

जनकपुरधाम ।
नेपाली सेनाको सहकार्यमा सञ्चालित राष्ट्रिय सेवा दल (एनसिसि) अन्तर्गत धनुषामा सल्लाहकार समिति गठन गरिएको छ । श्री विष्णु दल गण, महेन्द्रनगरका गणपति प्रमुख सेनानी प्रभु राम महतको संयोजकत्वमा गठित समितिमा शिक्षा, सञ्चार, व्यवसाय र समाजसेवामा सक्रिय सहभागिता जनाउनेहरुलाई समावेश गरिएको छ ।
समितिमा मोनाष्टिक स्कुलका सञ्चालक डा. सोनु साह, नेपाल पत्रकार महासंघ धनुषाका अध्यक्ष पुरन साह, होटल तथा पर्यटन व्यवसायी संघका वरिष्ठ उपाध्यक्ष सन्तोष गुप्ता र व्यवसायी जग्गीलाल महतो सदस्य रहेका छन् ।
धनुषाका चार वटा सामुदायिक र एक निजी विद्यालयका गरी १२० जना छात्रछात्राले हाल एनसिसि तालिम लिइरहेका छन् । यस वर्षदेखि जनकपुरधामसँगै विदेह नगरपालिका र बटेश्वर गाउँपालिकाका विद्यालयमा पनि तालिम सञ्चालन थालिएको गणपति महतले जानकारी दिए ।
एनसिसि कार्यक्रम कक्षा ८ देखि १२ सम्मका विद्यार्थी लक्षित गरी देशभर सञ्चालनमा ल्याइएको हो । सिनियर डिभिजन (कक्षा ११–१२) को प्रशिक्षण जनकपुरधाम–२० स्थित श्री जनता माध्यमिक विद्यालयमा असोजदेखि सुरु हुने जनाइएको छ ।
एक सय दिनको तालिममा ७९ दिन विद्यालयमा र २१ दिन नेपाली सेनाको ब्यारेकमा आवासीय क्याम्पमा प्रशिक्षण दिइनेछ । सहभागीहरूलाई आवास, पौष्टिक भोजन, पोशाक तथा स्वास्थ्य सुविधा निःशुल्क उपलब्ध गराइन्छ ।
तालिममा ड्रिल, तेक्वान्दो, एरोबिक्स, सैनिक कला, नक्शा तथा जीपीएस अध्ययन, विपद् जोखिम न्यूनीकरण, नेतृत्व विकास तथा गन र एसएलआर अभ्यास (सिनियर डिभिजनमा) समावेश छन् ।
२०२२ सालदेखि सुरु गरिएको यस कार्यक्रममा हालसम्म ८० हजारभन्दा बढी विद्यार्थी सहभागी भइसकेका छन् ।
