

जनकपुरधाम ।
बाराको बारागढी गाउँपालिका–३ सुन्दरपुरमा ऐलानी जग्गाको विवादका क्रममा रामएकवाल चौधरीमाथि कोदालो प्रहार गरी हत्या प्रयास भएको छ । हत्या प्रयासको आरोपमा ७ जनाविरुद्ध जाहेरी समेत परेको छ ।
४० वर्षीय नन्दलाल चौधरी र २७ वर्षीय हरिन्द्र पासवानले जिल्ला प्रहरी कार्यालय बारामा दिएका जाहेरी अनुसार रामएकवाल चौधरी २० वर्षदेखि जोतभोग गर्दै आएको जग्गामा पुग्दा विवाद सुरु भएको थियो । जलिम अख्तर मियाले उक्त जग्गा आफ्नो भएको दाबी गर्दै अन्य व्यक्तिलाई बोलाएर घेरा हालेका थिए ।
विवादको क्रममा शिवचन्द्र यादवले रामएकवालको टाउकोमा कोदालो प्रहार गरी ज्यान लिन खोजेको जाहेरीमा उल्लेख छ । सो क्रममा रामएकवालका छोरा दिपेन्द्र चौधरीसमेत घाइते भएका थिए ।
गम्भीर घाइते रामएकवाललाई काठमाडौंस्थित न्युरो अस्पतालमा भर्ना गरिएको छ । उनका दाजु चन्देश्वर चौधरीका अनुसार आर्थिक अभावका कारण औषधि उपचारमा समस्या भइरहेको छ । प्रहरीले प्रतिवादीहरूसँग दुई लाख रुपैयाँ उठाएर उपचारमा सहयोग गर्ने बताएको थियो, तर हालसम्म कुनै सहयोग प्राप्त नभएको गुनासो उनीहरुको छ ।
