

एजेन्सी ।
नाबालिग सहायकलाई बलात्कार गरेको आरोप लागेका जानी मास्टरबाट उत्कृष्ट कोरियोग्राफरको राष्ट्रिय अवार्ड खोसिएको छ ।
भारतको सूचना तथा प्रसारण मन्त्रालयले आइतबार सो जानकारी दिएको हो । जानीविरुद्केध गत सेप्टेम्बर १५ मा उनकी सहायक रहेकी युवतीले तेलंगानाको साइबराबाद रायदुर्गम पुलिस स्टेसनमा एफआईआर (जाहेरी) दर्ता गराएकी थिइन् ।
सन् २०२२ मा रिलिज भएको धनुषको फिल्म ‘तिरुचिथ्रम्बलम’ को ‘मेघम करुकथा’ गीतको नृत्य कोरियोग्राफ गरेबापत जानी मास्टरलाई राष्ट्रिय पुरस्कार प्रदान गरिएको थियो । उनले सतीश कृष्णनसँग यस गीतको कोरियोग्राफ गरेका थिए ।
उनले स्त्री २ को गीत ‘आइ नही’ र पुष्पाको गीत ‘श्रीवल्ली’ को कोरियोग्राफ गरेका छन् ।
जानी मास्टरविरुद्ध मुद्दा दायर गरेकी युवतीले चेन्नई, मुम्बई र हैदरावादमा विभिन्न प्रोजेक्टको सुटिङका क्रममा आफूलाई यौन शोषण गरेको आरोप लगाएकी छन् । उनले हैदरावादस्थित आफ्नो घरमा पनि पटकपटक दुर्व्यवहार गरेका थिए ।
युवतीले आफ्नो जाहेरीमा सन् २०१७ मा जानी मास्टरसँग भेट भएको बताएकी छन् । दुई वर्षपछि जानीले उनलाई आफ्नो सहायक कोरियोग्राफरको कामको प्रस्ताव गरे, जुन उनले स्वीकार गरिन् ।
त्यसपछि मुम्बईमा एक शोका क्रममा जानीले उनलाई होटलमा यौन दुर्व्यवहार गरे। त्यसपछि जानीले लगातार धम्की दिएर यौन शोषण गरेको युवतीको आरोप छ । उनले आफूलाई विवाहका लागि पनि बारम्बार दबाब दिएको पनि दाबी गरेकी छन्। यति मात्र होइन, जानीले आफूलाई एकपटक आफ्नो घरमा लगे जहाँ जानी र उनकी श्रीमती (आयशा) ले उनलाई कुटपिट गरे ।
यो मुद्दा पहिलोपटक तेलंगाना वुमन सेफ्टी विङ (डब्ल्यूएसडब्ल्यू) मा शिखा गोयलले उठाएका थिइन् । उनले नै पीडितलाई प्रहरीमा जाहेरी दिन सुझाव दिएकी थिइन् । यसअघि पनि २०१५ मा एक विवादका कारण जानी ६ महिना जेल परेका थिए ।
