

एजेन्सी ।
भारी वर्षाका कारण भारतको मुम्बई जलमग्न भएको छ । भारतको आर्थिक राजधानी मानिने मुम्बई र आसपासका क्षेत्रमा भारी वर्षा भएको हो । जसका कारण तल्लो क्षेत्र डुबानमा परेका छन् । धेरै उपनगरीय क्षेत्र पनि डुबानमा परेको बीबीसी हिन्दीले जनाएको छ ।
जसका कारण स्थानीय रेल रोकिएका छन् भने मुम्बई आउने कम्तीमा १४ उडान डाइभर्ट गरिएको छ । भारी वर्षाका कारण बृहन्मुम्बई महानगरपालिकाले आज (बिहीबार) सबै विद्यालय र कलेजमा बिदा दिएको छ । मुम्बई प्रहरीले सहर र वरपरका क्षेत्रका मानिसहरूलाई सकेसम्म घरभित्रै बस्न आग्रह गरेको छ ।
अविरल वर्षाका कारण बुधबार थानेको मुम्ब्रा नजिकै राति साढे ९ बजे पहिरो गएको थियो । जसका कारण उक्त क्षेत्रमा तीन घण्टाभन्दा बढी समयसम्म ट्राफिक जाम भएको थियो । भारतीय मौसम विभागका अनुसार मुम्बई र आसपासका विभिन्न स्थानमा सेप्टेम्बर २७ सम्म भारी वर्षा जारी रहने सम्भावना छ ।
