

जनकपुरधाम ।
मधेश प्रदेशको राजधानी जनकपुरधाम उपमहानगरपालिका–१ का सरोज साहको सर्फ उद्योग संकटमा परेको छ । कोरोना महामारीपछि कमजोर हुँदै गएको उनको उद्योग अहिले जेनतेन चलेको छ । महामारीअघि उनको उद्योगमा १२ जनाभन्दा बढीले रोजगारी पाएका थिए । उनी भन्छन्, ‘महामारीले मुलुककै अर्थतन्त्र कमजोर पारेपछि बजारमा माग घट्दै गयो ।’
माग र उत्पादन दुवै घटेपछि अहिले सर्फ उद्योग ५ जनाको भरमा चलाउन परिरहेको साह बताउँछन् । प्रदेश वा स्थानीय सरकारबाट कुनै पनि सहयोग नपाएको गुनासो उनको छ । सरकारले स्वदेशी उत्पादन प्रयोगमा पनि चासो नदिएको उनी बताउँछन् । ‘उपभोक्ताहरू सीमापारिबाट ल्याइएका सर्फसाबुन लगायतका सामग्री रुचाउँछन्’ , उनले भने, ‘हामीले मेहनत गरेर उत्पादन गरेको सर्फ साबुनले बजार पाउनै छोडेको छ । त्यसमाथि बैंकको ऋणबाट थिचिएका छौँ ।’
सरोजजस्तै समस्या जनकपुरधामका दर्जनौँ साना उद्योगीको छ । ती घरेलु तथा साना उद्योग प्रदेश सरकारबाट सहयोग पाउने आसमा छन् । साना उद्योगहरुले बैंक ऋणमा समेत सहुलियत पाएका छैनन् । कच्चापदार्थ आयात, तयारी वस्तु निर्यात र बजारीकरणमा सहयोग पाउन नसकेको उद्योगी व्यवसायीको गुनासो छ ।
कोरोना महामारीसँगै सुस्ताएका यस्ता उद्योगहरू अहिले आर्थिक रूपमा थला परेका छन् । सरकारका अधिकारीहरू भने लघु, घरेलु र साना उद्योगलाई प्रोत्साहन गर्ने नीति लिएको बताउँछन् ।
मधेश प्रदेशमा पछिल्लो समय सानादेखि मझौला उद्योग फस्टाउने क्रम बढिरहे पनि विविध समस्याले ग्रस्त छन् । मधेशमा नयाँ साना उद्योगलाई प्रोत्साहन गर्ने योजनामा रहेको प्रदेश सरकारको दाबी छ । प्रदेश सरकारले स्थानीय उत्पादन तथा मधेशको स्थानीय खानपानलाई प्रचारप्रसार गर्ने उद्देश्यले साना उद्योगलाई बढावा दिने नीति लिएको हो । यसका लागि प्रदेश सरकारले संघ सरकारसँग समन्वय गरेर मधेशको १३ स्थानमा औद्योगिक ग्राम स्थापना गर्ने लक्ष्य लिएको छ । तर त्यो लक्ष्य पटक पटक सरकार परिवर्तनको खेलले अन्यौलमा परेको छ । मधेशमा बेरोजगारीको समस्या चरम छ । नेपालमा मधेशकै युवा जनशक्ति सबैभन्दा बढी बर्सेनि वैदेशिक रोजगारीका लागि विदेश पलायन भइरहेका छन् ।
यसलाई रोक्ने उद्देश्यले गाउँघरमै अधिकतम रोजगारी सिर्जना गरी आयआर्जनमा टेवा पु¥याउने गरी औद्योगिक ग्रामको स्थापना गर्ने लक्ष्य प्रदेश सरकारको थियो । तर सरकार परिवर्तन भएसंगै त्यो योजना अलपत्र परेको छ ।
