

काठमाडौँ ।
उदयपुरमा श्रीमतीको हत्या गरेर टाउको बोकेर बजारमा हिँडिरहेका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा त्रिवेणी नगरपालिका–६ जलजले बस्ने ३६ वर्षीय जङ्गबहादुर घिसिङ छन् ।
मंगलबार साँझ साढे ६ बजेतिर उनले पत्नी २८ वर्षीया प्रमीला लामाको हत्या गरेका हुन् । हत्यापछि टाउको लिएर हिँडेको अवस्थामा उनलाई पक्राउ गरिएको उदयपुरका प्रहरी उपरीक्षक हरिहर योगीले बताए । भारतबाट असोज १३मा घर आएका जङ्गबहादुरले विवादपछि पत्नीको हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । प्रमीला त्रिवेणी नगरपालिका–६ जलजलेमा चिया व्यापार गर्थिन् ।
उनीहरूका दुईजना बच्चा छन् । शमशेर तामाङको घरमा डेरा लिएर प्रमीलाले चियाको व्यापार गर्दै आएकी थिइन् । चिया बेचेर कोरियन भाषा पनि उनी सिकिरहेकी थिइन् । दूबै बिच विगत दूई वर्षदेखि सम्बन्ध बिग्रिएको थियो ।
सम्बन्ध सुधारेर सँगै बस्नेबारे छलफल हुँदा उनीहरूको बिचमा विवादपछि हत्या भएको थाहा भएको छ । हत्या गरेपछि उनले खुकुरीले टाउको काटेर बोकेर हिँडेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
