

जनकपुरधाम ।
तलब भत्ताको माग गर्दै सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका कार्यालयमा शिक्षक र कर्मचारीले अनिश्चितकालीन तालाबन्दी गरेका छन् ।
चालु आर्थिक वर्ष २०८१/०८२ को साउनदेखि हालसम्म तलब भत्ता उपलब्ध नगराएको भन्दै शिक्षक र कर्मचारीहरूले कार्यालयको मुख्य गेटमा तालाबन्दी गरेका हुन् । मेयर, उपमेयर, र प्रमुख प्रशासनिक अधिकृतसँग पटक–पटक मौखिक र लिखित रूपमा तलब भत्ताका लागि आग्रह गर्दा पनि सुनुवाइ नभएपछि बाध्य भएर तालाबन्दी गरेको आन्दोलन परिचालन समितिका संयोजक अशोक कुमार यादवले बताए ।
दशैं, तिहार र छठ जस्ता प्रमुख पर्वहरूमा पनि तलब भत्ता नपाउँदा शिक्षक र कर्मचारीहरुलाई परिवार पाल्न समेत कठिन भएको उनको भनाइ छ । शिक्षकहरूले गत कात्तिक ६ गते नगर प्रमुखलाई तलब भत्ताको मागसहित ज्ञापन बुझाउँदै ६ दिनको अल्टिमेटम दिएका थिए । तर, कुनै ध्यान नदिएपछि कात्तिक ११ गतेदेखि उनीहरुविद्यालय बन्द गरी धर्ना सुरु गरेका थिए ।
धर्ना पनि बेवास्ता भएपछि तालाबन्दीमा जान बाध्य भएको उनीहरुले बताएका छन् । यस नगरपालिकाको चालू आर्थिक वर्ष २०८१÷८२ को नगरसभा हुन नसक्दा कुनै आर्थिक कारोबार हुन सकेको छैन ।
