यो पृथ्वीमा पहिले नै भएको सञ्चार सिग्नल हो ।’ नोलानले इंगित गरेको ‘वाउ सिग्नल’ले सन् १९७७ मा बाह्य अन्तरिक्षबाट कैद गरिएको रेडियो तरङ्गको विस्फोटलाई जनाउँछ । त्यो संकेत सामान्य विकिरणभन्दा ३० गुणा बलियो भएकाले कतिपय खगोलविद्हरूले त्यसलाई जीवनको संकेत खोज्दै कुनै बाह्य ग्रहबाट आएको संकेत हुन सक्ने आकलन गरेका थिए । वैज्ञानिकहरूले पछि त्यो आवाज एकजोडी धुमकेतुबाट आएको हुन सक्ने विश्लेषण गरे ।

हालसम्म उपलब्ध वैज्ञानिक व्याख्याले यूएफओ ठानिएका कतिपय घटना मौसमसम्बन्धी ठूला बेलुन, गोप्य रूपमा उडाइएका सैन्य र जासुसी विमानहरू, अद्भुत वा अकल्पनीय वातावरणीय घटनाहरूसँगै दृष्टिभ्रम र उन्नत किसिमका ड्रोन प्रविधिहरू हुन सक्ने आकलन गरेका छन् । कतिपय अवस्थामा यस्ता दृश्य देख्ने चालकहरूले विमानहरूमा आएका प्राविधिक कमजोरीका कारण पनि त्यस्तो देखिएको हुन सक्ने दाबी समावेश छन् । तर, अन्य ग्रहबाट आएका प्राणीद्वारा अपहरण नै गरिएको सन् १९७५ मा अमेरिकाको एरिजोनामा भएको भनिएको घटना, जुन पछि ‘फायर इन द स्काई’ नामक चर्चित चलचित्रको विषय समेत बन्यो, जस्ता घटनाले यो ब्रह्माण्डमा हामीबाहेक अन्य प्राणी पनि भएको आशंकालाई बल दिन्छन् ।

यस्ता घटनाको वैज्ञानिक पुष्टि नभएको भए पनि अमेरिकी सरकारले यूएफओका बारेमा विभिन्न एजेन्सीबाट अध्ययन गराउन खर्च गरेको ५० मिलियन अमेरिकी डलरभन्दा बढीको रकम र बेलायतको अभिलेखालयमा उपलब्ध यसै विषयका २१५ क्लासिफाईड फाइलका ५६ हजारभन्दा बढी पृष्ठले यी हल्ला वा कस्न्पीरेसी मात्रै होइनन् भन्ने संकेत गर्छन् । कुनै बेला यूएफओ वा यूएपीहरूका विषयमा असाध्यै सन्देह गर्ने वैज्ञानिक समुदायसमेत अहिले केही हदसम्म आशावादी बनेको देखिन्छ ।

यूएफओको अनुसन्धानका लागि अचेल एआईजस्ता उन्नत प्रविधि प्रयोग गरी त्यस्ता वस्तु देखिएका स्थानहरूको प्याटर्न (ढाँचा) पहिचान र उच्च रिजोलुसनका डेटा कैद गर्न उन्नत इमेजिङ प्रविधिहरू समावेश गर्न थालिएको छ । धेरैजसो सन्दर्भमा यूएफओ ठानिएका वस्तु परिस्कृत ड्रोन, वायुमण्डलीय गतिविधि वा जासुसी क्यामरा ठहरिने भए पनि यस विषयको अध्ययनले भौतिकशास्त्र, एरोस्पेस प्रविधि र पृथ्वीबाहिर जीवनको सम्भावनाबारे नवीन दृष्टिकोण प्रदान गर्ने भएकाले अध्ययन जारी राख्नुपर्ने एकथरी मत छ ।

अन्तरिक्षमा बस्ती नै बसाउँछु भन्ने अमेरिकी धनाढ्य इलन मस्क नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नयाँ सरकारमा जाने तयारीमा रहेका बेला अमेरिकी सरकारको चासो अन्तरिक्ष खोजीमा अझै बढ्ने चर्चा छ । यस्तो बेला यूएफओका बारेमा छुट्टै शाखा बनाएर अध्ययन गर्नुपर्ने नासाको सिफारिस चाँडै कार्यान्वयनमा आउने अनुमान गर्न सकिन्छ ।