

जनकपुरधाम ।
नगराइन नगरपालिको गाडी दुरुपयोग गरिएको पाइएको छ । निजि प्रयोजनका लागि प्रयोग गरिदै आएको नगराइन नगरपालिकाको हाकिमले प्रयोग गर्ने गाडीले जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २३ रुपैठास्थित एक मोटरसाइकललाई ठक्कर दिएपछि गाडी दुरुपयोग हुँदै आएको खुलेको हो । नगराइन नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामगुलाम कर्णले प्रयोग गर्दै आएको बा १झ ४६२ नम्बरको पिकअप गाडीले मधेस प्रदेश ०२–००२प ३४२८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएपछि एक युवक घाइते भएको हो ।
दुर्घटनामा परेर जनकपुरधाम उपमहानगरपालिका १२का २२ वर्षिय मनोज सदा घाइते भएका छन् । उनको बायाँ खुट्टामा गम्भिर चोट लागेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक रञ्जन अवाले जानकारी दिए । गाडी नियन्त्रणमा रहेको समेत उनले बताए ।
यता नगराइन नगरपालिकाको गाडीका चालक देवलाल मण्डलले गाडी दुर्घटनामा परेपछि आफैले जिल्ला प्रहरी कार्यालय धनुषामा बुझाएका छन् । उनले भने ‘गाडीबाट मोटरसाइकलमा ठक्कर दिएपछि केही बेर घाइतेको रेखदेख गरे, प्रहरी आएपछि मैले आफै सो गाडी प्रहरीलाई बुझाए ।’
उनका अनुसार गाडीले उनी नगरपालिकाकै सामान लिनका लागि जनकपुर विमानस्थल गईरहेका थिए तर रुपैठाको भुइया थान नजिक दुर्घटना हुन पुग्यो । उनले भने ‘नगरप्रहरीको खुकुरी लगायतको सामाग्री लिनकालागि विमानस्थल गईरहेको छ ।’
तर नगरपालिका श्रोतका अनुसार गाडी नगराइन नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामगुलाम कर्णको छोरीलाई विमानस्थल गईरहेको थियो । त्यहाँका कर्मचारीहरुका अनुसार हाकीमसाब बेला बखतमा नगरपालिकाको गाडी निजि प्रयोजनका लागि प्रयोग गर्दै आईरहेका छन् ।
प्रमुख प्रशासकिय अधिकृत कर्ण केही दिनकालागि अमेरिका भ्रमणमा थिए भने अहिले राजधानी काठमाडौँमा छन् । उनको अनुपस्थितिमा उनकै घरको काममा समेत नगरपालिकाको गाडी प्रयोग हुँदै आईरहेको नगरपालिकाकै कर्मचारीहरु बताउँछन् ।
