

एजेन्सी ।
भारतको झारखण्डका तीन पटकका मुख्यमन्त्री तथा झारखण्ड मुक्ति मोर्चाका संस्थापक शिबु सोरेनको निधन भएको छ । ८१ वर्षीय सोरेनको सोमबार बिहान नयाँ दिल्लीस्थित गंगाराम अस्पतालमा उपचारको क्रममा निधन भएको हो । उनी लामो समयदेखि मिर्गौला सम्बन्धी समस्याबाट पीडित थिए र हालै स्ट्रोकसमेत आएको थियो ।
झारखण्डका वर्तमान मुख्यमन्त्री एवं उनका छोरा हेमन्त सोरेनले सामाजिक सञ्जालमार्फत निधनको पुष्टि गर्दै भावुक प्रतिक्रिया दिएका छन् । उनले लेखेका छन्, “श्रद्धेय दिशोम गुरुजी अब हामीबीच रहनु भएन । आज म पूर्णरूपले शून्यता महसुस गरिरहेको छु ।”
शिबु सोरेनलाई आदिवासी समुदायका अधिकारका लागि सशक्त आवाजका रूपमा चिनिन्छ । उनले सन् १९७२ मा झारखण्ड मुक्ति मोर्चाको स्थापना गरेका थिए र झारखण्ड राज्यको निर्माणमा महत्वपूर्ण भूमिका खेलेका थिए । उनले तीनपटक झारखण्डको मुख्यमन्त्रीका रूपमा कार्यभार सम्हालेका थिए भने केन्द्रमा कोयला मन्त्रीका रूपमा पनि जिम्मेवारी निर्वाह गरेका थिए ।
उनको निधनपछि प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह, कांग्रेस नेता राहुल गान्धी लगायत विभिन्न नेताहरूले श्रद्धाञ्जली अर्पण गरेका छन् । शिबु सोरेनको राजनीतिक जीवन आदिवासी अधिकार र सामाजिक न्यायको पक्षमा समर्पित रह्यो । उनको निधनले झारखण्ड र भारतीय राजनीतिमा एक युगको अन्त्य भएको मानिएको छ ।
