Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

सुनकोशी मरिन डाइभर्सन आयोजनामा ढिलाइप्रति मधेश सरकारको चासो, मुख्यमन्त्रीसहितको टोलीले गर्यो निरिक्षण





जनकपुरधाम ।
सुनकोशी मरिन डाइभर्सन आयोजना निर्माणमा भइरहेको ढिलाइप्रति मधेश प्रदेश सरकारले गम्भीर चासो व्यक्त गरेको छ । दीर्घकालीन सिचाइ तथा खानेपानी समाधानको आशाका रूपमा हेरिएको यस आयोजनाको प्रगति निरीक्षण गर्न प्रदेशका मुख्यमन्त्री सतिश सिंह नेतृत्वमा उच्चस्तरीय टोलीले शनिबार स्थलगत अनुगमन गरेको हो ।
ऊर्जा, सिचाइ तथा खानेपानी मन्त्री शेषनारायण यादव, भौतिक पूर्वाधार विकास मन्त्री सरोज यादव, मुख्य सचिव मदन भुजेल, मन्त्रालयका निमित्त सचिव रामकुमार खंगसहितको टोलीले आयोजनाको वर्तमान अवस्था बुझेका थिए ।
निरीक्षणका क्रममा आयोजनाका प्रमुख अच्युतराज गौतमले हालसम्मको प्रगति विवरण प्रस्तुत गर्दै ढिलाइका कारणहरूबारे जानकारी दिएका थिए । उनका अनुसार सुरुङ निर्माण कार्य चाइना ओभरसिज इन्जिनियरिङ्ग ग्रुपले समयमै सम्पन्न गरिसकेको भए पनि बाँकी संरचना निर्माणको जिम्मा लिएको पटेल रमण जेभी कन्स्ट्रक्सनले निर्धारित समयको आधा अवधि बितिसक्दा पनि जम्मा १० प्रतिशत मात्र काम सम्पन्न गरेको छ ।
मुख्यमन्त्री सिंहले निर्माण कम्पनीलाई कडा निर्देशन दिँदै काममा तीव्रता ल्याउन आग्रह गरे । “मधेश अहिले पानीको अभावका कारण सुख्खाग्रस्त अवस्थामा छ,” मुख्यमन्त्री सिंहले भने, “लाखौँ कृषकको जीवन र भविष्यसँग प्रत्यक्ष सरोकार राख्ने यो आयोजना गुणस्तरमा सम्झौता नगरी तोकिएको समयमा सम्पन्न हुनैपर्छ ।”
निर्माण कम्पनी रमण जेभी कन्स्ट्रक्सनका प्रतिनिधि नवीन चौधरीले निरन्तर वर्षा, माटोको बनावट, स्थानीय समुदायका माग र राजनीतिक जटिलताका कारण काममा ढिलाइ भएको दाबी गरे। उनका अनुसार वर्षा सकिएपछि निर्माण कार्य तीव्र पारिनेछ ।
करीब ५० अर्ब लागतमा निर्माण हुने भनिएको आयोजनामा हालसम्म १९ अर्ब ३३ करोड ५१ लाख रुपैयाँ बजेट उपलब्ध भइसकेको छ, जसमध्ये १६ अर्ब ५० करोड २७ लाख रुपैयाँ खर्च भइसकेको छ। तर हालसम्मको कार्य प्रगति मात्र ३६.८३ प्रतिशतमा सीमित रहेको छ ।