

मधेशमा सत्ता गठबन्धनले जनमत पार्टी नेतृत्वको सरकारको काम सन्तोषजनक नभएको निश्कर्ष निकालेको छ । बिहीबार बसेको सत्ता गठबन्धनको बैठकमा सतीशकुमार सिंह नेतृत्वको सरकारले बजेट खर्च गर्न नसकेको, काम सन्तोषजनक नरहेको सत्ता गठबन्धनको बैठकबाट निश्कर्ष निकालिएको हो । सरकार प्रभावकारी काम गर्न सकिरहेको छैन ?, सरकारलाई गतिशिल बनाउन के गर्नुपर्छ लगायतका विषयमा जनमत पार्टीको संसदीय दलका नेता महेश यादवसंग मोडेलखबरकालागि समाचार संयोजक जयन्त ठाकुरले कुराकानी गरेका छन् ।
बिहिबार बसेको सत्ता गठबन्धनमा आवद्ध दलहरुको बैठक के विषयमा केन्द्रित थियो ?
हाम्रो दलले मधेस सरकारको नेतृत्व गरेको सय दिन पारेर गरेर अगाडी बढिसकेको छ । यद्यपि सरकारको काम सुस्त रहेको, विकासे आयोजनाहरु ओझेलमा रहेको, सरकारले जनतालाई अनुभूति हुने गरी काम गर्न नसकेको गुनासो आउन थालेपछि सोही विषयमा केन्द्रित रहेर हामीले छलफल गर्नकालागि सत्ता गठबन्धनमा आवद्ध दलहरुको बैठक डाकेका थियौँ । बैठकले सरकार जनताले सोचे अनुरुप गति लिन नसकेको र सुस्तगतिमा हिडिरहेको निश्कर्ष निकालेको थियो ।
सरकारको नेतृत्व अहिले यहाँकै दल जनमतले गरिरहेको छ, तपाई संसदीय दलको नेता पनि हुनु हुन्छ, तपाई पनि स्वीकार गर्नु हुन्छ सरकार सुस्तगतिमै चलिरहेको छ ?
सरकार पूरै सुस्त गतिमा चलिरहेको छ, सरकारले कामै गरेको छैन त्यस्तोे कुरा होइन । धेरै यस्ता कामहरु यो सरकारले गरेको जसको प्रभाव आउने दिनमा देखा पर्ने नै छ । जस्तै कर्मचारी सम्बन्धी ऐन यही सरकारले ल्यायो, खेलकुद सम्बन्धी ऐन लगायतका महत्वपूर्ण ऐनहरु यही सरकारले ल्याएको छ । ऐन कानून निर्माणमा यो सरकारले अग्रसरता देखाएकै हो । यद्यपि जनतालाई प्रत्यक्ष लाभ पुर्याउने काम गर्नमा यो सरकार चुकेको छ यो हामीले स्वीकार गर्नै पर्छ ।
सरकारको काम सुस्तगतिमा हुनुको कारण यहाँलाई के लाग्छ ?
यस्तो छ सरकारको प्रमुख र सरकारमा सहभागी मन्त्रीहरुबिच तालमेलको अभाव देखिएको छ । मन्त्रीहरुले जुन स्पीरिटमा काम गर्नुपर्ने हो त्यो स्पीरिटमा काम गर्न सकेका छैनन् । विगतका सरकारको ७ वर्षको कार्यकालबाट जनता आजित भई सकेका छ, जनताले यो सरकारले नयाँ जोश जागरका साथ काम गर्छ सोचेका थिए तर त्यस्तो हुन सकेन ।
यसको अर्थ मुख्यमन्त्रीलाई मन्त्रीहरुले टेरिरहेका छैनन ?
हो मन्त्रीहरुले मुख्यमन्त्रीलाई असहयोग गरिरहेका छन् । मन्त्रीहरुले असयोग गरिरहेका कारणले सरकारले सोचेअनुरुप काम गर्न नसकिरहेको पक्कै हो ।
यसले त सत्ता गठबन्धलाई नराम्ररी प्रभावित गर्छ नि ?
त्यसैले त हामी छलफलकालागि बसेका थियौँ । यदि मन्त्रीहरुले ठीक ढंगले काम गरेन भने कडा कदम चाल्नु पर्छ वा मन्त्री फेरबदल गर्नु पर्छ भने त्यसकालागि समेत हामी तयार हुनु पर्छ भन्ने विषयमा हामी एक मत छौँ । सत्ता गठबन्धनमा कुनै किसिमको आन्तरिक कलह छैन यसमा ढुक्क भएर बस्नुस ।
सरकारलाई गतिशिल बनाउन के गर्नु पर्छ यहाँको विचारमा ?
सरकारलाई गतिशिल बनाउनका लागि हामीले मुख्यमन्त्री मन्त्रीहरुसंग बसेर छलफल गर्नुका साथै चौमासिक गतिविधिको समिक्षा गर्ने हाम्रो सोच छ । त्यसपछि बाँकी रहेको समयमा कसरी अगाडी बढ्ने यसकालागि दलका नेताहरु मिलेर एउटा गाइडलाइन तयार पारेर सरकारलाई निर्देशन गर्ने हाम्रो योेजना रहेको छ ।
