Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

जनकपुरधाम बजारमा सुन किन्ने उपभोक्ताको संख्या बढ्यो, पछिल्ला दुई दिनमा मात्र सुनको मूल्य प्रतितोला १८ हजार पाँच सयले घटेको छ

सुनको मूल्य एक्कसी घट्दा मध्यम व्यवसायी मार्कामा





सुजीतकुमार झा
जनकपुरधाम ।


जनकपुरधाम बजारमा गत दूईदिन देखि सुन किन्ने उपभोक्ताको संख्या निकै बढेको छ । दैनिक प्रायः जसो सुनको मूल्य बढन थालेपछि उपभोक्ताहरु सुन किन्न छाडेका थिए । कति व्यवसायी आफ्नो व्यवसाय छोडी पलायन हुन थालेका थिए ।
जनकपुरधाम सुनचाँदी व्यवसायी संघका अध्यक्ष पवनकुमार ठाकुरले मूल्य घटेपछि माग बढ्नु स्वाभाविक रहेको बताउनुहुन्छ । उहाँले अधिकांश सुन पसलमा दूई दिनदेखि राम्रै कारोबार भएको छ ।
‘बजार भाउ घटेपछि त्यसको प्रभाव स्वाभाविक रुपमा मागमा देखिन्छ । सस्तो भएपछि मान्छेले किन्न खोज्छन’, अर्का व्यवसायी वलराम साहले बताउनुभयो । सोमबार र मंगलवार बजारमा सुनचाँदीको राम्रो कारोबार भएको उनको भनाइ छ ।
पछिल्ला दुई दिनमा मात्र सुनको मूल्य प्रतितोला १८ हजार पाँच सयले घटेको छ । आइतबार प्रतितोला एक लाख ६७ हजार दुई सय रुपैयाँमा कारोबार भएकोमा सोमबार घटेर प्रतितोला एक लाख ५१ हजार तीन सय रुपैयाँ कायम भएको थियो । त्यस्तै मंगलवार सुन प्रतितोला दुई हजार छ सय रुपैयाँले घटेर एक लाख ४८ हजार सात सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी संघले जनाएको छ ।
सरकारले सुन आयातमा लाग्ने भन्सार दर आधा घटाएपछि त्यसको प्रभाव उपभोक्ता बजारमा देखिएको छ । गणपति ज्वेलर्स जनकपुरधामका सञ्चालक चंदन साहले हामी त मूल्य घटाउन सरकारसँग माँग गरिरहेको छु बताउनुभयो । बजार व्यवसायको जुन अवस्था छ यस्तो सरकारले संजिवनी दिनैपर्छ उहाँको कथन थियो ।
सरकारले सुनमा २० प्रतिशत भन्सार लगाउँदै आएकामा १० प्रतिशत विन्दु अर्थात् आधा घटाएर १० प्रतिशत कायम गरेको छ । उच्च भन्सार दरका कारण नेपाली बजारमा सुनको मूल्य उच्च रहेको र छिमेकी भारतमा सस्तो सुन पाइने भएपछि त्यहाँबाट अवैध आयात बढेको आशंकाबीच सरकारले भन्सार दर घटाएको हो ।
सुनचाँदी पसलहरुमा ग्राहकको भीड बढेसँगै कारोबार पनि बढेको व्यवसायीको भनाइ छ । पसलमा भीड देखिएको भए पनि कति कारोबार भयो भन्ने विवरण उपलब्ध रहेको छैन ।
सुन आयातको अधिकार वाणिज्य बैंकहरुले पाएका छन् । तर बजारमा माग नहुँदा यसअघि बैंकहरुले सुन आयात नगरेको व्यवसायीहरु बताउँछन् । बैंकहरुले आयात गरेका छैनन् । भन्सार घटेपछिको दरमा आयात गरेर सुन बजारमा पुग्न एक हप्ता समय लाग्छ’, जानकारहरु बताउँछन् । नेपालमा सुन आपूर्ति आयात तथा बिक्री वितरणसम्बन्धी व्यवस्था नेपाल राष्ट्र बैंकले मिलाउँदै आएको छ । सुनको बजार मूल्य निर्धारण भने महासंघमा रहेको मूल्य निर्धारण समितिले गर्ने गरेको छ ।
नेपाल राष्ट्र बैंकले जारी गरेको एकीकृत परिपत्र अनुसार सुन आयातसम्बन्धी हालको व्यवस्था हेर्दा निर्यातकर्ता तथा स्थानीय बिक्रेतालाई सुन उपलब्ध गराउन राष्ट्र बैंकले बैंकमा स्वर्णकोषको व्यवस्था गरेको छ । उक्त कोषमा रहेको सुनको मौज्दातबाट सम्बन्धित बैंकहरूले निर्यातकर्ता तथा विदेशी मुद्रा स्वीकार गर्ने इजाजत प्राप्त स्थानीय बिक्रेतालाई सुन बिक्री गर्ने गर्छन् । राष्ट्र बैंकले सुनको बिक्री मूल्य अमेरिकी डलरमा निर्धारण गर्ने गर्छ । जसकारण अमेरिकी डलरको मूल्य तलमाथि हुँदा त्यसको असर सुनको नेपाली मूल्यमा देखिने गरेको छ ।
