

जनकपुरधाम ।
कक्षा ११ र कक्षा १२को छात्रवृति सम्बन्धि विवाद जनकपुरधाममा चलिरहेको समयमा सोको समाधानकालागि उपमहानगरले विद्यार्थीहरुलाई वार्ताकालागि बोलाएको छैन । बिहिबार मात्रै निजि विद्यालयका संगठनहरुसंग एक चरणको साकारात्मक वार्ता गरेको उपमहानगरले विद्यार्थीहरुसंग एक चरणको वार्ता गरेर पुनः छलफल गर्ने गरी बैठक सम्पन्न गरेको थियो । तर आफूहरुलाई वार्ताकालागि नबोलाइएको नेपाल विद्यार्थी(नेवि) संघ धनुषाका अध्यक्ष सुजीत यादवले जानकारी दिए ।
उनले निजि विद्यालयका संगठनहरुसंगको वार्ताबाट ठोस निश्कर्ष आएपछि मात्रै वार्ताकालागि बोलाउने जानकारी उपमहानगरबाट आएको मोडेलखबरसंगको कुराकानीमा बताए ।
निजि विद्यालयहरुसंग समन्वय नै नगरी कक्षा ११ र कक्षा १२का विद्यार्थीहरुको छात्रवृति सम्बन्धि सम्झौता गरेपछि निजि विद्यालयका संगठनहरु आन्दोलित भएका थिए भने नेवि संघ समेत सो सम्झौता कार्यान्वयनको माग गर्दै सडकमा उतरिएको थियो । निजि विद्यालय तथा विद्यार्थीहरुको आन्दोलनका कारण विद्यालयमा पठनपाठन बन्द भएपछि उपमहानगरले निजि विद्यालयका संगठनहरुलाई वार्तामा बोलाएको थियो । विद्यालयहरु तथा विद्यार्थीहरुको आन्दोलनका कारण जनकपुरधामका निजि विद्यालयहरु शुक्रबार पनि बन्द छन् ।
