

एजेन्सी ।
भारतलाई घरेलु मैदानमै लगातार ३ टेस्ट मैचमा पराजित गर्दै न्युजीलैण्डले टेस्ट श्रृंखलामाथी कब्जा गरेको छ । भारतलाई तेस्रो टेस्ट मैच २५ रनले पराजित गर्दै न्युजीलैण्डले टेस्ट श्रृंखला ह्वाइटवास गरेको हो । भारत आफ्नै घरेलु मैदानमा ह्वाइटवास भएको सन् १९९९–२००० पछि पहिलो पटक हो ।
यसअघि खेलिएको पहिलो टेस्टमा न्युजिल्यान्ड आठ विकेटले विजयी भएको थियो । त्यसपछि दोस्रो टेस्टमा पनि पाहुना टोली न्युजिल्यान्डले भारतलाई एक सय १३ रनले हराएको थियो ।
तेस्रो टेस्टमा एक सय ४७ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको भारतीय टोली आफ्नो दोस्रो इनिंग्समा १ सय २१ रनमै सीमित भएको हो । भारतका माथिल्लो क्रमका ब्याट्सम्यानहरुले निराशाजनक प्रदर्शन गर्दा भारत पराजित भएको हो ।
भारतका लागि पाँचौं नम्बरमा क्रिज सम्हाल्न आएका ब्याट्सम्यान ऋषभ पन्तले जिम्मेबारीपूर्वक ब्याटिङ गर्दै सर्वाधिक ६४ रन बनाए । उनले केवल ५७ बलको सामना गरी एक छक्का र नौवटा चौका पनि हिर्काएका थिए ।
वासिङ्टन सुन्दरले पनि १२ रन बनाए । कप्तान रोहित शर्मा ११ रन बनाउँदै आउट भए । भारतका अन्य ब्याट्सम्यानले भने दोहोरो अंकमा रन बनाउन सकेनन् । भारतका ओपनर ब्याट्सम्यान यशस्वी जैसवाल ६ तथा शुभमन गिल र विराट कोहलीले एक–एक रन बनाउँदै आउट भएका थिए ।
सरफराज खान पनि एक रनकै ब्यक्तिगत स्कोरमा पेभेलियन फर्किएका थिए । रविन्द्र जडेजा पनि ६ रनभन्दा अगाडि बढ्न सकेनन् । किविज टोलीका बलर एजाज पटेल एक्लैले ६ विकेट लिए । उनले १४.१ ओभरमा एक मेडन राख्दै ५७ रन खर्चिए । ग्लेन फिलिप्सले पनि तीन विकेट हात पारे । म्याट हेनरीले एक विकेट लिए ।
त्यसअघि आफ्नो दोस्रो इंिग्समामा न्युजिल्यान्डको टोली केवल एक सय ७४ रन बनाउँदै अलआउट भएको थियो । त्यसपछि घरेलु टोली भारतले दोस्रो इनिंग्समा जितका लागि एक सय ४७ रनको सामान्य लक्ष्य पाएको थियो । तर भारतीय ब्याट्समैनहरु जिम्मेबारीपूर्वक खेल्न सक्दा अन्तिम टेस्ट मैच समेत गुमाउनु परेको हो ।
