

एजेन्सी ।
इजरायलले गाजा अभियानमा हमास प्रमुख याह्या सिनवार मारिएका हुन् वा होइनन् भन्नेबारे जाँच गरिरहेको बताएको छ । सन् २०२३ अक्टोबर ७ देखि हमास समूहसँग इजरायली सेना लडिरहेको छ । यदि सिनवार मारिएको भए हमास समूहलाई यो ठूलो झट्का हुनेछ ।
इजरायली इतिहासमा सबैभन्दा घातक आक्रमणको मुख्य योजनाकार सिनवार भएको इजरायलले आरोप लगाएको छ । इजरायलले गाजा युद्धको सुरुआतदेखि नै सिनवारलाई खोजिरहेको छ ।
बीबीसीका अनुसार इजरायलको आक्रमणमा मारिएका व्यक्तिहरू मध्ये एक याह्या सिनवार रहेको पुष्टि गर्न इजरायलले शवको डीएनए परीक्षण गरिरहेको छ ।
इजरायलका रक्षामन्त्री योभ गालान्टले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘हाम्रा शत्रुहरू कतै लुक्न सक्दैनन्। हामी तिनीहरूलाई फेला पार्नेछौं र मार्नेछौं ।’ इजरायलको सुरक्षा मन्त्रिपरिषद्ले सिनवार ‘सम्भवतः मरेको’ बताएको समाचार एजेन्सी रोयटर्सले जनाएको छ ।
इजरायलसँग सिनवार जेलमा रहँदाको विवरण अनुसार डीएनए र अन्य बायोमेट्रिक डाटा तुलना गरेर परीक्षण गर्नेछ । इरान समर्थित प्यालेस्टिनी लडाकू समूह हमासका पूर्व राजनीतिक प्रमुख इस्माइल हानियाको हत्यापछि सिनवार समूहको नयाँ नेता बनेका छन् ।
हमास र इरानले हानियाको हत्याका लागि तेहरानमा भएको आक्रमणमा इजरायललाई दोष दिएका छन् तर इजरायलले यसबारेमा कुनै टिप्पणी गरेको छैन । सिनवारबारे इजरायलको घोषणा हिजबुल्लाह प्रमुख हसन नसरल्लाहको लेबनानमा भएको ठूलो आक्रमणमा हत्या गरेको केही सातापछि आएको हो । लेबनानमा इजरायलले सेप्टेम्बरको अन्त्यदेखि युद्धलाई तीव्र पारेको छ ।
