

बनारस ।
भारतको उत्तर प्रदेशराज्यस्थित बनारसको काशी विश्वभरीकै हिन्दुहरुका लागि आस्थाको केन्द्र हो । मोक्ष प्राप्तिका साथै काशी विश्वनाथ महादेवको दर्शनका लागि कम्तीमा एक पटक काशीको धर्तीमा पुग्ने धोको हिन्दुहरुको हुन्छ नै । भारतको विभिन्न स्थानका साथै नेपालीहरु समेत काशी विश्वनाथ महादेवको दर्शन र गंगा स्नानका लागि पुग्ने गर्छन् । तर नेपाल र काशीको सम्बन्ध वर्षौ पुरानो रहेको छ । राजनीतिक तथा सांस्कृतिक दूबै दृष्टिले नेपाल र भारतबिच सयौँ वर्ष पहिलेदेखि घनिष्ठ सम्बन्ध रहँदै आएको छ ।
केही महिना अगाडी मलाई पनि त्यो पवित्र भूमि जाने अवसर प्राप्त गरे । बनारस नाम सुन्ने वित्तिकै मेरो मस्तिष्कमा सबैभन्दा पहिले नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्री विशेश्वर प्रसाद कोइरालाको नाम आउँछ । उनले नेपाललाई राणा शासणबाट मुक्ति दिलाउने प्रेरणा प्राप्त गरेको प्रसंग कतिपय स्थानमा पढेको र सुनेको छु । भारतीयहरु इष्ट इण्डिया कम्पनी बिरुद्ध संघर्ष गरिरहँदा बनारसमै रहेर भारतीय स्वतन्त्रता संग्राममा सहभागी भएका कोइराला नेपाललाई पनि जहानियाँ राणा शासणबाट मुक्ति दिलाउने प्रेरणा प्राप्त गरेका थिए । यसका साथै १० वर्षे सशस्त्र संघर्ष गरेको माओवादीका कयौँ नेताहरुका लागि पनि काशी आश्रय स्थल बनेको विषय मलाई थाहा छ ।
बनारसमा रहँदा मैले गंगा स्नान गरेँ । काशी करिडोर अन्तर्गत भारत सरकारले काशी घाटलाई भव्य बनाई दिएको छ । यसले गंगाको विशाल धाराले मलाई झन आकर्षित गरिरहेको थियो । गंगा स्नानपछि काशीस्थित काशी विश्वनाथ मन्दिरमा पूजा अर्चना समेत गरेँ । तर मन्दिर गरेपश्चात त्यहाँबाट गंगा घाटमै रहेको नेपाली कलाले भरिपूर्ण मन्दिर दर्शन तथा त्यहाँ नेपाली शैलीको मन्दिर कसरी बन्यो वा यसको इतिहास के हो विषयमा बुझ्ने उत्सुकताका साथ पुगे ।
वर्षौ पुरानो नेपालको विरासतको रुपमा रहेको त्यो मन्दिर काशीस्थित गंगा घाटमा अहिले पनि ठडिएर रहेको छ । जसले भारतीय भूमिमा नेपाली संस्कृतिको प्रचार गरिरहेको छ । काशीको ८० वटा प्रसिद्ध गंगाघाटहरुमध्ये ललिता घाट अहिले पनि नेपालको पहिचान लिएर गंगाको निर्मल धारको किनारमा अवस्थित छ । ललिता घाटमा रहेको हुबहु राजधानी काठमाडौँ स्थित रहेको पशुपतिनाथ महादेव मन्दिरकै शैलीमा निर्माण गरिएको सम्राजेश्वरी पशुपतिनाथ महादेव मन्दिर यस घाटको रौनकतालाई अन्य घाटभन्दा फरक बनाउँछ । दशाश्वमेध घाट र मणिकर्णिका घाटको बिचमा रहेको ललिता घाटले आफ्नो छुट्टै पहिचान बोकेको छ । यस घाटलाई शुरुमा नेपाली घाट, राजराजेश्वरी घाट भनिँदै अएपनि कलान्तरमा ललिता देवी मन्दिरको नाउँले यस घाटको नाम ललिता घाट पर्न गएको हो ।
यस घाटमा सम्राजेश्वरी पशुपतिनाथ महादेव मन्दिर, ललिता गौरी मन्दिर, गंगा केशव मन्दिर अवस्थित छ । घाटमा अन्य कयौँ मन्दिर रहेपनि नेपाल सरकार र पुरात्व विभागले ध्यान नदिँदा केही मन्दिरहरु कब्जा भई सकेको मन्दिरका पूजारी रोहित कुमार ढकालले बताए ।
