

काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले केही वर्ष अगाडी शिलान्यास गरेको सयौँ आधारभूत अस्पताल भवन अलपत्र अवस्थामा पुगेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ मंसिर १५ गते बालुवाटारबाट स्वीच थिचेर ३९६ आधारभूत अस्पतालको शिलान्यास गरेको झण्डै चार वर्ष पुग्दा पनि अहिलेसम्म अधिकांश अस्पतालको जग्गाको सुनिश्चितता पनि भएको छैन ।
सरकारले दुई चरणमा गरी ६५५ वटा स्थानीय तहमा आधारभूत अस्पताल बनाउने घोषणा गरेको थियो । जबकी दुई वर्षभित्रमा भवन निर्माण गरेर अस्पताल सञ्चालनमा घोषणा गरेपनि हालसम्म ४७ वटा मात्रै अस्पताल निर्माणको काम अन्तिम अवस्थामा पुगेको छ ।
२०७७ पुस १२ गते तत्कालीन स्वास्थ्यमन्त्री भानुभक्त ढकालले मन्त्रीस्तरीय निर्णय गर्दै थप २५९ अस्पताल बनाउने घोषणा गरे । स्वास्थ्य मन्त्रालयले त्यसपछि पनि दुई पालिकामा आधारभूत अस्पताल निर्माण गर्ने लक्ष्य लिएको थियो । अर्थ मन्त्रालयले स्रोत सुनिश्चित नगरी निर्णय भएको भन्दै ती अस्पताललाई रकम विनियोजन गर्न नसक्ने जनाएको छ ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले बजेट अभावका कारण २५० वटा अस्पताल निर्माण गर्न नसकिने अवस्था रहेको बताए । ‘कतिपय अस्पतालको जग्गा सुनिश्चित छैन, केहीको बजेट सुनिश्चित छैन,’ स्वास्थ्य मन्त्री पौडेलले भने, ‘२५० वटा हाराहारी अस्पताल बनाउन नसक्ने अवस्थामा छौं ।’
बनेका भवनमा पनि जनशक्ति राख्नका लागि केन्द्रिय सरकार पन्छिएको छ । स्थानीय तहले अस्पताल सञ्चालन गर्ननसक्ने अवस्था बन्दा अबौं लगानी खेर जाने देखिएको छ ।
मन्त्रालयको अनुसार ४७ वटा आधारभूत अस्पताल अन्तिम चरणको रहेको पहिलो चरणमा १० वटा अस्पतालबाट सेवा सञ्चालन गरिने तयारी छ । ‘पहिलो चरणमा १० वटा अस्पताल सञ्चालनमा ल्याउँदैछौं । यो आर्थिक वर्षभित्र ४७ वटा अस्पताल सञ्चालन गर्ने गरी तयारी बढाएका छौं,’ मन्त्री पौडेलले भने, ‘पूर्वाधार तथा उपकरण जडान गर्न मन्त्रालयकै आन्तरिक स्रोतबाट र दातृ निकायबाट पुर्याउँछौं । तर समस्या जनशक्तिकै हो । अहिले भइरहेको जनशक्तिलाई त्यहाँ पु¥याउन सक्ने अवस्था छैन ।’
