Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

असिफ र अनिलको काँधमा जनकपुर बोल्टलाई मजबुत शुरुवात दिने जिम्मेबारी





जनकपुरधाम ।
नेपाल प्रिमियर लिग (एनपीएल)को अक्सनमा आठै टोलीले बोली लगाएका एकमात्र खेलाडी अनिलकुमार शाहलाई ‘लक्की ड्र’ मार्फत पाउने भाग्यमानी टोली हो, जनकपुर बोल्ट्स । नेपाली राष्ट्रिय टोलीका ओपनर आसिफ शेख मार्की प्लेयर रहेको जनकपुरले ‘लक्की ड्र’ मार्फत आसिफका ओपनर सारथि अनिललाई भित्रयाउन सफल भयो ।
मधेश प्रदेशको प्रतिनिधित्व गर्दै एनपीएलमा सहभागी भएको जनकपुरले दुई ओपनर आफ्नै प्रदेशको पाएको छ । यसबाहेक रुपेशकुमार सिंह र अरनिकोप्रसाद यादव पनि मधेश प्रदेशकै हुन् । मध्यम गतिमा बलिङ गर्ने रुपेश र मिडल अर्डरमा ब्याटिङ गर्ने अरनिकोले मधेशबाट घरेलु क्रिकेट खेल्दै आएका छन् ।
राष्ट्रिय टोलीबाट निरन्तर खेलिरहेका ललित राजवंशी पनि जनकपुरमा छन् । उनी सन्दीप लामिछानेपछि नेपालका अनुभवि स्पिनर हुन् । किशोर महतो, आकाश त्रिपाठी र हेमन्त धामीजस्ता बलरहरु टीममा छन् जसलाई राष्ट्रिय टोलीका फास्ट बलर करण केसी र सोमपाल कामीको विकल्पको रुपमा हेरिएको छ ।
किशोर अस्ट्रेलियामा घरेलु क्रिकेट खेल्छन् । आकाश र हेमन्त नेपाल ‘ए’ बाट खेलिरहेका छन् । हेमन्त यू–१९ टीमको कप्तान समेत हुन् । सुदूरपश्चिम प्रदेशबाट खेल्दै आएका शेर मल्ल जमेका स्पीनर हुन् । उनले नेपाल ‘ए’ र यू–१९ टोलीबाट खेलिसकेका छन् ।
बागमती प्रदेशबाट घरेलु क्रिकेट खेल्दै आएका शुभ कंसाकारले पछिल्लो समय उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । उनी टप अर्डरका ब्याटर हुन् । जनकपुरमा आवद्ध भएका तुलबहाुदर थापामगर चाइनाम्यान बलर हुन् ।
एनपीएलका लागि जनकपुरले ५ विदेशी खेलाडीलाई पनि अनुबन्ध गराइसकेको छ । जनकपुरमा अनुबन्ध हुनेमा पाकिस्तानका शोयब मक्सुददेखि न्युजिल्यान्डका जिमी निशम छन् । मिडलअर्डर ब्याटर शोयबले पाकिस्तानको राष्ट्रिय टीमबाट २६ टी–२०आई र २९ ओडीआई खेलेका छन् । उनले सन् २०२१ यता पाकिस्तानको राष्ट्रिय टोलीबाट खेलेका छैनन् । घरेलु क्रिकेट भने क्रमशः खेलिरहेका छन् ।
न्युजिल्यान्डका ब्याटिङ अलराउन्डर जिमी अनुभवी खेलाडी हुन् । उनले इन्डियन प्रिमियर लिग (आईपीएल) मा ५ भन्दा बढी टोलीबाट खेलिसकेका छन् । बायाँ हाते ब्याटर जिमी मध्यम गतिका बलरसमेत हुन् । उनले मिडलअर्डरमा ब्याटिङसँगै पार्टटाइम बलिङसमेत गर्दै आएका छन् । ३४ वर्षीय जिमीले टेस्ट क्रिकेटमा समेत राम्रो प्रदर्शन गर्दै आएका छन् । मक्सुद र निसमको उपस्थितिले जनकपुरको मध्यक्रम पनि निकै बलियो बनेको छ ।
जनकपुरमा आवद्ध अर्का खेलाडी हुन् पाकिस्तानका मोहमद मोहसिन । बलिङ अलराउन्डर २८ वर्षीय मोहसिन बायाँ हाते ब्याटर हुन् । उनले लेग–ब्रेक गुग्ली बलिङ गर्ने गर्छन् । घरेलु क्रिकेटमा मोहसिनले उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । ३० टी–२० खेलका उनले १७९ रनसँगै २२ विकेट लिएका छन् । उनले पाकिस्तान सुपर लिगसँगै क्यारेबियन प्रिमियर लिग पनि खेलिरहेका छन् ।
अमेरिकाबाट खेल्दै आएका लाहिरू मिलन्था पनि जनकपुरमा आवद्ध भएका छन् । विकेटकिपर ब्याटर मिलन्थाले श्रीलंकाको ‘ए’ टीम र इमर्जिङ टीमबाट समेत खेलिसकेका छन् । अहिले उनी अमेरिकामा क्रिकेट खेल्दै आएका छन् । ३० वर्षीय मिलन्था मिडलअर्डरमा ब्याटिङ गर्ने बायाँ हाते हुन् ।
जनकपुरमा आवद्ध हुने पाँचौं खेलाडी हुन् अमेरिकाका जोशुआ ट्रम्प । जोशुआ १९ वर्षीय युवा अलराउन्डर हुन् । उनी टेक्सास सुपर किंग्सबाट मेजर क्रिकेट लिग खेल्ने गर्छन् । उनले टप अर्डरमा ब्याटिङ गर्ने गर्छन् ।
यदि कुनै टीमको ओपनिङ जोडी भरपर्दो छ भने त्यो जनकपुर नै हो । पछिल्लो समय राष्ट्रिय टोलीबाट समेत ओपनिङ गरिरहेका आसिफ शेख र अनिलकुमार शाह टोलीमा हुँदा सम्भवतः जनकपुरले ओपनिङ जोडीमा खासै सोच्ने छैन । त्यसैकारण पनि जनकपुरले टपअर्डरभन्दा पनि मिडलअर्डरलाई ध्यानमा राख्दै विदेशी खेलाडी भित्राएको छ ।
जनकपुरको टपअर्डरमा आसिफ र अनिललाई अमेरिकाका युवा अलराउन्डर जोशआले साथ दिनेछन् । उनीसँगै नेपालका शुभ कंसाकार पनि रहनेछन् । मिडलअर्डरलाई शोयब, जिमी, लाहिरूले सम्हाल्नेछन् । उनीहरुलाई नेपालका अरनिको यादवले साथ दिनेछन् ।
बलिङतर्फ स्पीन बलिङको डिपार्ट ललितले सम्हाल्नेछन् । उनलाई पाकिस्तानका मोहमद, नेपालका रुपेश र तुलबहादुरले साथ दिनेछन् । फास्ट बलिङतर्फ भने किशोर, हेमन्त, आकाशसँगै जिमी र जोशआ रहनेछन् ।