Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

त्रिभुवन विश्वविद्यालयमा उत्तरपुस्तिका हराउन जिम्मेवारमाथि कारबाही गर्न ढिलाइ





काठमाडौँ ।

त्रिभुवन विश्वविद्यालयले विद्यार्थीका उत्तरपुस्तिका हराउन जिम्मेवार रहेकामाथि कारबाही गर्न ढिलाइ गरेको छ । उत्तरपुस्तिका संरक्षण गर्न नसकेर लापरबाही गरेको भन्दै छानबिन समितिले परीक्षा नियन्त्रक पुष्पराज जोशीसहितका अधिकारीहरूमाथि कारबाही गर्न सिफारिस गरेको थियो ।

छानबिन समितिले सिफारिस गरेको लामो समय बितिसक्दा समेत कसैमाथि पनि कारबाही हुन सकेको छैन । जबकि, विश्वविद्यालयका नवनियुक्त पदाधिकारीहरूले उच्चस्तरीय छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्ने र दोषी सबैमाथि कारबाही गर्ने प्रतिबद्धता जनाएका थिए ।

त्रिभुवन विश्वविद्यालय (त्रिवि) कार्यकारी परिषद्को २०८१ साउन ३ गतेको बैठकले परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रकसहितलाई १५ दिनभित्र स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । त्यसका लागि कर्मचारी प्रशासन महाशाखालाई १५ दिने स्पष्टीकरण लेख्न निर्देशन दिएको थियो ।

परिषद् बैठकले सावधिक पदाधिकारीहरू परीक्षा नियन्त्रक, सहायक नियन्त्रक, मानविकी तथा सामाजिक शास्त्र सङ्कायतर्फ काम गर्ने कर्मचारीहरूलाई १५ दिनभित्र स्पष्टीकरणसहितको प्रक्रिया अगाडि बढाउन भनेको थियो ।

सोही अनुसार परिषद् सचिवालयले २०८१ भदौ ६ गते महाशाखालाई पत्र लेख्दै १५ दिनभित्र स्पष्टीकरण सोध्न भनेको थियो । तर, एक महिनाभन्दा बढी समय बितिसक्दा समेत स्पष्टीकरण सोधिएको छैन ।

‘२०८१ साउन ३ गते बसेको परिषद् बैठकले १५ दिनभित्र स्पष्टीकरण पेस गर्न भनेको थियो । त्यसका लागि आवश्यक कारबाहीको प्रक्रिया अगाडि बढाउन कर्मचारी प्रशासनलाई निर्देशन दिने निर्णय भएको थियो,’ त्रिभुवन विश्वविद्यालय स्रोतले भन्यो ।

महाशाखाले स्पष्टीकरण सोध्न नसक्नुको कारण राजनीतिक दबाब नै रहेको देखिएको छ । राजनीतिक तहबाट कारबाही प्रक्रिया अगाडि नबढाउन दबाब आएको विश्वविद्यालय स्रोतको दाबी छ ।

‘बाहिरी कुरा जे भने पनि भित्री कुरा भनेको राजनीतिक दबाब देखिन्छ । कुनै एक पार्टी निकट भएर काम गर्दा स्पष्टीकरण सोध्न नसकेको देखिन्छ । यसमा त्रिवि पदाधिकारीभन्दा पनि कर्मचारीले आनाकानी गर्ने गरेको देखिन्छ,’ स्रोतले भन्यो, ‘१५ दिनभित्र स्पष्टीकरण सोध्नु भनेको कुरा एक महिना बितिसक्दा पनि किन भएन त ? यसमा राजनीतिक कारणमात्रै हो ।’

कारबाही किन नगर्ने भन्दै सोधिने स्पष्टीकरणमा चित्तबुझ्दो जवाफ नआएको खण्डमा विश्वविद्यालयले थप कारबाही प्रक्रिया अगाडि बढाउने तयारी गरेको हो । तर, हालसम्म स्पष्टीकरण नआएकाले केही गर्न सकेको छैन ।