यस घाटको निर्माण नेपालका तत्कालिन राजा रणबहादुर शाहले गराउन लगाएका थिए । तत्कालिन राजा रणबहादुर शाह सन्यास लिएर काशीस्थित गंगा घाटमै केही वर्ष साधना गरेको पूजारी ढकालले बताए । उनी सन्यासी जीवन बिताउँदै काशीको गंगाघाटसम्म पुगेका थिए । उनी काशीमा ‘स्वामी निर्गुण’को नामले परिचित छन् । केही वर्षको साधनापछि उनैले सन १८०० देखि सन १८०४सम्म घाट निर्माणका साथै मन्दिर निर्माणको कार्य शुरु गर्न लगाएका थिए । यद्यपि मन्दिर निर्माण जारी रहेकै क्रममा मृत्यु भयो । पछि सो घाटमा मन्दिरहरु तथा धर्मशाला निर्माण कार्य तत्कालिन राजा राजेन्द्र विर विक्रम शाहले पूरा गरेका थिए । उनले सन १८४३मा ती मन्दिरहरुको निर्माण कार्य पूरा गराउन लगाएका थिए ।

मन्दिर निर्माणका लागि नेपालबाटै काठ तथा कारिगर लगिएको थियो । काशीमा रहेको सो पशुपतिनाथ महादेवको मन्दिर काठमाडौँमा रहेको पशुपतिनाथ मन्दिरकै प्रतिकृति रहेको छ । मन्दिरको छेउमै धर्मशाला निर्माण गरिएको छ जसले नेपालको संस्कृतिको झल्को दिन्छ । धर्मशालाको काठबाट बनेको बालकनी र झ्यालले भारतको बनारसमा नभई नेपालकै आभाष गराउँछ । ती मन्दिरहरुको जिर्णोद्धार नेपाल सरकारले सन १९४३मा पहिलो पटक गरेको थियो ।
पछि मन्दिर तथा घाटको स्वामीत्वका लागि विवाद शुरु भएपछि काशी नरेश विभूतिनारायण सिंहले नेपालका तत्कालिन प्रधानमन्त्री गिरिजा प्रसाद कोइरालालाई स्वमीत्व ग्रहण गर्नका लागि पत्र लेखेका थिए । त्यसपछि मात्रै नेपालको पुरातत्व विभागले यस घाटका साथै मन्दिरको रेखदेख गर्दै आईरहेको छ । पुरातत्व विभागले प्रत्येक ५ वर्षमा यस घाटका लागि संरक्षण समिति चयन गर्दै आईरहेको छ । हाल यस संरक्षण समितिका अध्यक्ष ओमकार नन्द गिरी हुन् ।
सो धर्मशालामा मोक्ष प्राप्तिका लागि नेपालबाटै १८ जना बृद्ध आमाहरु वास बस्दै आईरहेका छन् । ती आमाहरुका लागि सोही मन्दिरले खाना र वासको व्यवस्थापन गर्दै आईरहेको छ ।
यद्यपि भारतको बनारसस्थित नेपालको स्वामीत्वमा रहेको सो घाटका कयौँ मन्दिर तथा जग्गाहरु कब्जामा परेपनि नेपाल सरकारले चासो नदेखाएकोमा पूजारी तथा संरक्षक रोहितकुमार ढकाल चिन्तित छन् । उनी भन्छन् ‘पुरातत्व विभागले नेपाली घाटको केही मन्दिर तथा घाटका जग्गाहरुको संरक्षण गरेपनि बाँकी भूभागको समेत संरक्षणका लागि नेपाल सरकारसंग कुरो गरेर भारत सरकारसंग समन्वय गर्नु आवश्यक छ ।’ उनका अनुसार घाटका मथिल्लो तल्लाहरु नेपाल सरकारकै स्वामीत्वमा रहेपनि भूइतल्ला भने नेपाल सरकारको स्वामीत्वमा छैन । सो तल्लाको स्वामीत्व ग्रहणका लागि पनि नेपाल सरकारले चासो देखाउनुपर्ने उनको भनाई छ ।
अहिले नेपाली घाटको नामले समेत चिनिएको काशीको गंगा तटमा रहेको ललिता घाटलाई भारत सरकारले भव्य सौन्दर्यीकरण गरेको छ । त्यती मात्र नभई ललिता घाटलाई अहिले आएर काशी विश्वनाथ मन्दिरसंग सीधा जोडिएकाले यो घाटको महत्व झनै बढेको छ ।
