

एजेन्सी ।
भारतको झारखण्डको देवघर जिल्लास्थित मोहनपुरमा बस र ट्रक ठोक्किदा १८ जना काँवर यात्रीको मृत्यु भएको आशंका गरिएको छ । यद्यपि मृत्युको संख्याबारे अहिलेसम्म पुष्टी भएको छैन । त्यस्तै २० भन्दा बढी श्रद्धालु घाइते भएको बताइएको छ ।
गोड्डा–देवघर सडकखण्ड अन्तर्गत मोहनपुर थाना क्षेत्रको जमुनिया मोड नजिक बिहान करिब साढे ५ बजे काँवरियाहरू सवार बस ट्रकसँग ठोक्किँदा दुर्घटना भएको हो । गंगाजल लिएर बैद्यनाथधाम दर्शनका लागि जाँदै गरेका श्रद्धालुहरू रातभर यात्रा गरेर बसमा सवार थिए । मोडमा तीव्र गतिमा रहेको बस ट्रकसँग ठोक्किँदा ठूलो क्षति भएको भारतीय प्रहरीले जनाएको छ ।
घटनास्थलमा तत्कालै मोहनपुर थाना प्रमुख प्रियरंजन नेतृत्वको प्रहरी टोली पुगेर उद्धार कार्य गरिरहेका छन् । स्थानीयवासीको सहयोगमा घाइतेहरूलाई एम्बुलेन्समार्फत मोहनपुर सामुदायिक स्वास्थ्य केन्द्रमा पु¥याइएको छ ।
घटनाप्रति सांसद निशिकान्त दुबेले गहिरो दुःख व्यक्त गर्दै १८ जना श्रद्धालुहरूको मृत्यु भएको पुष्टि गरेका छन् । यता, झारखण्डका स्वास्थ्य मन्त्रीले भने घटनामा ६ जनाको मृत्यु र २३ जना घाइते भएको औपचारिक जानकारी दिएका छन् । झारखण्डका मुख्यमन्त्री हेमन्त सोरेनले पनि दुर्घटनाप्रति दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । उनले शोकाकुल परिवारलाई धैर्य धारण गर्ने शक्ति मिलोस् भन्ने कामना गर्दै घाइतेहरूको उपचारका लागि जिल्ला प्रशासनमार्फत आवश्यक सबै व्यवस्था मिलाइएको जानकारी दिएका छन् ।