०८० वैशाखमा लिएको स्नातक तह प्रथम वर्षको मानविकी तथा सामाजिक शास्त्र सङ्काय अन्तर्गत जनसङ्ख्या तथा स्वास्थ्य विषय (४२२) र शिक्षा शास्त्र सङ्काय तर्फको शिक्षाको आधार विषय (४१२) का उत्तर पुस्तिका हराएका थिए ।

नतिजा प्रकाशन गर्ने बेला उत्तरपुस्तिका हराएपछि परीक्षा नियन्त्रण कार्यालयले पुनः परीक्षाको तयारी गरेको थियो । त्यो बेला त्रिवि र परीक्षा नियन्त्रण कार्यालयको व्यापक आलोचना भएपछि त्रिविले २०८० चैत १५ गते छानबिन समिति गठन गरेको थियो ।

राष्ट्रिय परीक्षा बोर्डका पूर्वअध्यक्ष तथा त्रिविका पूर्वरजिष्ट्रार प्राडा चन्द्रमणि पौडेलको संयोजकत्वमा गठित तीन सदस्यीय उच्चस्तरीय समितिले त्रिवि परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रकसहित विभिन्न व्यक्तिलाई कारबाही सिफारिस गरेको थियो । समितिले प्रतिवेदन बुझाएको सात महिना हुँदासमेत कारबाही हुन सकेको छैन ।

उपकुलपति प्राडा केशरजंग बरालले कारबाही प्रक्रिया अगाडि बढेको बताए । प्रक्रियागत कारणले केही ढिलाइ भइरहेको बताउँदै उनले चाँडै टुङ्गो लाग्ने जानकारी दिए ।

‘मलाई उत्तरपुस्तिका हराउँछ भन्ने थाहा थिएन । तर, धेरै पहिलादेखि नै यस्तो हुँदै आएको रहेछ । अनुसन्धानका क्रममा बयान लिँदा धेरै समयदेखि यस्तो भएको भन्ने आएको थियो ।  यसमा अहिलेसम्म कुनै कारबाही भएको थिएन,’ रातोपाटीसँग कुरा गर्दै उपकुलपति बरालले भने ।

बाहिर कारबाही नगरेको देखिए पनि विश्वविद्यालयको नियम अनुसार काम भइरहेको उनको भनाइ छ । कारबाही गरेपछि विश्वविद्यालयभित्रै पुनरावेदन गर्न पाउने कानुनी प्रावधान छ । विश्वविद्यालयले गरेको कारबाहीमा चित्त नबुझेको खण्डमा सम्बन्धित व्यक्तिले पुनरावेदन गर्न पाउने व्यवस्था छ ।

पुनरावेदनमा समेत चित्त नबुझेको खण्डमा बाहिरको अदालतमा समेत पुनरावेदन गर्न पाउने व्यवस्था छ । विश्वविद्यालयमा वर्षौँदेखिका समस्या थुप्रिएर रहेको बताउँदै उपकुलपति बरालले ती समस्या क्रमिक रूपमा समाधान हुने बताए ।

‘वर्षौँदेखि थुप्रिएका समस्या छन् । ती समस्या समाधान गर्न त समय लाग्छ,’ उनले भने, ‘अप्रत्यक्ष रूपमा यसमा अप्रत्यक्ष रूपमा सिस्टमको फल्ट देखिएको छ । अव्यवस्थित रूपमा बसेको सिस्टमलाई समेत सिम्टम मान्नुपर्ने अवस्था छ । त्यसलाई व्यवस्थित गर्नुपर्ने समेत चुनौती छ ।’

परीक्षा नियन्त्रण कार्यालय (पनिका) ले उत्तरपुस्तिका हराएका विषयमा गुपचुप रहेकै अवस्थामा पुनः परीक्षा गरेको थियो । २०८० चैत २१ गतेदेखि परीक्षा सञ्चालन गरेको थियो । २०८० वैशाख महिनामा सञ्चालित बीए प्रथम वर्षको परीक्षा अन्तर्गत ‘पीओपी–४२२’ विषयको उत्तर पुस्तिका हराएको थियो । उत्तर पुस्तिका हराएपछि पनिकाले पुनः परीक्षा गर्न क्याम्पसहरूलाई निर्देशन दिएको थियो ।