

काठमाडौँ ।
रााष्ट्रिय परीक्षा बोर्डले विगतको परीक्षामा ११ र १२ उत्तीर्ण हुन नसकेका झण्डै १४ लाख विद्यार्थीका लागि एकैपटक मौका परीक्षा दिन पाउने व्यवस्था गरेको छ ।
बोर्डले सूचना जारी गर्दै विगतका परीक्षामा सहभागी भएर उत्तीर्ण हुन नसकेका वा तोकिएको ग्रेड प्राप्त गर्न नसकेका २१ वर्ष पुराना परीक्षार्थीका लागि मौका परीक्षा दिन पाउने व्यवस्था गरिएको जनाएको छ ।
सूचनाअनुसार बोर्डबाट सम्बन्धन लिएर सञ्चालित शैक्षिक संस्थामा यसअघि अध्ययन गरेका तर परीक्षामा अनुत्तीर्ण वा अनुपस्थित भएका जतिसुकै पुराना विद्यार्थीले पनि मौका परीक्षा दिन पाउने छन् ।
बोर्डका परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माका अनुसार पहिलो पटक २०५६ सालमा परीक्षामा सहभागी भएकादेखि २०७७ सालमा सहभागी भएर अनुत्तीर्ण भएका परीक्षार्थीले मौका परीक्षा दिन पाउनेछन् । यो २१ वर्षको अवधिमा सञ्चालन गरिएको नियमित तथा मौका परीक्षामा सहभागी भएर पनि अनुत्तीर्ण भएका परीक्षार्थीको सङ्ख्या १४ लाख रहेको अनुमान बोर्डले गरेको छ ।
मौका परीक्षामा सहभागी हुन फाराम भर्ने परीक्षार्थीको सङ्ख्या हेरेपछि कहिलेदेखि मौका परीक्षा सञ्चालन गर्ने भन्ने विषयमा बोर्डले निर्णय गर्नेछ । १४ लाख विद्यार्थीले नै मौका परीक्षामा सहभागी हुन फाराम भरे भने चरणबद्ध रूपमा परीक्षा सञ्चालन गर्ने बोर्डको तयारी छ ।
राष्ट्रिय परीक्षा बोर्ड (तत्कालीन उच्च माध्यमिक शिक्षा परिषद्) ले २०५२ सालदेखि कक्षा ११ को पढाइ सुरु गरेको थियो । सुरुवाती तीन वर्षसम्म त्रिभुवन विश्वविद्यालयको तत्कालीन प्रवीणता प्रमाणपत्र तह प्रथम वर्ष र द्वितीय वर्षको पाठ्यव्रmममा आधारित भएर कक्षा ११ र १२ को पढाइ सञ्चालन गरिएको थियो ।
तत्कालीन परिषद्ले २०५६ सालदेखि भने आफ्नै पाठ्यक्रमबाट कक्षा ११ र १२ को पढाइ सञ्चालन गरेको थियो ।
२०५२ देखि २०५५ सालसम्मका विद्यार्थीले पनि मौका परीक्षा माग गरेर आए भने फेरि निर्णय गरेर मौका परीक्षाको व्यवस्था गरिने शर्माले बताए । बोर्डका अनुसार विगतमा परीक्षा दिएर अनुत्तीर्ण भएका तथा परीक्षामा अनुपस्थित भएका विद्यार्थी आउने वैशाखमा हुने परीक्षामा सहभागी हुन पाउने छन् ।
यस्ता विद्यार्थीलाई आगामी मङ्सिर २७ गतेभित्रमा आफूले अध्ययन गरेको शैक्षिक संस्थामा गएर परीक्षा फाराम भर्न पनि बोर्डले अनुरोध गरेको छ ।
कक्षा १२ का लागि रजिस्ट्रेसन नम्बरको सुरुका दुई अङ्क ५६ वा सोभन्दा बढी र ७७ वा सोभन्दा कम तथा कक्षा ११ का लागि ५६ वा सोभन्दा बढी र ७६ वा सोभन्दा कम भएकालाई अन्तिम एक पटकको मौका दिइने सूचनामा उल्लेख ।
