

काठमाडौँ ।
कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई मङ्गलवार रुपन्देहीमा बयानका लागि ल्याइने भएको छ ।
२४ दिनदेखि सहकारीको रकम हिनामिना आरोपमा अनुसन्धानका लागि हिरासतमा रहेका लामिछानेलाई आइतबार कास्की जिल्ला अदालतले अनुसन्धान गर्न थप १३ दिन हिरासत राख्न अनुमति दिएको छ ।
सूर्यदर्शन सहकारीको रकम अपचलनमा पोखरामा अनुसन्धान गरिरहेको प्रहरीले त्यहाँ अनुसन्धान नसक्दै रुपन्देहीको सुप्रिम सहकारीमा भएको अपचलनको अनुसन्धान गर्न रुपन्देही प्रहरीले उनलाई ल्याउने तयारी गरेको हो । यसका लागि रुपन्देही अदालतबाट प्रहरीले अनुमति लिइसकेको छ ।
कात्तिक २ गतेदेखि सहकारी ठगी र संगठित अपराध कसुरमा कास्की प्रहरी हिरासतमा रहेका लामिछानेलाई रुपन्देही पठाउन प्रहरीले कास्की प्रहरीलाई पत्राचार गरिसकेको छ ।
रुपन्देही प्रहरी श्रोतका अनुसार कास्की प्रहरीसँगको समन्वयमा सोमबार विमानबाट भैरहवा ल्याइने तयारी गरे पनि विमानको समय नमिलेपछि मङ्गलवार ल्याइने भएको हो । रास्वपा स्रोतले पनि प्रहरीले रुपन्देही ल्याउने तयारी गरिएको सूचना पाए पनि औपचारिक जानकारी केही नआएको जनाएको छ ।
रुपन्देही प्रहरी प्रमुख रन्जित सिंह राठौरले लामिछानेलाई सोमबार साँझ रुपन्देही ल्याउने तयारी गरिए पनि साँझ पोखराबाट आउने विमान नभएकाले मङ्गलवार ल्याइने जनाएका छन् ।
