

काठमाडौं ।
बागमती प्रदेशका नवनियुक्त मन्त्रीहरुको आज हुने भनिएको शपथग्रहण कार्यक्रम स्थगित भएको छ ।
प्रदेश प्रमुख स्वास्थ्यमा समस्या आएको भन्दै अचानक काठमाडौं हिँडेपछि शपथग्रहण कार्यक्रम अनिश्चितकालका लागि स्थगित गरिएको हो ।
बागमती प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता देवेन्द्र सापकोटाले विज्ञप्ति जारी गरेर आज दिउँसो १ बजेका लागि तय भएको भएको मन्त्रीहरुको शपथ ग्रहण समारोह अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको जानकारी दिएका छन् ।
प्रवक्ता सापकोटाले जारी गरेको विज्ञप्तिमा लेखिएको छ, ‘बागमती प्रदेश सरकारका नवनियुक्त माननीय मन्त्रीज्यूहरुको सपथ ग्रहण समारोह मिति २०८२ श्रावण १५ गते विहीबार दिनको १ बजेको लागि तोकिएकोमा माननीय प्रदेश प्रमुखज्यूको स्वास्थ्यमा अकस्मात समस्या आएकोले उपचार्थ आज बिहानै काठमाडौं प्रस्थान गर्नु भएको हुँदा माननीय प्रदेश प्रमुखज्यूको निर्देशानुसार अर्को सूचना प्रकाशन नभएसम्मको लागि शपथग्रहण कार्यक्रम हाललाई स्थगत गरिएको व्यहोरा जानकारीको लागि अनुरोध छ ।’
मुख्यमन्त्री बहादुरसिंह लामाले बुधबार गोविन्द लम्साल, गीता गुरुङ र माया श्रेष्ठलाई मन्त्री नियुक्त गरेका थिए ।