राष्ट्र बैंकका अनुसार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा एक प्रतिशतभन्दा बढी घटबढ भएमा सोअनुसार समायोजन गरी कायम गरिएको सुनको संशोधित बिक्री मूल्यको जानकारी राष्ट्र बैंकले बैंकलाई गराउँदछ । बैंकहरूले राष्ट्र बैंकले निर्धारण गरेको मूल्यको आधारमा निर्यातकर्ता तथा स्थानीय बिक्रेतालाई सुन बिक्री गर्दछन् ।
बैंकहरूले यसरी स्वर्णकोषबाट बिक्री गरेको सुनको भुक्तानी अमेरिकी डलरमा राष्ट्र बैंकलाई गर्छन् । निर्यातकर्ता तथा स्थानीय बिक्रेतालाई स्वर्णकोषबाट सुन बिक्री गरेबापत सेवा शुल्कस्वरुप बिक्री गरेको सुनको मूल्यको शून्य दशमलव २५ प्रतिशत रकम नेपाल राष्ट्र बैंकले सम्बन्धित बैंकलाई उपलब्ध गराउँछ । बैंकहरूले निर्यातकर्तालाई सुनका गरगहना निर्यात गर्न प्राप्त अग्रिम भुक्तानी प्रमाणपत्रको आधारमा सुन उपलब्ध गराउँछन् । बैंकहरूले निर्यातकर्ता तथा स्थानीय बिक्रेतालाई न्यूनतम एक सय ग्राम र बढीमा १० ग्रामको गुणन खण्डले हुन आउने परिमाणमा सुन बिक्री गर्नुपर्ने व्यवस्था छ । वाणिज्य बैंकहरुले दैनिक २० किलोग्रामसम्म सुन आयात गर्न पाउने व्यवस्था छ ।
भन्सार विभागका अनुसार पछिल्लो पाँच वर्षमा मात्र १६ हजार नौ सय ४७ किलोग्राम सुन आयात भएको छ । चालु आर्थिक वर्षको चार महिनामा मात्र एक अर्ब ४२ करोड ७५ लाख २८ हजार रुपैयाँ बराबरको एक सय ३३ किलोग्राम सुन आयात भएको छ । जसबाट राज्यले २८ करोड ५५ लाख सात हजार रुपैयाँ बराबर भन्सार राजस्व प्राप्त गरेको देखिन्छ । गत आर्थिक वर्ष २०८०÷८१ मा २३ अर्ब ६५ करोड ३९ लाख १६ हजार रुपैयाँ बराबरका दुई हजार छ सय ५२ किलोग्राम सुन आयात भएको विभागको तथ्यांकमा देखिन्छ । जसबाट सरकारले तीन अर्ब ६४ करोड ८३ लाख रुपैयाँ बराबर भन्सार राजस्व प्राप्त गरेको थियो ।
अघिल्लो आर्थिक वर्ष २०७९÷८० मा २२ अर्ब ३५ करोड ४५ लाख ९१ हजार रुपैयाँ बराबरको दुई हजार नौ सय १७ किलोग्राम सुन आयात भएको देखिन्छ । जसबाट राज्यले दुई अर्ब ५३ करोड ८३ लाख ५८ हजार रुपैयाँबराबर राजस्व प्राप्त गरेको थियो । आर्थिक वर्ष २०७८÷८९ मा ३५ अर्ब ६१ करोड ९६ लाख रुपैयाँ बराबरको पाँच हजार ५३ किलोग्राम सुन आयात भएको थियो । उक्त वर्ष सुन आयातबाट सरकारले चार अर्ब २९ करोड ५० लाख ५६ हजार रुपैयाँ राजस्व संकलन गरेको थियो ।
आर्थिक वर्ष २०७७÷७८ मा तीन हजार नौ सय २५ किलोग्राम सुन आयात भएको थियो । उक्त आर्थिक वर्षमा २७ अर्ब ३४ करोड ३९ लाख ५२ हजार रुपैयाँ बराबरको सुन आयात हुँदा सरकारले तीन अर्ब ३३ करोड ५८ लाख रुपैयाँ राजस्व प्राप्त गरेको थियो ।
आर्थिक वर्ष २०७६÷७७ मा १३ अर्ब ४६ करोड पाँच लाख रुपैयाँ बराबरको दुई हजार चार सय किलोग्राम सुन आयात भएको थियो भने त्यसबाट एक अर्ब ५० करोड ७५ लाख रुपैयाँ बराबर राजस्व संकलन भएको थियो ।
एकातिर उपभोक्ताहरु पसलमा आउन थालेपछि व्यापारीहरु खुशी भएका छन् भने अर्कोतर्फ सुन घरमा राखेकाहरुलाई समस्या भएको छ । ‘एकैचोटी सरकारले मूल्य घटाइदिदा मध्यम व्यापारी निकै मारमा परेको जनकपुरधाम सुनचाँदी व्यवसायी संघका अध्यक्ष ठाकुरले बताउनुभयो । घरमा २०–२५ तोला राख्नेहरुलाई केही समस्या परेपनि पछि उपभोक्ताको आकर्षण बढेकाले केहीदिनमै मेकप पनि हुन सक्ने उहाँको कथन रहेको छ ।
वलराम ज्वेलर्सका सञ्चालक साहले पनि घाटा भन्दा व्यवसायीलाई दीर्घकालीन फाइदा भएको बताउनुभयो ।