

सुजीतकुमार झा
जनकपुरधाम
तपाई दर्शन गर्नु भयो ? विहानैदेखि जनकपुरधाममा एकअर्कालाई सोध्ने गरिएको देखियो । दर्शनमा राजदेवी वा अन्य दूर्गाको दर्शन गर्नु भन्दा निलकण्ठ चराको दर्शन वारे एक अर्कालाई सोधीरहेका थिए ।

घटस्थापनाका दिनदेखि निरन्तर रुपमा देवी दुर्गा भवानीको पूजाआजा गरी दशौं दिन निलकण्ठ चराको दर्शन गर्ने मिथिलामा परम्परा रहँदैआएको हो । रोलर बर्डको नामले चिनिने यो चराको दर्शनले वर्षभरी शुभ हुने तथा हरेक कार्यमा सफलता हुने जनविश्वास रहेको छ ।
गत चारवर्षदेखि दर्शन भइरहेको थिएन आज जानकी मन्दिरमा पूजा गर्न गइरहेको वेला एक्कासी निलकण्ठको दर्शन भयो जनकपुरधामका सामाजिक कार्यकर्ता परमेश्वर साहले वताए । कतिलाई दर्शन नभेटाएपछि निकै चिन्तित देखिन्थे । मुकेश पण्डितले आफू निलकण्ठको दर्शनका लागि चौर र खेत तिरपनि गएको तर कहिकतै भेटाएन वताए ।
तराईका जिल्लाहरुमा ठूला रुखहरुमा गुँड बनाएर बस्ने यो चरालाई देवाधिदेव महादेवको स्वरुपको रुपमा समेत मानिएको छ । निलकण्ठको दर्शन गरेपछि शीर निहुराएर प्रणाम गरी वर्षभरि हरेक क्षेत्रमा जय–विजय होस भनी कामना गरिन्छ । आजका दिन ग्रामीण भेगमा बालकदेखि बृद्धसम्म विहानै उठेर निलकण्ठको दर्शन गर्न जाने गर्छन् ।
हिन्दू धर्मग्रन्थमा भगवान श्रीरामले निलकण्ठ चराको दर्शन पश्चात मात्र रावणको संहार गरेको उल्लेख छ । अर्थात अति बलशाली रावणको संहार गर्नु अघि उक्त चराको दर्शन गरेपछि मात्र शुभ साइत अर्थात सफलता पाएको जनविश्वास छ । धर्मशास्त्रमा समेत भगवान शिवलाई निलकण्ठ मानिएको छ । सोही अनुरुप नीलकण्ठलाई यस युगमा भगवान शिवको प्रतिनिधिको रुपमा मानिएको विद्वानहरुको तर्क छ । यसदिन नीलकण्ठको दर्शन गर्दा धन–धान्यमा वृद्धि हन्छ र फलदायी एवं शुभ कार्य घरमा अनवरत्त हुँदै रहन्छ संस्कृतिविद चन्द्रमोहन झा ‘पड़वा’ले वताए । विहानदेखि साँझसम्म कुनैवेला दर्शन गर्दा शुभ हुने गरेको उनको कथन रहेको छ ।
रङ्गीविरङ्गी यस चराको गला अर्थात घाँटी भगवान शिवको जस्तै कालो भएको जनविश्वास छ । यो चरा एकांकी अर्थात एक्लो बस्न रुचाउँछन् । पछिल्लो समय किसानहरुले धान खेतमा किरा मार्नकालागि प्रयोग गर्ने किटनाशक औषधीको प्रयोग गर्ने गरेका छन् । मरेका किरा फट्यांग्रा खाएर तथा किटनाशक औषधीको प्रयोगले अहारा नपाउँदा निलकण्ठ चराको संख्या घट्दैगएको छ । केही वर्ष अघि विजयादशमीका दिन वरिष्ठ पत्रकार चन्द्रकिशोरले समाजिक सञ्जालमा एउटा स्टेटस लेखेका थिए पहिला गाउं तिर आजको दिन नीलकण्ठ पक्षीको दर्शन गर्ने चलन थियो । अब त यो चरापनि दुर्लभ हुन थाल्यो । उहाँलेपनि यसकै संकेत गर्नु भएको छ ।
उहाँ अगाडी लेख्नुभएको थियो – आखिर हामी कहांनिर चुक्यौ ? प्रकृतिसंग छेड़छाड़ गर्यौ । यसप्रति आत्मसमिक्षा न गरेसम्म सच्चा विजया उत्सव हुनसक्दैन । पत्रकार गोविन्द पोखरेलपनि लेख्नुहुन्छ वास्तवमा यो पंक्षी नै लोप भएको छ । पूर्वी पहाडमा पनि दशमीका दिन यो पक्षी देखियो भने गति परिन्छ भन्थे ।
यो विश्व समस्या हुँदै गएको छ। जीवनको अर्थशास्त्रले धेरै कुराहरूको विनाश गरेको छ विश्वराज अधिकारीले निलकण्ठ देखिन छाडेपछि चिन्ता गर्दै लेखेका छन ।
वैज्ञानिकहरुका अनुसार यो भाग्य विधाता हुनुका साथै किसानहरुको मित्र पनि छन । नीलकण्ठ किसानहरुको भाग्य को रखवारा पनि हुन्छन, जो खेतमा कीड़ाहरुलाई खाएर विउको रक्षा गर्छन ।
