

जनकपुरधाम ।
मधेश प्रदेश सभाका महिला र सीमान्तकृत समुदायका महिला सांसदहरु र पूर्व सांसद बीच अनुभव अदान प्रदान कार्यक्रम आज एक समारोहका बीच सम्पन्न भएको छ ।
प्रदेश सभा, युएनडिपी संसद सहयोग परियोजनाको सहयोगमा सिआइसी जनकपुरद्वारा आयोजित एक दिवसीय कार्यक्रममा पूर्व र वर्तमान सांसदहरुले आफ्ना अनुभव सुनाएका थिए ।
मधेश प्रदेश सभाका पूर्व सांसद सुन्दर विश्वकर्माले गृह कार्य गरेर बोल्दा प्रस्तुति राम्रो हुनुका साथै विषय बस्तु पनि बृहत हुने भएकाले यसमा वर्तमान सांसदहरुले जोड दिनु पर्छ । जनताको पक्षमा कार्य गर्दा पीर मान्नु पर्दैन बताउँदै उहाँले भन्नुभयो – हामीले सांसदमा बोल्दा अरुले के भन्छ त्यसमा ध्यानै दिनु हुँदैन । जनताको हितमा छ समय लिएर बोलीहाल्नु पर्छ उहाँको कथन थियो ।
पूर्व सांसद चमेली दासले भनिन् – हाम्रो कार्यकालमा जनकपुरधाममा सांसद अभ्यास शुरु भएको थियो त्यसकारण शुरुका दिनमा निकै अपठ्यारो भएको थियो तर अहिले पुरानो भिडियो उपलब्ध छन् अनुभवी साथीहरु पनि रहेका छन् त्यसको सहयोग लिनुपर्छ ।
प्रदेश सभा सदस्य अञ्जना पण्डितले भनिन् – संसदमा जाँदा शुरुमा धेरैलाई अप्ठयारो भएको थियो तर यस्ता प्रशिक्षणले महिला र सीमान्तकृतहरुमा निकै सुधार भएको छ र धेरैले धारा प्रबाह बोल्न थालेका छन् ।
प्रदेश सभा सदस्य अनिता साहले प्रदेश सभाले कानुन बनाउन र सरकारले विकास गर्न तर्फ जोड दिनुपर्छ बताइन ।
समारोहमा युएनडिपी संसद परियोजनाका बिट्टु श्रीवास्तवले प्रदेश सभामा महिलाहरु कसरी प्रस्तुत हुन्छ त्यसका लागि आफूहरु विभिन्न कार्यक्रमहरु गरिरहेको बताउनुभयो । हाम्रो कार्यक्रममा मधेश प्रदेशसभाले महत्वपूर्ण सहयोग गरिरहेको समेत उहाँले जानकारी दिनुभयो ।
सिआइसी जनकपुरधामका अध्यक्ष संजय साहले पूर्व सांसद र वर्तमान सांसद बीच अनुभव अदान प्रदान गर्नुको उदेश्य सिकाइ हस्तान्तरण गर्नु रहेको बताउनुभयो । उहाँले भन्नुभयो – महिला र सीमान्तकृतहरु आफना समस्याहरु राख्न सक्षम भयो भने मात्रै हाम्रो उदेश्य सफल हुने छ ।





