

राजविराज ।
भारतको उत्तरप्रदेशस्थित संबल जिल्लाबाट सप्तरीको बिष्णुपुर गाउँपालिका मलेकपुरस्थित सीता इँटा उद्योगमा ल्याइएका ४४ मजदुरको ८ लाख रुपैयाँ लिएर ठेकेदार भागेपछि उनीहरु अलपत्र परेका छन् ।
ती मजदुरका आफन्तहरुले फरार ठेकेदार खोज्नुको साटो भारतस्थित राष्ट्रिय अनुसुचित जातीय आयोगमा नेपालको इँटा उद्योगमा आफ्ना आफन्तलाई बन्धक बनाइएको, बलात्कार गरेको, खान नदिएको आरोप लगाउँदै उजुरी गरेका थिए । उक्त उजुरीबारे भारतीय पक्षले सप्तरी प्रशासनलाई शुक्रशार जानकारी दिएपछि जिल्ला प्रहरी कार्यालयले सीता इँटा उद्योगमा कार्यरत मजदुरका ११ बालबालिका,१५ महिलासहित ४४ जना भारतीय मजदुरको उद्धार गरेको थियो । प्रहरीबाट उद्धार गरिएर सदरमुकाम राजविराज ल्याइएका उनीहरु इँटा उद्योग संचालकहरुले दिएको खाना खान मानेका छैनन् ।
शनिबार राजविराजस्थित कल्टुदास पोखरीको उत्तरी डिलमा एक निर्माणाधीन घरमा भूइँमा सुतिरहेका उनीहरुले भोकभोकै सुत्न बाध्य भएको बताएका छन् ।
सप्तरीको मलेकपुरस्थित सीता इँटा उद्योगले मजदुर ल्याउन भारतीय ठेकेदार मो. जाकिरलाई ८ लाख रुपैयाँ दिएका छन् । जाकिरले भारत उत्तरप्रदेश संबल जिल्लाको मोकररपुर लगायतका गाँउहरुबाट महिला र पुरुष गरी ३४ जना र तिनका आश्रित ११ बालबालिका गत असोज ३० गते कुनौली नाका हुँदै नेपाल प्रवेश गराए इँटा उद्योगका संचालक नवीन यादवलाई जिम्मा लगाएका थिए । त्यसपछि थप पैसा लिएर जाकिर भारत गएको सीता इँटा उद्योगका संचालक यादवले बताए ।
१० दिनदेखि सीता इँटा उद्योगमा काम गरिरहेका यी मजदुरहरुका आफन्तले भारतस्थित राष्ट्रिय अनुसुचित जाति आयोगमा निवेदन दिँदै नेपालको इँटा उद्योगमा कार्यरत आफ्ना आफन्तहरुलाई बन्धक बनाएर राखिएको, महिलाहरुलाई बलात्कार गरिएको र खान नदिएको उजुरी गरेका थिए । भारतीय नम्बरका विभिन्न फोनबाट सप्तरी प्रहरीलाई भारतीय नागरिकसँग ज्यादती भइरहेको भन्दै उद्धार गरिदिन आग्रह गरिएपछि शुक्रबार साँझ सप्तरी प्रहरीको टोलीले ४४ जनै भारतीयलाई सीता इँटा उद्योगबाट जिल्ला प्रहरी कार्यालयमा ल्याएको थियो ।
मजदुरलाई ल्याइएपछि सीता इँटा उद्योगका संचालक यादव र इँटा उद्योग संघका पदाधिकारीहरु प्रहरी प्रशासनको सम्पर्कमा आउँदै उद्योग संचालकले रकम दिएपछि मात्र मजदुरहरु आएकाले अनावश्यक आरोप लगाएर रकम ठग्दै भाग्न खोजेको आरोप लगाएका थिए । इँटा उद्योगबाट शुक्रबार साँझ जिल्ला प्रहरी ल्याइएका मजदुरहरुलाई शुक्रबार राति खाना र बासको व्यवस्थापनको जिम्मा इँटा उद्योग संघका अध्यक्ष दुर्गानन्द साहले लिएका थिए । अध्यक्ष साहले राजविराजस्थित साह धर्मशालामा उनीहरुलाई बस्ने, खाने व्यवस्था मिलाए पनि मजदुरहरु इँटा उद्योगीहरुको खाना र बास अस्वीकार गरेका थिए । उनीहरुले आफूहरुलाई घर पठाइदिन माग गरे । तर, इँटा उद्योग संचालकले आफ्नो पैसा पनि फर्काउनुपर्ने अडान लिएपछि शनिबार दिनभर छलफलमै सीमित भयो । इँटा उद्योग संघले ती मजदुरमध्ये पाँचजना राखेर अरु फर्काइदिनुपर्ने र उनीहरुको नाममा पैसा लिएर गएका ठेकेदार वा पैसा ल्याइदिएमात्र ती पाँच जनालाई जान दिनुपर्ने अडान लिएका छन् । शनिबार मध्यरातिसम्म ती मजदुरहरु प्रहरी निगरानीमा राजविराजस्थित कल्टुदास पोखरीको उत्तरी डिलमा रहेको एक निर्माणाधीन घरमा शरण लिएर बसेका छन् ।
