

एजेन्सी ।
अमेरिकाका पूर्व राष्ट्रपति तथा आगामी निर्वाचनमा राष्ट्रपति पदका उम्मेदवार डोनाल्ड ट्रम्पले इरानले गरेको मिसायल आक्रमणको जवाफमा उसको आणविक भट्टी इजरायलले उडाइदिनु पर्ने बताएका छन् ।
न्युज एजेन्सी एएफपीका अनुसार ट्रम्पले एक चुनावी क्याम्पियनका दौरान यस्तो धारणा राखेका हुन् । यसअघि अमेरिकी राष्ट्रपति जो बाइडेनले यदि इजरायलले इरानको न्युक्लियर क्षेत्रमा आक्रमण गरेमा अमेरिकाले साथ नदिने बताएका थिए । ट्रम्पले बाइडेनको यो भनाइको आलोचना गरे । उनले भने ‘मलाई लाग्छ बाइडेन गलत छन् । परमाणु हतियार हाम्रा लागि सर्वाधिक ठुलो खतरा हो । उनीहरूसँग चाँडैनै आणविक हतियार हुनेछ । यसले हाम्रा लागि चुनौती खडा गर्ने छ ।’ उनले अगाडि थपे ‘यदि इजरायलले के गरौँ भनेर सोधेको खण्डमा बाइडेनको जवाफ यो हुनु पर्थ्यो की पहिले उनीहरूको आणविक भट्टीमा बम फाल त्यसपछिको चिन्ता हामी लिन्छौ ।’
टाइम्स अफ इजरायलका अनुसार बाइडेनले इजरायललाई शुक्रबार इरानको तेल भण्डारमा पनि आक्रमण नगर्न भनेका छन् । यद्यपि इजरायलले इरानमा आक्रमण गर्ने जनाउँदै आएको छ तर कसरी आक्रमण गर्छ भनेर केही खुलाएको छैन् ।
