

काठमाडौँ ।
सुनको मूल्य हालसम्मकै उच्च बनेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको हो ।
आज सुनको मूल्य प्रतितोला एक हजार नौसय रुपैयाँ बढेर एक लाख ९८ हजार पाँचसय रुपैयाँ पुगेको छ । सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो । गएको वैशाख ९ गते सुनको मूल्य एक लाख ९७ हजार नौसय रुपैयाँ पुगेको थियो । त्यसयता घटेको सुनको मूल्य फेरि अहिलेसम्मकै उच्च बनेको हो । हिजो सुनको मूल्य एकलाख ९६ हजार ६ सय रुपैयाँ थियो । गएको आइतबार पनि सुन प्रतितोला तीन हजार चारसय रुपैयाँ बढेको थियो । हिजो भने सुनको मूल्य एकसय रुपैयाँ मात्रै बढेको थियो ।
आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला २५ रुपैयाँ बढेर दुईहजार दुईसय ८० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।
