

काठमाडौं ।
नेकपा माओवादी केन्द्रले सरकार विरुद्ध शनिबार काठमाडौंमा गर्न लागेको विरोध प्रदर्शनमा ३० हजार मानिस उतार्ने तयारी गरेको छ । त्यसका लागि सबै जनवर्गीय संगठनहरुलाई विरोध कार्यक्रममा सहभागी हुन माओवादी केन्द्रले निर्देशन दिएको छ ।
प्रदर्शनीमार्गमा हुने विरोध सभालाई माओवादी केन्द्रले ‘खबरदारी सभा’ नाम दिएको छ । यो प्रदर्शन भ्रष्टाचार र बेथितिविरुद्ध केन्द्रित हुने माओवादी केन्द्रका उपाध्यक्ष अग्नि सापकोटाले बताए । खबरदारी सभा सुरु हुनुअघि बिहान साढे ११ बजे भद्रकाली, सुन्धारा र काठमाडौं मल अगाडि कार्यकर्ताहरु भेला हुनेछन् । त्यसपछि जुलुश सुरु हुने छ । सभामा सहभागीहरुले राष्ट्रिय झण्डा, पार्टीको झण्डा, ब्यानर, नारा लेखिएका प्लेकार्ड बोक्ने छन् । जुलुशको बीचमा साउण्डसिस्टम जडित तीनवटा गाडीहरु हुनेछन् । सहभागीहरुले सरकारविरुद्ध नारा लगाउने छन् ।
सो जुलुश रत्नपार्क, बागबजार, पुतलीसडक, पद्मोदय मोड हुँदै भृकुटीमण्डपको सडकमा पुगेर सभामा परिणत हुने छ । सभालाई नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्ने छन् । अपराह्न चार बजेभित्र सभा सम्पन्न गर्ने कार्यतालिका छ । सभाका लागि राष्ट्रिय सभागृह अगाडिको सडकमा मञ्च तयार गरिएको छ । सभामा ३० देखि ३५ हजार जना सहभागी हुने अनुमान गरिएको छ ।
